हिमांशु राय, माेरङ। जेफाले सिर्जना डबलीले २०० औँ शृङ्खला पार गरेको छ । मोरङको केराबारी गाउँपालिकामा ३, मा रहेको मगर सङ्ग्रहालयमा एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान तथा रचना वाचन गरेर संस्थाले खुसी साटासाट गरेको हो ।
केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कवि चन्द्र गुरुङ, हेमन यात्री, सुमन मेवाहाङ राई, भानु साझा पुस्तकालय, तीनपैनीका अध्यक्ष पुरन याक्खा, लेखक तथा अनुसन्धाता केशु विरही, शुभ खानेपानी सरसफाइ तथा उपभोक्ता समितिका अध्यक्ष गोकुल थापा, केराबारी व्यापार प्रवद्र्धन समितिका अध्यक्ष तथा सञ्चारकर्मी किसान शाही, केराबारी गाउँपालिका कार्यपालिका सदस्य गङ्गा लिम्बू, पूर्व जनप्रतिनिधि मनोज खड्कालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चन्द्र गुरुङ, हेमन यात्री, सुमन मेवाहाङ राई, केपी घिमिरे, नवराज पोखरेल ‘नवशिला’, पुरन याक्खा, रूपनारायण श्रेष्ठ, गीताप्रसाद श्रेष्ठ, खेमराज आचार्य, केवल धमलालगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए ।
कोरोनाका समयबाट सुरु गरिएको जेफाले सिर्जना डबली विशेष गरेर पर्यटनसँगै साहित्य भन्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो । नयाँ नयाँ सर्जकलाई प्रस्तुत गरिसेको यस संस्थाले विभिन्न स्थानमा गएर कार्यक्रमको छायाङ्कन गर्दै आएको छ ।
केराबारी साहित्य तथा कला विकास केन्द्रका अध्यक्ष नवीन थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने जेफाले सिर्जना डबलीका संयोजक एवम् सञ्चालक युवराज ठकुरीको रहेको थियो ।










