सुमन बिश्वकर्मा, मलेसिया। विश्वभरिका आदिवासी समुदायले मनाउने विश्व मूलवासी आदिवासी दिवस–२०२५ तथा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको चौथो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा नेपालबाट विशेष अतिथिहरूको प्रतिनिधिमण्डल मलेसिया आगमन गरेको छ।
नेपाल कोशी प्रदेशका प्रदेश प्रमुख माननीय पर्शुराम खापुङ साथै राष्ट्रिय कलाकार सागर आले र सुनिता सुब्बा लिम्बु लगायत प्रतिनिधि मण्डललाई आयोजक टिमले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) मा भव्य स्वागत गरिएको छ। स्वागत कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न जातीय संघ–संस्थाहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा नेपाल राजदूतावास मलेसियाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अतिथिहरूको स्वागत परम्परागत आदिवासी भेषभूषा, मालाले सजिएको स्वागत गेट, र सांस्कृतिक शैलीमा स्वागत सत्कार गरिँदै गरियो, जसले मौलिकता, एकता र गौरवको सन्देश सम्प्रेषण गरेको सहभागीहरूले बताएका छन्।
महाधिवेशनलाई थप गरिमामय बनाउन नेपालबाट आएका अतिथिहरूको उपस्थिति ऐतिहासिक रहनुका साथै प्रवासी भूमिमा आयोजना हुने आदिवासी अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने भएको।
कार्यक्रम आयोजक संस्थाले समस्त आदिवासी जनजाति समुदाय, संघसंस्था, स्वयंसेवक, र सहयोगी मनहरूलाई आभार व्यक्त गर्दै सबैलाई महाधिवेशन सफल पार्न एकताबद्ध भइ सहयोगको आह्वान गरेको छ।
हाम्रो पहिचान, हाम्रो अधिकार, हाम्रो अस्तित्व जगेर्ना/संरक्षण र प्रवर्द्धन गरौँ।










