बेमौसम यसरी
झरीको कार्निभल
एकहोरो कानमा थुरिन्दा
बेरमाइलो लाग्छ मलाई।
हुस्सुहरुको यातना
सहेर छटपटिरहेछ
उदास दिनहरु
एकहोरो भिजिरहेको पातहरु
त्यसले घोप्टिएर हेरिरहेछ
भत्किएको बाटो खोला र सडकहरु।

झ्याल र ढोकाहरु
बाछिटाले…….
लगातर भिजिरहेछ
पानीको कविताले।
कुहिरो
आकाश छुनुको भ्रममा
माथि माथि उडीरहेछ
त्यो हेर्दा हेर्दै बिलाउँछ
हाम्रो जिन्दगी जस्तो!!
सभ्यताको नदी हाँक्ने
एक हुल मै हूँ भन्ने मान्छेहरु
सायद
म जस्तै भनिरहेका होलान्-
झर्कोलाग्दो यो झरी कति पनि पर्न जानेको….??
जिन्दगीको मध्यान्तरमा
बाहिर पपकर्न किन्न जानेले
कि त चर्को घाम भेटाउँछ
कि त बेसमारी झरी।
झरीले बेससरी
भिजेको छ बाँझो जमीन
कठोर पहाड नभत्किनुको भ्रम बोकेर युग युग बाँचेको छ
नहल्लिनुको भ्रम एकदिन ढुङ्गाहरुले तोड्नेछ।
लुकेर बसेको घामलाई
घाम घाम भनेर बोलाइरहने त्यो न्याउलो चरो कता छ…??
जिन्दगीको अलजेब्रामा
झरी र घाम दुवै छ।
आज बिहान
म यो झरीले लुथ्रुक्क भिजेर
कक्षा पसे
विद्यार्थीहरुलाई गणित पढाएँ
एउटा नक्सा रहेछ प्रश्नपत्रमा
एउटा बुढो मान्छेले भायलन बजाईरहेको
प्रश्न पढेर निकाल्नुपर्ने
उत्तर
चौकीदेखि त्यो बुढो मान्छेेले यदि ६० डिग्रीमा भाएलन बजाउँछ भने
ऊ कति माथि उभिएको छ………???
चौकी सत्ताबाट तलतिर हेर्नेहरु
कति माथि उक्लिन्दा रहेछन् त……??
एङ्गल अफ एलिभेसनको सुत्रले
यो गणित मिल्ला कि……??
झ्यालबाट
छिरेको घामले त्यो बुढो मान्छेको छाया कहाँनिर बनायो…..?
म त्यही मथिङ्गलमा अल्झी राको छु
जिन्दगीको प्रश्नपत्रमा
देखिएका झरी र घामरुले पनि सायद यसरी अलझाईराखेका होलान् मान्छेहरुलाई..!!
प्रश्नपत्र नमिलेको बेला र अघि झरीले भिजेको लुगा नसुक्दा सिकसिक चिसो लाग्दा बेरमाइलो लाग्छ
मलाई
बेमौसम यसरी
झरीको कार्निभल
एकहोरो कानमा थुरिन्दा
बेरमाइलो लाग्छ मलाई।
सर्जक :- रवि रोदन
जुम पश्चिम सिक्किम










