आमाकाे काखमा रमाएर हुर्किएका सन्तानले आमाँकाे मायाँ भन्दा जिम्मेवारिकाे भार बाेक्ने बुबाकाे मायाँ र सन्तानलाई गर्ने मायाँकाे महत्व फरक तरिकाले बुझ्छन्। हाे, त्यहि बिषय बस्तुलाई पत्रकार श्रीराम रानाभाट यसरी प्रष्ट्याउनुहुन्छ:
बुबा को हुन् ?

“किन बोझ लाग्दो रहेछ झुकेको कन्धा बाउको ,
जहाँ चढेर हामी पुरै दुनिया नियाल्ने गर्थ्यौं “।
आज एउटा बुबाको आँखामा छोरा के हो, छोराका लागि बुबाले के सम्म गर्दा रहेछन , सानो छँदा पितालाई संसार कै ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काई सँगै पिताबारे धारणा कसरी फेर्दै जान्छन् भन्ने बिषयमा केही देखेर ,केही अनुभवका आधारमा यो दृष्टान्तहरु बुझ्ने कोशिस गरौं ।
यो कुनै नयाँ कुरा त होइन तर टुक्रा टाक्री घटनालाई जोडेर सुन्दा र सुनाउँदा आफ्नो बचपनाको, आफ्नो बुबाको ,अनि आफू बाउ बनिसकेपछि जिन्दगी कति हर्ष र विस्मातले रंगिदो रहेछ त ।अपवाद छोडेर किनकि सबैको जिन्दगीमा यी कुराहरु व्यवहारिक नहुन पनि सक्छन् तर आशा छ कहीं न कहीं हामी सबैको मन अवश्य छुनेछ ।
“सानो परिवार खुसीको आधार दुईटा सन्तान ईश्वरको वरदान” अहिलेको पारिवारिक नारा । पहिलो सन्तान छोरा भए ढुक्क तर पहिलो सन्तान छोरी भए दोस्रो सन्तान त छोरा पाउनै पर्छ । छोरा दुईटै हउन् समस्या छैन तर छोरी दुईटी हुनुभएन । पहिलाको जस्तो जमाना रहेन, ३३ कोटी देवतालाई ढोगेर “हे ईश्वर छोरै होस् “भनेर ईश्वरको भर पर्नुको विकल्प थिएन । पेटमा जे छ त्यहि जन्मने हो। महिलाले बर्सिनी जस्तो गर्भवती बनेर परीक्षा दिनुपर्थ्यो छोरा भए पास छोरी भए फेल । अहिले त गर्भवती बनेको महिना दिनमा थाहा हुन्छ अल्ट्रासाउन्ड गरेर “छोरो भए पाल्ने छोरी भए फाल्ने”। छोरो पाउनेको ठूलै इज्जत हुन्छ हाम्रो समाजमा । अहिले पनि छ ।
छोरा नभएका या छोरी मात्र भएकाले प्याच्च प्याच्च वचन सहनुपर्छ बेला मौका । छोरा जन्मिएपछि मात्र स्वर्गको ढोका खुल्छ भन्ने हाम्रो संस्कार भोलि गएर चाहे त्यो एक नम्बरकै जड्या होस्,फटा होस्, अपराधी होस्,भ्रष्टाचारी नै किन नहोस् छोरो भनेको त छोरै हो । परिवर्तनशील क्यालेण्डर पो बदलिएको हुन्छ कहानी घरघरमा त त्यही नै हो ।
जब छोराको चाहनामा छोरै हुन्छ छोराको आगमनपछि मात्र परिवारले पूर्णता पाएको महसुस हुन्छ । त्यो बाउमा सारा संसारलाई जितेको खुसी पैदा हुन्छ । खुसीले आँखाका चेपहरु रसाउन थाल्छन् । यस्तो लाग्छ आजबाट एउटा परम मित्र पाएँ । सारा जिम्मेवारी अब उसैले उठाउँछ । आजैबाट पाल्न सुरु गर्छ । त्यो खुसीका फोहोराहरूले सबैलाई रुझाइदिन मनलाग्छ । नौ डांडापारी देखि प्लेन नै चार्टड गरेर जान मन लाग्छ ।
