“हेर है साईली, बुहारी चाहिं मेरै जस्तो अनपढ हेर । पढेकी त सडेकी हुन्छे ।” “खै दिदी ,मैले भनेर हुदैन।छोरो त पढेकी नै बुझकी हुन्छे भन्छ ।” “आ! छोडिदेउ, त्यस्ता कुरा । हामी पढेका थियौं र ? तै पनि घर राम्ररी चलायौं । सासु,ससुरा, नन्द, देवर रिझाएरै बस्यौं । मेरी बुहारीले पनि सबैको मन जीति सकी ।” “पछि कुरा गरौंला नि दिदी अहिले अलि हतार छ म गएँ ।”
सावित्री आफ्नी बुहारी प्रति गर्व गर्थिन् । पण्डितलाई बुहारी खोज्दिन लगाएर गलत नगरेकोमा उनी दङ्ग थिईन् । घरमा बाउ छोरालाई भने केहि सहज लागेको थिएन ।
बुहारीले प्रायः छोरोलाई भनेको आमा सुन्थिन्, -“त्यो सुटकेस नखोल्नु होला है ।”

तर, सासु आमालाई के होला भन्ने कौतूहलता लागिरह्यो । एकदिन सुटुक्क छोरा र बुहारी को कोठा मा पसिन् र सुटकेस खोलिन् । बुहारीको फोटोहरू हेरेर उनलाई रिङ्गटा नै चल्यो । सबैलाई बोलाईन् र भनिन्,” यो के पारा हो बुहारी ?”
मलिन स्वरमा बुहारी ले भनिन्,”हो आमा मैले अंग्रेजीमा एम.ए.गरेकी छु । यी दीक्षान्त समारोहका फोटाहरू हुन् । अब आफैं भन्नुहोस्, मैले हजुरहरूको सेवा गर्नु नसकुला र ?”
कथाकार:- उमा सिजापती
बेलबारी न.पा.वडा नम्वर -४,मोरङ










