आफू बसेको ठाउँपनी किन-किन पर देख्छु,
जहाँ बस्छु त्यहाँ आफु, जन्मिएको घर देख्छु।
पाखा पखेरा, गाउँ-बस्ति, गाउँले जीवन सेरोफेरो,
चौतारिमा उभिएको, सपनीमा अझै देख्छु।
शुशेलिमा गीत गाउँथे, बिर्सियौ कि पाखाहरु ?
ठ्वास्स ठोसी जिस्काईदिने सम्झन्छौ के, बाटाहरू?
हे आँगन, तिम्रो काखमा, खेलेको याद छ कि छैन?
हे छेउको ढुङ्गा, खोपिएको नाउँ मेरो, अहिले छ कि छैन?

चौर माथिको बरको रुख, तिमीलाई साथ दिन्थें पहिले,
हरियो नै छौ कि अझै? तिमी कस्तो भाछौ अहिले?
चरा आउँथे, टक्क ठुङ्थे पिपलुको गेडी,
झर्थिए गेडी, टिपी खान्थ्यौं चौतारीलाई हेरी।
गोठको गन्ध अझै पनि भुल्या छैन मैले,
गाउँभन्दा पर मन डुल्या छैन कहिले।
नदी तिमी सुसाई बस्नु, आउँछु फेरि कुलो छेक्न,
बेंशी खेत, मार्सी धानका झुलेका ती बाला देख्न।
छुटिएका साथीसङ्गी भेट्न फेरि आउँछु,
कुहिरोसँग लुकामारी खेल्न फेरि आउँछु।
पुराना दिन देख्ने मन छ, घरको टिनको छाना,
जंघार पारि नैनो बोकी, आउँछु एक दिन आमा।
आफू बसेको ठाउँपनी किन-किन पर देख्छु,
जहाँ बस्छु त्यहाँ आफु, जन्मिएको घर देख्छु।










