बाबा मलाई पढ पढ्न भन्नुस् न, मलाई पढेर पढाइको ऋण बोक्नु छैन, भोलि पेट पाल्नका लागि भिक्षाको ्बिंड़ बोक्नु छैन ।।
बाबा मलाई पढ पढ्न भन्नुस् न, भोलि आज पढ्दाको ऋण तिर्न सके जापान,अस्ट्रेलिया,अमेरिका पठाउनुहोला,
त्यहाँ पठाउन नसके अरबतिर कटाउनुहोला,
मलाई पढेर तपाईं जस्तो निष्ठुरी बन्नु छैन,
कहिलेकाहीँ घर फर्कने हावाहुरी बन्नु छैन ।।

बाबा मलाई पढ पढ्न भन्नुस् न, मलाई पढेर तपाईं जस्तो पौरखी बन्नु छैन
मलाई त अरुले गरेको पौरखमा रमाउनु छ,
वर्षमा लाख होइन महिनामा करोडौं कमाउनु छ,
मुख्य कुरा त मलाई पढेर तपाईंले झैँ विदेसिनु छैन,
एउटी नारीको भरभराउँदो यौवन झर्न दिनु छैन।।
बाबा मलाई पढ पढ्न भन्नुस् न, मलाई पढेर तपाईं जस्तो ज्ञानी निष्ठावान र स्वाभिमानी बन्नु छैन,
नियम कानुन पढेर त्यसैमा बाँधिएर बस्नु छैन,
सोझो,सिधा इमान्दार भै खिएर बस्नु छैन,
मलाई पढेर सरदार या खर्दार भन्दा पनि
नपढीकन देशको प्रधानमन्त्री बन्नुछ ।।
बाबा मलाई पढ पढ नभन्नुस् न, मलाई तपाईँले जस्तो लुट्न, छल्न,ढाट्न,माग्न नजान्ने होइन, मलाई त सबैको गाली,ताली, घृणा,तिरस्कार पच्न सक्ने बन्नु छ,
अपराध गरेर अपराधबाट बच्न सक्ने बन्नु छ,
पाखुरा बजारेर होइन नि बाबा, गफ जोतेर,लाज पचाएर माग्न जान्नु छ, भाग्न जान्नु छ, ठग्न जान्नु छ,तग्न जान्नु छ ।।
बाबा मलाई पढ पढ्न भन्नुस् न, भोलि के गरेर खान्छस् ? चिन्ता मात्र लिनुहुन्छ,
बाटो बिराउँछ कि भनेर उपदेश मात्रै दिनुहुन्छ,
कहिले यसलाई जिन्दाबाद भनिदिन्छु,
कहिले उसलाई मुर्दाबाद भनिदिन्छु,
चिन्ता नलिनुस् बाबा एक दिन खुंखार् नेता बनिदिन्छु ।।
बाबा, मलाई पढ पढ नभन्नुहोस न ।।










