काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको बताएका छन्।
पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको वर्तमान आर्थिक, राजनीतिक र सामाजिक सङ्कट समाधान गर्न वाम शक्तिको ध्रुवीकरण आवश्यक भएको बताए।

कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा अझै कायम रहेको उल्लेख गर्दै उनले सिद्धान्तमा अडिग र जनताप्रति समर्पित वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे। मुलुकको राजनीति सही दिशातर्फ लैजान वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले परिवर्तनलाई संस्थागत गर्न सुशासन, रोजगारी र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा आफूविरुद्ध मुद्दा दायर गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले उक्त निर्णय १२ वर्षअघि मन्त्रिपरिषद्को नीतिगत निर्णयअनुसार भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसलाई तामेलीमा राखेको स्मरण गराए। उनले राजनीतिक षड्यन्त्रवश अहिले सो विषयमा मुद्दा दायर गरिएको दाबी गरे।
पार्टीलाई कमजोर बनाउने र आफूलाई राजनीतिक रूपमा असहज बनाउने उद्देश्यले मुद्दा चलाइएको आरोप लगाउँदै उनले अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे।
“मैले जीवनमा एक रुपैयाँ पनि घुस खाएको छैन,” भन्दै अध्यक्ष नेपालले, “माथि मुद्दा दायर भएकै कारण पार्टीले मलाई बिदा गर्न चाह्यो भने म स्वीकार गर्न तयार छु।” पार्टी बनाउने आँट आफूसँग रहेको र चुनौतीहरूको सामना गर्दै अघि बढ्ने उनले स्पष्ट पारे।










