उप्रान्त तिमीले भन्यौ
कथाहरु नलेख्नु
जीवनका चीसा जिजीविषाहरुको
नलेख्नु गीतहरु
अकाल मृत्युहरुको
र नलेख्नु कविताहरु
युद्ध हार्नेहरुको
लेख्ने नै भए
लेख्नु कथाहरु
जीवनका उर्जाशील समयहरुको
जहाँबाट तिम्रो यात्रा आरम्भ हुनेछ
लेख्नु गीतहरु
स्वभाविक मृत्युहरुको
जहाँ तिम्रो जीवनको सुखद अन्त्य हुनेछ
र लेख्नु कविताहरु
युद्ध जित्नेहरुको
जहाँ हार्नेहरुको पीडा सुषुप्त हुनेछ ।
संसार जित्नेहरुको हो
हार्नेहरुले त आँसु पिउनु पर्ने छ
जितेर पनि
हारिन्छन युद्धहरु
हारेर पुनः
जितिन्छन युद्धहरु
किन लेख्ने
जितका मात्रै कथाहरु ?
किन नलेख्ने
हारका कथाहरु ?
समय
पौठेजोरी खेलि रहरेको छ
अज्ञात वस्तिहरुका बीच
अमरत्वका गाथाहरु सुनाउन ।

किन रुने मृत्युमा ?
यो स्वभाविक प्रकृया हो
किन हार्ने युद्धमा ?
जित हाम्रो मुद्धा हो
किन गर्ने आत्मसमर्पण ?
बरु शिरको बली चढ्ने हो
लेख्नै पर्छ कथाहरु
जीवनका चीसा जिजीविषाहरुको
गाउनै पर्छ गीतहरु
अकाल मृत्युहरुको
लेख्नै पर्छ कविताहरु
युद्ध हार्नेहरुको ।
तिमीले नठाने हुन्छ
सधै युद्ध जितेको
तिमीले नसोचे हुन्छ
सधै जितको गीत गाएको
अभिमान बोक्नु पर्दैन
बोक्नु पर्दैन दम्भ र घमण्ड पनि
तिम्रा हैकमी उर्दीहरुको
अव पालना हुने छैन
तिम्रा जितहरुको
कुनै कथा हुने छैन
सायद
लिखित दस्तावेजहरुमा ।










