पाइतालाका डोबहरु बिछ्याउँदै
म मेरो देशको यात्रामा
सगुनको दही खाएर
रातो टीका लगाउँदै
एक झोला चामल र गुन्द्रुकको साथमा
मेची बाट महाकाली तिर दौडदैछु ।
माटो सुँघ्दै छु हत्केलामा उठाएर
टीका लगाउ कि निधारमा अलिकति
देशको औधि माया लाग्छ वैजयन्ती
म
हिमाल
पहाड
र
तराईका फाँटहरुमा
ओहोर दोहोर गर्छु
चट्टान विझाउँछ कतै
बगर पोल्छ कतै
पहाड खिइन्छ कतै
तराई डुब्छ पानीमा
र म पौडन्छु मेरो देश खोज्दै ।

गुराँस फुलेन भन्छन मान्छेहरु
चिसा स्याँठले कोतरेर
नाङ्गै उभ्भिएको छ
एउटा बुढो गुराँसको रुख
म वसन्त बोकेर आएको छु
आफ्नै पौरखले गुराँस फुलाउनु पर्छ
आफ्नै पौरखले सुनगाभा र लालुपाते हुर्काउनु पर्छ ।
यात्रा दौडाउनु छ देश भरी
पाखा पखेरा र वस्तिहरुमा
झुपडी च्याउँदैछु कालो औंशीको रातमा
अन्धकार पालेर बसेका छन गाउँलेहरु
गल्लि बाट उकालो लाग्दै छु
ए गाउँले साथी हो
म आउँदैछु
एउटा कठोर यात्रामा
गाउँको मुहार फेर्ने गरी
अवरोधको तगारो भाँचेर ।
म एउटा सिङ्गो देशनै बोकेर
यात्रामा लम्कदै छु
म सँग विजयको प्रतीक अविर छ
अविर छर्दै छु देश भरी
उजाड पाखाहरु रंगिए होलान
यात्रा छोड्दै आउँदैछु
गाउँ बस्तिमा नयाँ पन आउनु पर्ने
गाउँलेहरुको ओठमा हाँसो छाउनु पर्ने
निरीक्षण हुनु पर्छ यात्राहरुको
म अर्को यात्रा आउने छु
यात्रा निरीक्षण गर्ने गरी ।
इलाम बाट हिड्नु भनेको बेग्लै हो
वैतडी आइपुग्न समय पर्खनु पर्ला
चियाको बोट छाम्नु पर्छ मैले
धान झुल्नु पर्छ कोशी फाँटहरुमा लरबर
सगरमाथा खोज्नु पर्छ शिविरहरुमा
उँचाई नाप्नु पर्छ फिट र मिटरहरुमा
सजिलो छैन यात्रा गर्न
चुरे चढ्नु पर्छ
पहाड नाघ्नु पर्छ
भञ्ज्याङ्गहरु काटेर
देउरालीमा पाती चढाई
कुन बाटो जाने ?
बाटो रोज्नु पर्छ
जनकपुरमा
आदर्श नारी खोजेर
उपत्यका नाघ्दै
पोखराको तालहरुमा
माछापुच्छ्रे हेर्नु पर्छ ।
थकित हुुन सकिन्छ गतिशील यात्राहरुमा
चितवनको वस्तिहरुमा विश्राम गर्दै हिड्नु पर्छ
झ्याउरे र सोरठी हरायो भन्छन
म मादल मुर्चुङ्गा र बाँसुरी लिएर आउँदैछु
मादल बजाउँदै सोरठी नाँच्नु पर्छ
मुर्चुङ्गा बजाएर झ्याउरे गाउनु पर्छ
बाँसुरी बजाएर सृजनाको गीत रोप्नु पर्छ ।
म आउँदैछु चामल र गुन्द्रुक लिएर
अलि कति कोदाको पिठो पनि छ
गुन्द्रुक उमाल्दै
चामल उसिन्दै
ढिडो मस्काउँदै
धवलागिरी आइपुग्दै छु भर्खरै मात्रै
थाकेको छु
आक्रान्त छ मन
शान्तिको भोको म
शान्ति खोज्न लुम्विनी र्झर्नु पर्छ
राप्ती नदी तरेकै छैन
यात्रा लामो छ
चिसा स्याँठ
झरी बादल
वर्षा खडेरी
सबै सहँदै आउनु पर्छ ।
उत्तिस उम्रिएको छैन रे
बुकी फूल सुकि सक्यो रे
चिलाउने, विलाउने
सिमाली, तितेपाती
कुटमिरो, बढहर
खन्यु, टाँकी
साल, सल्लो
खयर, बयर
सिसौ, नास्पाति
आरु र सजिवन
पाउलिन बाँकी नै छ भन्छन
वसन्त कता हरायो ?
वसन्तको खोजि गर्नु छ मैले ।
नियात्रा लेख्नु पर्ने
यात्रा विवरण डायरीमा टिप्दै राख्नु पर्ला
सोच्तै यात्रा अगाडि बढाए पछि
फुर्सदमा नियात्रा लेख्नु पर्ला ।
भेरी नदीमा पौडे पछि
सेतीको सुसाई सुन्नु पर्छ
तिर्खा लागेको हुन सक्छ
एक अंजुली पानी पिएर मात्रै
यात्रा उकालो चढ्नु पर्छ
हिउँ पन्छाउनु पर्छ
चौरी चर्नु छ ढापहरुमा
भेडीगोठ बन्नु छ लेकहरुमा
सेलो गाउँदै
सिङ्गै कर्णाली नाघ्नु छ मैले
सहज नहुन सक्छ यात्रा
यात्रा बिसाउन महाकाली पुग्नु पर्छ मैले ।
आफ्नै पदचापहरु नियाल्दै
म मेरो देशको यात्रा बाट फर्कदै छु
बचेको एक मानो चामल र एक छाक गुन्द्रुकको साथमा
पुनः
महाकाली बाट
मेचीको यात्रा तय गर्दै
वैजयन्ती
तिम्रो प्रेम फिका हुन सक्छ
देश रोइरहेको छ
देशलाई माया गर्न सिक
म बाँसुरी बजाउला
तिमी छम छमि नाच ।
सर्जक :- प्रकाशचन्द्र खतिवडा
ठेगाना :- सुन्द हरैचा -६, दुलारी माेरङ










