लेखक: चन्द्र प्रकाश बानियाँ: आजकाल, खास गरेर भारतमा मुस्लिमहरुको प्रवेशपछि “हिन्दू” नामकरण भएको धर्मको नाम पहिले “ब्राह्मण धर्म” थियो । ब्राह्मणहरुको धर्म भएकोले त्यसलाई ब्राह्मण भनिन्थ्यो ।
ब्राह्मण धर्मको उत्पत्ति भारतमै भएको भए तापनि ब्राह्मणहरु पश्चिमोत्तरबाट आएका युनानी, फारसी र यहुदीहरु थिए ।

इसापूर्व १५००- ६०० भित्र कतै आर्यहरु भारत छिरेका हुन् भन्ने मान्यता केवल मान्यता मात्रै हो । ऐतिहासिक प्रमाण आजसम्म फेला परेको छैन ।
बुद्ध वाणीमा हिन्दू वा ब्राह्मण धर्मको उल्लेख भेटिदैन । हो, वमण र शमण परम्परा भने रहेको देखिन्छ ।
नेपालको तराई, उपत्यका र पूर्व पश्चिममा एकै साथ हिन्दू धर्म प्रवेश गरेको होइन ।
सम्भवत: नेपालमा सबभन्दा पहिले काठमाडौं उपत्यकामा हिन्दू धर्म प्रवेश गर्यो । न त्यो स्थानीय धर्म थियो न उत्तरबाट झरेको थियो । त्यसको आगमन दक्षिणबाटै भएको हो ।
सोह्रौं शताब्दीको मध्येतिर खस साम्राज्य विघटन भए संगै बुद्धधर्म मासियो । त्यसको स्थान हिन्दूधर्मले लियो । खासगरेर भारतबाट उक्लेका कान्यकुब्जी ब्राह्मण र ठकुरी (चन्द) हरुको साथ लागेर नयाँ धर्म आयो ।
नेपालको पूर्वी भागमा गोर्खालीहरुको संक्रमणसंगै हिन्दू धर्म फैलियो ।
हिन्दू धर्म र संस्कृत भाषाको अन्योन्याशृत सम्बन्ध छ । लौकिक संस्कृतको उत्पत्ति नयाँ हो भन्ने कुराको तीनवटा स्पष्ट प्रमाण देखिन्छन् :
१). संस्कृत भाषाका ग्रन्थहरु देवनागरी लिपिमा लेखिएका छन् । त्यो लिपि बाहेक अन्य लिपिमा लेखिएका संस्कृत लेखोटहरु प्राप्त भएका छैनन् । देवनागरी लिपि दशौं बाह्रौं शताब्दीतिर विकसित भएको मानिन्छ ।
२). संस्कृत भाषा कुनै कालखण्डमा पनि आम बोलचाल र लेखापढी (सरकारी वा घरायसी) मा प्रयोग भएको प्रमाण फेला पर्दैन । र संस्कृत भाषामा नेपाली, भोजपुरी, अवधी, मैथिल र पाली प्राकृतबाट आधाभन्दा बढी शब्दहरु लिइएको देखिन्छ ।
३).वैदिक संस्कृतसंग लौकिक संस्कृत पटक्कै मिल्दैन । संस्कृत भाषाको जति ठूलो ज्ञाता भए पनि यदी वैदिक संस्कृत पढेको छैन भने उसले वेद बुझ्न सक्दैन ।
संस्कृतका सारा ग्रन्थहरु हालको भारतमा लेखिएका छन् ।भारतभर छरिएर रहेका संस्कृत भाषाका पाण्डुलिपिहरु जम्मा गरेर प्रकाशन संरक्षण गर्ने काम अँग्रेजहरुले गरिदिएका हुन् ।
ब्राह्मण, ब्राह्मण संस्कृति र संस्कृत ग्रन्थ रचनामा मुस्लिम वादशाहरुको पनि योगदान रहेको इतिहास प्रमाण लाग्छ । संस्कृत भाषा भारतमै विकसित भएको हो । हिन्दू धर्म पनि त्यहीँ विकसित भयो । त्यसैले हिन्दू धर्म ग्रन्थहरु संस्कृत भाषाबाहेक अन्य भाषा लिपिमा लेखिएनन् ।
जसले सिर्जना गर्यो त्यो वस्तुमा उसैको अधिकार हुन्छ । स्वामित्वमा दावा लाग्छ । नेपाल र नेपालीको न संस्कृत भाषामा हक लाग्छ न हिन्दू धर्ममा !! नेपालीहरुले हिन्दू धर्म आफ्नो भनेर दावी गर्नु अँग्रेजी कोटलाई आफ्नो भनेर नेपाली पोशाकमा सामेल गर्नुजस्तै हांस्यास्पद कुरो हो ।










