खाेटाङ। जिल्लामा लिचिको हव मानिएको रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ भने एउटै बोटबाट रु ४५ हजारको बिक्री भएको जानकारी प्राप्त भएको छ ।
रावाबेँसी गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको गाँउपालिकले जनाएको छ ।

कुभिण्डेमा ११ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिए । कृषि शाखा प्रमुख बास्तोलाका अनुसार वडा नं. २ खार्पामा २४ मेट्रिक्टन, वडा नं. ३ लामीडाँडामा १६, वडा नं. ४ धारापानीमा १६, वडा नं. ५ दुवेकोलमा आठ र वडा नं. ६ हौँचुरमा ३२ मेट्रिक्टन उत्पादन भएको छ ।
भर्खरै फल्न थालेको लिचीको दुईवटा बिरुवा बोटबाट यस वर्ष रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरलाइ उदृत गर्दै कृषिसाखा प्रमुख बास्ताेलाले बताए।
कुभिण्डेका स्थानीय खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटमा फलेको लिची रु ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गर्नुभएको जनाइएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको कुभिण्डेमा सबैभन्दा बढी लिची फलाउने कृषक टीकाबहादुर रानामगर रहेको उनका छिमेकीहरुले बताए।
रावाबेँसी गाउँपालिकामा यस वर्ष लिची बिक्रीबाट रु ९५ लाख ६८ हजारभन्दा बढी रकम भित्रिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । प्रति केजी रु ५२ ले हिसाब गर्दा रु ९५ लाख ६८ हजार बराबरको आम्दानी देखिएको कृषि शाखा प्रमुख बास्तोलाले जानाए ।
रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार–१० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिएका छन् ।
लिचीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको प्रवद्र्धनमा चासो नदिएको किसानको गुनासो छ । आफूहरुले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानहरुको माग छ ।










