काठमाडौं । आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट खरिद गरिएका फोर्स गाडीमा एकपछि अर्को समस्या देखिएपछि व्यवसायीहरू राजधानी आएर पीडा पोखेका छ्न् ।
मर्सिडिज बेन्जको इन्जिन र आकर्षक वारेन्टीको विश्वासमा परेर लाखौं लगानी गरेका व्यवसायीले कमसल गाडी बेचेर आफूहरूमाथि ठगिएको र व्यवसायबाटै विस्थापित हुने अवस्थामा पुगेको बताएका गुनासो गरेका हुन् ।

दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिलगायत पीडित व्यवसायीले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी आफूहरूमाथि अन्याय र धोकाधडी भएको बताएका बताएका छन् ।
कम्पनीले आकर्षक विज्ञापन साथ बिक्री गरेका फोर्स क्रुजर र गामा मोडेलका गाडीले किनेको केही समयमै धोका दिन थालेका उनीहरूको भनाइ छ । गुडिरहेको गाडीको इन्जिन एक्कासि सिज हुने, पटक-पटक टायर फुत्किने, टक्सन रडजस्ता महत्वपूर्ण पार्टपुर्जा भाँचिनेजस्ता समस्याले हैरानी खेपेको साथै कम्पनीसँग कुरा गर्दा गैरजिम्मेवारीपना देखाएको उनीहरूको टिप्पणी छ ।
दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिव देवान राईको २०७३ मा ४० लाख ५० हजार रूपैयाँमा किनेको फोर ह्वील गाडी एक महिनामै इन्जिन सिज भएको बताए ।
उनले भने, ‘पटक पटकको मर्मतपछि पनि गाडी चल्न नसक्ने अवस्थामा पुगेपछि विगत आठ वर्षदेखि गाडी कम्पनीकै ग्यारेजमा थन्किएको छ । बैंकबाट ऋण लिएर जीवन धान्ने व्यवसाय सुरू गरियो । तर, आज गाडी ग्यारेजमा छ । म बैंकको किस्ता र ब्याजको भारीले थिचिएको छु । कम्पनीले निकास दिनुको सट्टा उल्टै मर्मत खर्च मागेर धम्की दिइरहेको छ ।’
राईको समस्या एउटा प्रतिनिधि घटना मात्र हो । उनीजस्तै दर्जनौं व्यवसायीहरूले फोर्सका गाडी खरिद गरेर उस्तै नियति भोगेको बताएका छन । कच्ची सडकमा चल्ने गाडीको टायर फुत्किँदा पटक पटक दुर्घटना भएको व्यवसायीहरू बताउँछन् । कतिपय व्यवसायी ऋण तिर्न नसकेर विदेश पलायन हुनुपरेको तीतो यथार्थ पनि व्यवसायीले सुनाए ।
पीडित व्यवसायीहरूले कम्पनीको ग्यारेजमा थन्किएका गाडीहरूको बैंकको सावा, ब्याजसहित पूर्ण क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने, अन्य पीडित व्यवसायीहरूको पहिचान गरी उनीहरूले भोगेको आर्थिक तथा मानसिक क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति प्रदान माग राखेका छन् । गाडीमा देखिएका समस्या सार्वजनिक रूपमा स्वीकार गरी बजारमा रहेका गाडीको उचित व्यवस्थापन गर्नुपर्ने पनि उनीहरूको माग छ ।
आफूहरूको माग सम्बोधन नभएसम्म संघर्ष नरोकिने अध्यक्ष हरिबहादुर राईले बताए ।










