केशु विरही, नेपाल : ‘केफास आस्था’ का नामबाट साहित्य र्सिजना कर्ममा लागेका हिमाङ्शु राय नेपाली साहित्यमा एउटा परिचित नाम हो। कृति प्रकाशनका दृष्टिले निकै पछि परेता पनि उनी तीन दशकअघि देखि नै ससक्त कलम चलाउँदै आईरहेका लेखक तथा स्रष्टा हुन्।
२०३६ साल वैशाख १४ गतेका दिन साबिकको सोलु सल्लेरी, (हालको सोलुखुम्बु–सोलुदुधकुण्ड नगरपालिका –५, सल्लेरीमा पिता जितेन्द्रचन्द्र राय र माता कालिका राय (इन्दिरा) का दोस्रो सन्तानका रूपमा जन्मिएका हिमाङ्शु २०६६ सालमा बेताली –५, रामेछाप निवासी पिता गङ्गाप्रसाद बस्नेत र माता डम्बरकुमारी बस्नेतका जेठी छोरी भवानी बस्नेत (सरिता) सँग विवाह बन्धनमा बाधिए। हाल उनीहरूका उत्सव र आरोग्य नाम गरेका दुई जना सन्तान रहेका छन्।

धनकुटाको साबिक वसन्तटार गा.वि.स. वडा नम्वर- ५, हालको धनकुटा चौबिसे गाउँपालिका वडा नम्वर ८, बाट सुनसरीको धरान-४, लक्ष्मी सड्कमा बसोबास गर्दै सुनसरीबाट २०३९ सालमा बसाईँ सरेर मोरङको साबिक डाँगीहाट गा.वि.स. वडा नम्वर-५, र हाल बेलबारी वडा नम्वर–११, लक्ष्मीमार्ग, मोरङमा स्थायी बसोबास गरिरहेका उनी ‘सुनगाभा साहित्य समाज’, ‘गीतकार सङ्घ नेपाल’, ‘नेपाली लेखक सङ्घ’, ‘नेपाल साँकृतिक महासङ्घ’, ‘बेलबारी प्रज्ञा–प्रतिष्ठान’ जस्ता विभिन्न साहित्यिक सङ्घसंस्थासँग जोडिँदै आएका छन् । विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित रायको पुस्तक ‘कोलाजगीत’ ले नेपाल गीतकार सङ्घद्वारा प्रदान गरिने ५७ हजार राशिको ‘जगत मर्दन थापा सर्वोत्कृष्ट गीतकार पुस्तक पुरस्कार २०८१’ प्राप्त गरेको छ ।
२०५१ माघ ८ गते साबिकको डाँगीहाट गाविस –५, (हालको बेलबारी –११, लक्ष्मीमार्ग, मोरङ) बाट प्रकाशित हुने ‘प्रयास’ नामको भित्ते पत्रिकामा ‘तरुणी जून’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेका उनी साहित्यका अतिरिक्त पत्रकारितासँग समेत जोडिएका व्यक्ति हुन्।
एकल प्रकाशित कृतिका रूपमा गीतसङ्ग्रह पहिलो भए पनि उनका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । केही संयुक्त कृतिसमेत प्रकाशित छन् । उनी एक जना राम्रा कवि पनि हुन् । मैले उनलाई कविकै रूपमा चिनेको हुँ । यद्यपि कविता र गीतका अतिरिक्त उनले गजल, कथा, लघुकता, हाईकु, मुक्तक तथा भजन पनि लेख्ने गरेको पाइन्छ।
