काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताउनुभयो ।
नेपाल सरकार, नेपाली नागरिक, नेपाली कानूनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनै पनि सामाजिक सञ्जालहरुले तिर्नैपर्ने बताउनुभयो । यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताउनुभयो ।

मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहनुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म मानव मस्तिष्क भन्दा ठूलो कुनै कुरा उत्पादन गर्न नसकेको भन्दै कृतिम बुद्धिमत्ता एआईसँग नडराउन आग्रह गर्नुभयो । एआइको प्रयोगबाट फाइदा लिनुपर्ने उहाँको भनाइ छ ।










