काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा आरोपित हुनु अघिसम्म कांग्रेस नेता बालकृष्ण खाँण पार्टीमा प्रभावशाली मानिन्थे । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास रहेका नेता खाँणलाई नेपाली कांग्रेसको ‘भावी सभापति’को रूपमा चर्चा हुने गर्थ्यो ।
कुनै बेला कांग्रेसका प्रभावशाली नेता अहिले ‘गुमनाम’ जस्तै छन् । राजनीतिक करिअरमा धक्का लागेको छ । संसदीय राजनीतिमा पनि पहिलाजस्तो प्रभाव पनि छैन । तर, तिनै खाँण रूपन्देही निर्वाचन क्षेत्र नं.–३ को कात्तिक १७ मा हुने उपनिर्वाचनबाट राजनीतिमा ‘कमब्याक’को प्रयासमा छन् ।

जिल्लाका राजनीतिक कार्यक्रममा प्रमुख र विशिष्ट अतिथिका रूपमा सहभागी हुन थालेसँगै उनको ‘कमब्याक’को सम्भावना बढेको छ । भुटानी शरणार्थी प्रकरणमा सात महिना कारागार बसेर उनी २०८० मंसिर २८ मा पाटन उच्च अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी २०८० वैशाख २७ गते पक्राउ परेका थिए । गृहमन्त्री रहेका बेला खाँणले गृहसचिव टेकनारायण पाण्डेसँग रकम लेनदेनको कुराकानी गरेको प्रमाण फेला परेको अभियोगमा उनलाई पक्राउ गरेर थुनामा राखिएको थियो । खाँण गृहमन्त्री भएकै बेला रूपन्देही क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए ।
तर, कांग्रेस–माओवादीको गठबन्धनका खाँणलाई पराजित गर्दै एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दीपक बोहोरा २ हजार ६ सय ८१ मतान्तरले विजयी भए । बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्र प्राप्त गरेका थिए । बोहोरालाई २०७४ को निर्वाचनमा कांग्रेसले सहयोग गरेको थियो । तर, एमालेका घनश्याम भूसालले जितेका थिए । बोहोरालाई समर्थन गर्दै त्यतिबेला कांग्रेस नेता खाँण समानुपातिकमा बसेका थिए । तर, अहिले तिनै बोहोराले बहालवाला गृहमन्त्री खाँणलाई निर्वाचन अभियानमा बोल्दै नबोली चुनाव हराएका थिए ।
कोभिड संक्रमणपछि घाँटीमा गम्भीर समस्या देखिएका बोहोराको २०८१ चैत १९ मा निधन भएपछि रूपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गतेका लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकिसकेको छ । सोही उपनिर्वाचनमार्फत खाँण पुनः सक्रिय राजनीतिमा ‘कमब्याक’को खोजीमा लागेका हुन् । त्यसका लागि उनले सत्तारूढ दल एमालेसँग पनि सहयोगका लागि आग्रह गरिरहेको स्रोतको दाबी छ ।