२०७६ सालमा दधिराज सुवेदीद्वारा लिखित ‘मोरङको साहित्यिक इतिहास’ नामक कृतिमा नै उनको ‘कोलाजगीत’ कृतिका बारेमा उल्लेख गरिएको थियो, प्रकाशनको सङ्घारमा रहेको कृति भनिएको थियो। २०७९ सालमा ‘बेलबारीको साहित्यिक इतिहास’ प्रकाशित भयो । मैले उनलाई भेटेर २०७६ सालमै प्रकाशनको सङ्घारमा रहेको भनिएको कृति किन अझैसम्म आएन भनेर सोधेको थिएँ । कृति आउन ढिला भएको चित्बुझ्दो जवाफ उनीबाट पाएपछि मैले पनि यही पुस्तकलाई प्रकाशनको सङ्घारमा रहेको कृतिकै रूपमा राखेँ । त्यसैका आधारमा उनको छोटो परिचय पनि राखेँ । तर लामो समयसम्म पनि कृति आउन नसक्दा विभिन्न खाले सवालहरू उब्जिरहेका थिए । यस्ता सबाल उब्जिनु स्वभाविककै थियो । तर २०८१ साल भदौँ महिनामा भने सबै सबालको जवाफका रूपमा कृति बाहिर आयो ।
हाल गीतका बारेमा विभिन्न छलफल, वहस तथा केही नविन धारणाहरू पनि सार्वजनिक हुँदै गरेका यदाकदा सुनिन थालिएको छ।
मानिसको हृदयलाई सजिलै प्रभाव पार्न सक्ने गीत लेखन लाई मुलत कविता विधाकै एउटा उपविधा मानिएता पनि गीतप्रेमीहरू भने गीत एउटा छुट्टै तथा महत्त्वपूर्ण विधा भएकाे जिकिर गर्दै आइरहेका छन् । मानव सभ्यताको काविला युग परापूर्व कालदेखि नै गीत मानव जन जिब्रोमा झुण्डिएको र खासमा घाँस दाउरा गर्दा होस् कि गोठालो मेलापाल अथवा सभ्यताको उत्पत्तिदेखि नै मानिस जन्मदा,विवाह गर्दा र मृत्युपर्यन्तसम्म पनि र आदिम सभ्यतादेखि हालसम्म झन् झन् व्यापक रूपमा गीतको विकास हुँदै गइरहेको हुदाँ गीतलाई सृष्टिकालीन साहित्यको पहिलो र एक छुट्टै अत्यन्तै महत्त्वपूर्ण विधाको रूपमा नेपाल गीतकार सङ्घले पनि आफ्नो धारणा राख्दै आइरहेको छ। गीतका केही विज्ञ तथा विश्लेषकहरूले पनि गीतका बारेमा व्यापक बहस गर्नुपर्ने आफ्ना धारणाहरू सार्वजनिक गर्दै आइरहेका छन्।
गीतकार हिमाङ्सु रायको
‘कोलाजगीत’ २०८१ सालमा प्रकाशित गीतसङ्ग्रह हो । दिपेन वान्तवा राई प्रकाशक रहेको यस कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, वर्तमान कुलपति भूपाल राई, प्रा.डा. कृष्णहरि बराल, कवि प्राज्ञ श्रवण मुकारुङ,नेपाल साँस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष, निर्माता तथा चलचित्रकर्मी तिर्थबहादुर थापा, गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटा, गीतकार सङ्घघ नेपालका वर्तमान अध्यक्ष वसन्त वित्यासी थापा, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका कोसी प्रदेशका अध्यक्ष प्राज्ञ विवश पोखरेलजस्ता विशिष्ट व्यक्तित्वका शुभकामना वा भूमिकाबाट लेखक हिमाङ्शु राय तथा उनको गीतकारिताका बारेमा बुझ्न केही सजिलो भएको छ । त्यस्तै पुस्तकमा ‘सर्जकको कलमबाट’ शीर्षकको उनको लेखकीय मन्तव्यसमेत रहेको छ ।
