काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अप्रत्याशित रूपमा हिजो आएको भीषण बाढीले नेपाल–चीन जोड्ने रसुवागढी–केरुङ नाकास्थित मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय महत्वका पूर्वाधारमा पुर्याएको गम्भीर क्षति र सोही घटनामा केही व्यक्ति सम्पर्कविहीन भएको प्रति रास्वपाले दुख ब्यक्त गरेकाे छ।
एक विज्ञप्ति जारी गर्दै रास्वपाले दुःखद खबरले हामीलाई अत्यन्तै मर्माहत र चिन्तित बनाएको छ । प्राकृतिक विपत्तिले निम्त्याएको यस मानवीय र भौतिक संकटप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं,भनेकाे छ।

साे विज्ञप्तिमा बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि–उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष आग्रह समेत गरेकाे छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने भएकाले प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकार समक्ष आग्रह गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सहकार्य तथा पूर्वसूचना प्रणाली जडानका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद अगाडि बढाउन पनि सरकारलाई ध्यानाकर्षण गराएकाे हाे।
नदी तटीय क्षेत्रमा रहेका बस्ती, पुल, सडक र अन्य महत्वपूर्ण संरचनाहरूको भौगर्भिक तथा वातावरणीय जोखिम मूल्यांकन गरी विपद् प्रतिरोधी मापदण्ड कडाइका साथ लागू गर्न सरकार चुकेको देखिन्छ भन्दै यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेकाे छ।
रास्वपाकाे विज्ञप्तिमा भाेटेकोशी लगायत देशका अन्य नदी तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र सरकारी निकायले जारी गरेका सूचनालाई पालना गर्न अनुरोध गर्नुका साथै, रसुवासहित अन्य स्थानमा भएका प्राकृतिक विपद्का घटनाका प्रभावितको उद्धार, राहत र अन्य मानवीय सहयोगमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रियतापूर्वक जुट्न पार्टी पंक्तिलाई आह्वान गरेकाे छ।










