काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
अब नागढुङ्गा सुरुङमार्गमार्फत् कार/भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ तिर्नुपर्नेछ भने काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । यस्तै मिनी बस/ट्रकको काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यता बस तथा ट्रकहरुले काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ तिर्नुपर्ने सरकारले निर्णय गरेको छ । भारी उपकरणहरुले समेत सुरुङमार्ग प्रयोग गर्न पाउनेछन् । उनीहरुले काठमाडौं आउँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । नागढुंगा सुरुङमार्ग केही समयपछि सञ्चालनमा ल्याउने समेत सरकारको तयारी छ ।










