हृदयमा तालाचापी, लाउनलाई रोकेको छैन ।
जानलाई पो रोकेको थिएँ,आउनलाई रोकेको छैन।।
तिमीले सताउँदा छोराछोरीले सताए झैँ लाग्थ्यो ।
आउ फेरि पनि सताउ, सताउन रोकेको छैन ।।
मुटुमा एउटा सिउँदोमा अर्कै सजाउनु गलत हो,
पराइको आँखामा आँखा घुलाएर लजाउनु गलत हो ।।
श्रीमती घरमा व्रत बसेकी छिन् निराहार बिचरा,
श्रीमान अर्कैसँग मन्दिर गएर घन्टी बजाउनु गलत हो ।।

मलाई कति गाह्रो छ मेरै रहरले चिन्दैन,
खल्तीभरि पैसा नभए शहरले चिन्दैन,
छन त छैन फरक जसले पिए पनि हुन्छ,
को धनी छ को गरिब, जहरले चिन्दैन ।।
✏️ श्रीराम रानाभाट










