काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ ।
शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन र सम्मानित भएरै बस्न आग्रह गरेर नेकपा (एमाले)ले स्वागतयोग्य निर्णय गरेको छ, संविधान संशोधन गरेर भएपनि पूर्व राष्ट्रपतिहरुलाई पार्टी राजनीतिमा आउनबाट रोक्नुपर्छ ।”

प्रतिनिधि सभा सदस्य समेत रहेका सहमहामन्त्री परियारले पार्टीको कोही सांसद बारम्बार मन्त्री हुने र कोही भने कहिल्यै मन्त्री हुन नपाउने प्रवृत्ति प्रति असन्तुष्टि प्रकट गरे ।
उनले पार्टीमा दुई कार्यकाल बढी सभापति हुन नपाउने तर, मन्त्री भने जतिपटक पनि हुने अवस्था अन्त्य गर्नपर्नेमा समेत जोड दिए ।
“नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा भक्तपुरका पार्टी सभापति एवं सांसद दुर्लभ थापालाई मन्त्री बनाउन मेरो माग रहनेछ ।” उनले भने । ” नयाँलाई जिम्मेवारी नदिदाँ नयाँ पार्टीहरुले हामीमाथि अनेक आरोप लगाइरहेका छन् ।”
सहमहामन्त्री परियारले कांग्रेसको नेताकार्यकर्तालाई रास्वपा सभापति रवि लामिछानेको पक्षमा भईरहेको हस्ताक्षर अभियानमा सहभागी नहुन निर्देशन समेत दिए । “रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुलाई कार्वाही हुन्छ ।” उनले भने ।
कार्यक्रममा बाेल्दै रास्वपा अलोकतान्त्रिक पार्टी भएको उनको आरोप छ भने, कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले फेसबुकमा विकास देखाएर राजनीति नचल्ने बताए । पूर्व प्रतिनिधि सभा सदस्य महेश बस्नेतलाई इङ्कित गर्दै उनले भने, “विकासको बाढी ल्याएको भन्दै फेसबुके राजनीति गर्नेलाई हराएर सांसद भएको हुँ ।”
सांसद थापाले टेप लिएर विकासनिर्माणको अवस्था नाप्न चुनौती दिनुका साथै आफ्नो क्षेत्रमा अघिल्लो कार्यकालमा भन्दा कम विकास भएको भए राजिनामा दिने उद्घोष समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसको सूर्यविनायक नगरपालिका कार्यसमितिका सभापति निशान ढुङ्गेलले स्थानीय तहको निर्वाचनमा सूर्यविनायकको ५० प्रतिसत वडा कांग्रेसले जितेको भएपनि प्रमुख र उपप्रमुख जित्न नसक्दा पार्टीको नीति अनुसार काम गर्न नसकिएको बताए ।
सो अवसरमा बागमती प्रदेश सरकारका पूर्वमन्त्री कृष्णलाल भँडेल, चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्री, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतिहरु, पार्टीका क्षेत्रीय सभापतिहरु, नगर अध्यक्षहरु र जिल्ला नेताहरुको समेत आतिथ्यता रहेको नगर प्रवक्ता रमेश खड्काले जनाएका छन् ।










