पोखरा। गण्डकी संसद्मा बजेट पुस्तिका च्यातिएको छ। आर्थिक वर्ष २०८२/८३को बजेट पुस्तिका सांसद रेशमबहादुर जुग्जालीले च्यातेका हुन्।
सोमबारको प्रदेश सभा बैठकमा बोल्न रोष्टममै उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए।

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले भौतिक मन्त्रालयको बजेट समन्यायिक नभएको आरोप लगाए। म्याग्दीलाई भौतिक पुर्वाधार मन्त्रालयले चालु वर्ष र आगामी आर्थिक वर्षको बजेटमा अन्याय गरेको उनले बताए।
‘मुख्यमन्त्री ज्यू त यसअघि म्याग्दी जिल्ला पुग्नुभएको छ। भौतिक पूर्वाधार मन्त्री घुम्नुभएको छैन, तपाईंलाई थाहा पनि छैन, होला,’ उनले भने, ‘म तपाईंलाई भन्न चाहन्छु म तपाईंलाई मेरो व्यक्तिगत पैसाबाट म्याग्दी जिल्लाको घुमाउन चाहन्छु।’
भौतिक पूर्वाधार मन्त्रीलाई बजेट नपुगेको भए आफ्नो र म्याग्दीकै अर्का सांसद हरि भण्डारीको भागमा परेको बजेट पनि काटेर लैजान उनको चेतावनी छ।










