काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले टोल समन्वय समूह बनाउने भएको छ । रास्वपका प्रवक्ता मनिष झाका अनुसार यो समूह वडाभन्दा तल्लो स्तरमा रहेर पार्टीका क्रियाकलापको अभ्यास गर्ने छ।
पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए।

झाका अनुसार टोल समन्वय समूहको संयोजक रहने र संयोजकले पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने व्यवस्था हुनेछ। समूहमा संयोजक, उपसंयोजक, टोल सदस्यहरु रहने छन् ।
साथै रास्वपाले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ। यस्तै साउन २३ गते केन्द्रीय समितिको बैठक बोलाउन निर्णय गरेको छ । यस्तै रास्वपा सभापति लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर संकलन भएको प्रवक्ता झाले जानकारी दिए । उनका अनुसार यो अवधीमा ५६ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ।