पुस्तकमा जम्मा जम्मी २०४ र २८ गरि जम्मा २३२ पृष्ठ रहेको छ। यसैगरि पुस्तक ब्याक्तिगत मूल्य रु ३०० र संस्थागत रु ५०० राखिएको छ भने यसभित्र विभिन्न भावका २०१ ओटा गीत रहेका छन् । यसमा २०४९ सालदेखि २०७५ सालबिचका लेखिएका गीतहरू सङ्ग्रहित छन् । उनका यसभित्रका ‘यो संसारमा पाइला टेक्ने, ‘याद बोकी बाँचे तिम्रो साथ खोजी बाँचे’, ‘चौबन्दी चोलीमा सजिएर मुस्कुराउँदै कहाँ हिँड्न लागेकी’, ‘किन आँखा रसाउँछ घरी घरी याद आउँछ’ बोलका गीतहरू रेकर्ड भइसकेका छन् भने यसका अलवा रायले स्थानीय गाउँले ७ जना साथीभाइहरू सँग मिलेर २०५४/०५५ साल ताका “द ईष्ट्रन ब्यान्ड” अर्थात् पूर्वेली साङ्गीतिक समूह निर्माण गरी “कोसिस”नामक गीति एल्वमसमेत स्रोताहरू समक्ष पस्किसकेका छन् । त्यस्तै यसै कोलाज गीत सङ्ग्रहका अन्य डेढ दर्जनजति गीतहरूको सङ्गीतसमेत भइसकेको पाइन्छ । भाव, लय, सङ्गीत सौन्दर्यका दृष्टिले उनका गीत निक्कै अब्बल मानिन्छन् ।
बढी मात्रामा लोकआधुनिक गीत नै लेख्न मन पराउने हिमाङ्शुका गीतमा विषयवस्तुको विविधता पाइन्छ । हरेक विषयवस्तुलाई टपक्क टिपेर गीतमा उन्न उनी सिपालु देखिन्छन् । विषयगत विविधता भित्र पनि उनी देशप्रेमले पोतिएका गीतहरू लेख्न मन पराउँछन् । उनका गीतमा माटोको सुगन्ध पाइन्छ । उनी आफ्नो देशलाई औधी माया गर्दछन् । यद्यपि आफू जन्मिएको देशलाई माया गर्नु हरेक नेपालीको कर्तव्य पनि हो । नेपाललाई उनी स्वर्गजस्तै पवित्र स्थल भएकोमा गर्व गर्दछन् । उनको ध्येय पनि यही माटोमा माटाका लागि केही गर्ने रहेको छ । उनका गीतमा माटोप्रतिको अगाध माया यसरी व्यक्त भएको पाइन्छ :
स्वर्गजस्तो सुन्दर मेरो देश, मर्न पाउँ भन्छु देशका लागि ।
यही माटोमा लुटपुटिदैँ केही गर्न पाउँ भन्छु देशका लागि । (पृ.१, स्वर्गजस्तो)
नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । यहाँका झरना छाँगा खोलानाला, पहाड पर्वतले सबैको मन जितेको छ । प्राकृतिक सुन्दरताका अतिरिक्त धार्मिक दृष्टिले पनि यो उत्तिकै महत्वपूर्ण रहेको छ। यो ऋषिमुनिहरूको तपोभूमि पनि हो। तर यति सुन्दर र महत्त्वपूर्ण देशलाई फोहरी राजनीतिले गर्दा दुशित र दुर्गन्धित बनाउने काम भइरहेको छ । अर्थात् कुरूप बनाउने काम भइरहेको छ । आफ्ना शब्द रचनामार्फत् उनले नेपाल र नेपालीको महिमा स्तुतिगान गाएका छन् : कति सुन्दर सृष्टि अचम्मको करुणा अपार छल्केको । अन्तरयामी प्रभुको रूप दीनदुःखीहरू माझ झल्केको । (पृ. ५, कति सुन्दर) यो संसार प्रेमले नै चलेको छ ।
प्रेमको अभावमा कुनै कुराको परिकल्पनासमेत गर्न सकिन्न । अर्थात् प्रेमविना यो संसार निष्पट अँधेरो लाग्दछ । प्रेमले गन्तव्यको उज्यालो प्रदान गर्छ । उज्यालोको अभावमा रतिभर पनि अगाडि बड्न सकिन्न । केहीले त प्रेमलाई सञ्जीवनी बुटी मान्ने पनि गरेका छन् । उनका धेरैजसो गीतहरू प्रेमिल छन् । प्रेमिल भावमा लेखिएका उनका गीत निकै सफल पनि मानिन्छन् । आफ्नी प्रेयसीलाई यति माया गर्छन् कि, उनी प्रेयसीको मायामा हराएर आफूलाई बिर्सन चाहन्छन् । उनी भन्छन् :
यति धेरै माया नदेऊ कि म बिर्सुँ आफैँलाई ।
