काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा सदस्य माननीय छिरिङ ल्याम्बु लामामाथि प्रविधिको दुरुपयोगमार्फत नियोजित रूपमा गरिएका आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बहादुर बाग पक्राउ परेका छन् ।
उनीविरुद्ध माननीय लामाले साइबर ब्युरो, भोटाहिटीमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। असार १९ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आपत्तिजनक भिडियो सामग्रीले सांसद लामाको सामाजिक र राजनीतिक छविलाई क्षति पुर्याएको आरोप छ। उक्त भिडियो ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बडूको फेसबुक पेजबाट सार्वजनिक गरिएको पुष्टि भएको छ।

सांसद लामा विगतदेखि गणतन्त्रको पक्षमा सक्रिय रूपमा वकालत गर्दै राजतन्त्रविरुद्ध धारिलो अभिव्यक्ति दिँदै आएको कारण निर्मल निवासमा केही समयअघि तनावपूर्ण अवस्था उत्पन्न भएको र ‘कठोर बन्नु’ भन्ने निर्देशनसमेत जारी गरिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार, सोही सन्दर्भमा सांसद शाहीले “अब जसरी नि सकिन्छ, महाराज” भन्ने अभिव्यक्ति जेठ महिनामा एक राजावादी निकट व्यक्तिसामु दिएका थिए। त्यसपछि उनले संसदभित्रै पनि लामामाथि अपमानजनक अभिव्यक्ति दिँदै आफ्नो सहयोगीहरु मार्फत धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोप छ ।
घटनापछि प्रहरीद्वारा पक्राउ परेका बडूको पक्षमा दबाब सिर्जना गर्न सांसद शाहीले आज बिहान दुईपटक साइबर ब्युरो पुगेर बडुलाई छाड्न दबाब दिएको स्रोतको दाबी छ । साथै, विभिन्न माध्यममार्फत रिहाइका लागि दबाब दिइएको जनाइएको छ।
यसैबीच, जिल्ला अदालत काठमाडौंले पक्राउ परेका रमेश बहादुर बडूमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिने आदेश दिएको छ।