नजिक भए आकाशतिरै उराल्दै भन्छन् मेरो छोराको भाग्य ठूलो होस् निधार पनि ठूलो छ,यो त भाग्यमानी छ । अब खुसी नै खुसी बर्सिन्छ । अरुले पनि भनिदिन्छन् ठ्याक्कै बाउ जस्तो छ। के चाहियो र यो मन। सायद आफ्नो जन्मदिन अहिलेसम्म मनाएको छैन होला। तर छोराको जन्मदिन धुमधाम हुनुपर्छ । इन्टरनेटको जमाना छ छिनछिनमा फोन गर्यो खोइ खोइ मेरो हिरो के गर्दैछ…? निदाउँदा पनि ठ्याक्कै बाउ जस्तो …।
एकदिन देख्न नपाउँदा बिमारी पन्छी झैँ छोराको झल्को कोठामा पछारिन्छ । अझ सानो तल-वितल भएको खबर पायो भने त शरीर नै थरथराउन थाल्छ जसरी पानी पर्दा गाईको पिठ्युँ थरथराउँछ ।
छोरा बिस्तारै हुर्कदै जान्छ, बाउको पछि लाग्ने हुन्छ । जे देख्यो त्यही चिजको डिमाण्ड गर्छ । जब पाउँछ बुबा सबैभन्दा प्यारो र आज्ञाकारी लाग्छ । फेरि उमेर थपिन्छ अब पछि लाग्न छोड्छ आफ्नै साथीसँग हुन्छ, भुल्न थाल्छ । आफूसँग भएको र साथीभाइसँग भएको चिज वस्तु उसलाई आफ्नै बुबाले किनिदिएको राम्रो लाग्छ । जब कसैसँग झगडा हुन्छ आमा भन्छिन् किन लड्नु परेको केही भएको भए के हुन्थ्यो….?
त्यसैमा बुवा भन्छन् त्यस्तोसँग पनि हारेको मेरो छोरा भएर….? अर्को पटक त अवश्य जित्छ मेरो छोराले । त्यही अनुसार मलजल गर्छन् । त्यसैले भनिन्छ जब आमाले छोडेर जानुहुन्छ त आशीर्वाद दिने कोही हुँदैन जब बुबाले छोडेर जानुहुन्छ हौसला दिने कोही पनि हुँदैन । आमा कोर्को मा निधाउन सिकाउँछिन् बाबा कोर्को बाट ब्युझन सिकाउँछन् । आमाहरु लड्छ कि भनेर हिँड्नै दिँदैनन् बाबाहरु थरथर गराएर परसम्म आफै हिँड्न सिकाउँछन् ।
आमा लड्नै दिँदिनन्,बुबा लडेर फेरि उठ्न सिकाउँछन् । आमा ममताले भरिएकी हुन्छिन् बुबा जिम्मेवारी बोधले केही कडा । आमा कुखुराले झैं सबै छोराछोरीलाई ढाकेर राख्न चाहन्छिन् बुबा आफ्ना आफ्नै खुट्टामा चर्न सिकाउँछन् । हुँदै नभए त के लाग्यो नत्र बुबा छोराको पकेट छाम्ने गर्छन् । उनलाई लाग्छ “गोजीमा पैसा नभए त छोरो मान्छेलाई ह्याउ पनि आउँदैन” ।
मान्छेभित्र ईर्ष्या, डाह,मोह,अहम त हुन्छ नै कोही पनि मान्छे आफूलाई अरुले जितेको सहन सक्तैन, दाजुभाइ,दिदीबहिनी,काका,मामा,साथीभाई कोही पनि आफूभन्दा माथि नपुगोस् ,आफूभन्दा विद्वान नबनोस् पहिला म, अनि अरु…..प्रत्येक मानिसको मनमा हुन्छ ।
तर, सन्तान जब आफूभन्दा अगाडि निक्लन्छन् तब गर्व गर्छन् । आफ्ना छोराछोरी आफूभन्दा बलवान ,धनवान, विद्वान हउन भन्ने हरेक आमा बाबाको चाहना हुन्छ । फलानो मेरो छोरा हो भन्दा पनि म फलानोको बुबा हो भन्नुमा गर्व गर्ने गर्छन् । यही हो आफ्ना आमा-बाबाको त्याग र खुसी आफ्ना सन्तानका लागि । तर खै आजकल प्राय आमा-बाबाको गुनासो रहन्छ ,घटनाहरु देखिन्छन,सुनिञ्छन तिनै आमाबाबाहरुको मन कुडाइरहेका हुन्छन ।