तिम्रै गाढा यादमा डुबी कि म भुलूँ संसारलाई । (पृ.७, यति धेरै) जीवन क्षणभङ्गुर छ । अहिले सक्रिय जीवन केहीवेरपछि निष्क्रिय बन्न पनि सक्छ । अर्थात् आजको जीवन भोलि नहुन पनि सक्छ । जीवनको यही क्षणभङ्गुरतालाई बुझ्न जरुरी छ । जीवनको कुनै भरोसा नहुने, थाहै नपाई सुरु हुने र अन्त्य पनि हुन सक्ने उनको धारणा रहेको छ । जीवनको यही वास्तविकताका बारेमा गीतकार सचेत र गम्भीर देखिएका छन् ।
उनी भन्छन् : थाहै नदिई कतिबेला कहाँ झर्छ यो जीवन।
मिति पुगे टप्प टिप्छ लान्छ ओढाई कफन। (पृ.९, थाहै नदिई) उनी मायाप्रेमका मात्र गीत लेख्दैनन् । मायाप्रेमका अतिरिक्त उनी गरिब तथा दीनदुःखीका गीत पनि लेख्ने गर्दछन् । यस गीत सङ्ग्रहमा पनि उनका गरिब तथा विपन्नकै भावना पोखिएका निकै गीत रहेका छन् । खुकुरीको पिर अचानोलाई थाहा नभएझैँ भरिया हुनुको पीडा अरूलाई थाहा नहुने उनको भनाइ रहेको छ । देख्नेलाई त भरियाको जीवन निकै सजिलो नै लाग्ला तर उकाली ओराली त्यो अक्करको भिरमा भारी बोक्न कहाँ त्यति सजिलो छ र भनेर शब्दमा राय प्रश्न गर्ने गर्दछन् ।
उनको यही भाव गीतमा यसरी पोखिएको छ : भारी बोक्ने भरिया दाइले व्यथा बोक्छ भारी भरी । उसको दुःख देख्दा कठै सम्झाउँ यो मन कसो गरी । (पृ.१४८, भारी बोक्ने)
उनका गीतले विभिन्न विषयलाई उठाएका छन् । उनी गीतमार्फत कहिले माया प्रेमको कुरा गर्छन् त कहिले जीवनको सार्थकता खोजिरहेका हुन्छन् । उनी गीतमार्फत गरिबीको पिरव्यथा प्रस्तुत गरिरहेका हुन्छन् । कहिले जीवनको उकालि ओराली तथा भन्ज्याङ चौतारीमा बसेर अतीतका बारेमा मूल्याङ्कन गर्दै सुदूरभविष्यका बारेमा उनी सोचिरहेका हुन्छन् । उनका गीतमा मानिसका भोगाइका क्रममा आएका भावहरू जस्तै : प्रेम–घृणा, दुःख–सुख, हाँसो–रोदन, मिलन–बिछोड आदि नै आएका छन् । कोमल शब्द तथा विम्ब मनपराउने उनका गीतमा मानवीय संवेदनालाई सफल रूपमा उतारिएको पाइन्छ ।
‘कोलाज’ ले ‘सप्तरङ्गी वा रङ्गीन कलात्मक दृश्य वा चित्र’ लाई जनाउँदछ । विविध विषयलाई कलात्मकता दिइएको कृति नै ‘कोलाजगीत’ हो भन्न सकिन्छ । अर्थात् विषयवस्तुको विविधता र गीतमा आएका शब्द र विम्बको कलात्मकताले गर्दा यसको शीर्षक सार्थक भएको छ । सारमा भन्दा मानवीय संवेदनालाई उतार्न सफल गीतकार हिमाङ्शु रायको यस कृतिले नेपाली गीतका पाठकलाई राम्रो खुराक प्रदान गरेको छ । स्थानीय स्रष्टा एवम् कलाकार शिव छाङ्छाद्वारा निर्मित पुस्तकको आवरण उत्कृष्ट हुँदा हुँदै पनि केही अस्पष्टता जस्तो लागे पनि भित्री शब्द सिर्जना र लेखकीय खुराकका कारणले भने यो एउटा अब्बल कृति बन्नेमा म ढुक्क छु । स्रष्टा हिमाङ्शु रायको थप साहित्यिक उन्नयनको कामना गर्दछु । जय साहित्य।










