जसरी आकाशले ओढेको नीलो पछ्यौरी
भूमिगत हुन्छ बादलको ग्याङले हस्तक्षेप गरेपछि
एकाएक दिवङ्गत भए आमाको आँखाबाट
एक हुल सपनाहरू।
सायद ऊ
समयले थापेको पासोमा परेकी हुँदो हो
वा त उ कैद थिइन् आफ्नै भाग्यको पिन्जरामा
मैले केही अनुमान लाउनै सकिन।

जब साँझ पर्छ
म आमालाई सम्झन्छु।
सम्झन्छु,
च्याँख्ला खाएर चिल्लो चिल्लो भएको हल गोरू देखाएर
आमाले भनेकी थिइन्
‘इ.. यै बेचेर तिमेरलाई हाई स्कुल पढाउने’
त्यही रात एक्कासी हरायो गोठबाटै हल गोरू
सँगै हरायो आमाको होस हवास
त्यसपछि
आमाको टोहोलाउने साथी बन्यो
घरको तल्लो पटिको खिड्की
जुन खिड्की समाएर
हामीले धर्तीमा उभिन सिकेका थियौं।
सम्झन्छु,
आमाको होस फर्केपछि
घरका खेतबारी मिहिनतले ड्याम्मै ढाकेको
पूर्णिमाको आकाश जस्तै रहर लाग्दो फुलकोपी
जब दुम्सी र मृगले सखाप पार्दियो
त्यसपछि आमाको मिहिनतमा अल्छी पस्यो
र रित्तो हुन थाल्यो
प्याज र सब्जी राख्ने फुर्लुङ।
केही त थियो आमाको आँखामा
जुन मैले एक क्षितीज हेरे पनि
स्पष्ट भइन।
जब साँझ पर्छ
म आमालाई सम्झन्छु।
सम्झन्छु,
खेतभरि झुलिरहेको सुनको बालातिर आँखा डुलाएर
आधा चन्द्रमा जस्तो मुस्कानसित
आमाले भनेकी थिइन्
‘यो साल चामल किन्न नपर्ने भो’
तर अचानक आमाको आँखामा बाडी पस्यो
जुन दिन आधा भाग खेतका गराहरू
धानसँगै पैह्रोले सोहोरी लग्यो।
सम्झन्छु,
खेतको आली जस्तो उठेको
आमाको निधारमा खुम्चिएको थुप्रै धर्साहरू
जुन दिन घर फर्कि आउने आह्वान बोकेर
परदेशमा बेपत्ता छोराहरूलाई पठाएको चिट्ठी
ठेगाना नपाएर आमाको हातमा आइपुग्यो।
आमाको जीवनलाई
जहिल्यै चुटि रह्यो दुखको असिनाले
ठटाइ रह्यो अभावको बाछिटाले
पिल्साइ रह्यो गरिबीको शीतले
एकाएक दिवङ्गत भए आमाको आँखाबाट
एक हुल सपनाहरू।
तर केही त थियो आमाको आँखामा
जुन मैले एक जीवन पढेर पनि
बुझ्न सकिन।
सर्जक :- पुकार राई(पारदर्शी)
सन्तुक मिरिक, कालेबुङ,
भारत










