काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। लामो समयदेखि रोकिएको बजेट प्रक्रिया अघि बढेसँगै उपमहानगरले बजेटको आकार तय गरेको हो ।
‘हामीले वडामा बजेटको सिलिङ पठाइसकेका छौँ । आगामी शुक्रबारसम्म वडाहरूले आफ्नो योजना टुङ्ग्याउने समयसीमा दिइएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘वडाबाट योजनाहरू आएपछि कार्यपालिका बैठक बस्नेछ र त्यसपछि नगरसभाबाट बजेट पारित गरिनेछ ।’

यद्यपि बजेटको स्रोत अनुमान तथा सीमा निर्धारण समितिमा नेकपा (एमाले) ले असहमति जनाएको थियो । समितिमा एमालेको असहमति हुँदाहुँदै पनि बहुमतको आधारमा सिलिङ पारित गरेर वडाहरूमा पठाइएको हो ।
धरान उपमहानगरमा एमालेको बहुमत भए पनि स्रोत अनुमान समितिमा मेयर हर्क साम्पाङ, नेपाली कांग्रेस र माओवादी मिल्दा बहुमत पुगेको थियो । सोही बहुमतका आधारमा बजेटको सिलिङ पारित गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
अब वडास्तरको योजना छनोट प्रक्रिया सकिएलगत्तै आगामी आइतबार र सोमबार कार्यपालिका बसेर नगरसभा बोलाउने तयारी रहेको छ । त्यहीँबाट बजेटले अन्तिम रूप पाउने छ ।










