काठमाडौँ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुन लागेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
नेकपा एमालेले भने सहमतिको आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएको छ । चार जनाले नै आफ्नो दाबेदारी नछाडेको खण्डमा भने मतदानमार्फत नेतृत्व चयन गरिने अध्यक्षका दाबेदार तथा हालका सचिव डाक्टर सुजन कडरियाले जानकारी दिए ।

३२ वर्षे उमेरहद लागू भएपछि पाँच जना सचिव मात्रै अध्यक्षका लागि दाबेदार मानिएका छन् । ती मध्ये आरती भट्टराईले महासचिवमा दाबी प्रस्तुत गरेकी छन् । हाल डा: कडरियासँगै प्रकाश पौडेल, दीपक धामी र अञ्जना सिवाकोटी अध्यक्षका आकाङ्क्षीका रूपमा अगाडि आएका हुन् । भट्टराईले सहमतिबाट नेतृत्व चयन हुने र आफू महासचिव बन्ने अवस्था आएमा पछि हट्ने बताउँदै आएकी हुन् ।
महाधिवेशनमा विधान संशोधन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा राजनीतिक प्रतिवेदन पेस गरिनेछ । यो पटक पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको छ । १९९ सदस्यीय केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाइनेछ । त्यस्तै १७ जना पदाधिकारी रहेकोमा ९ सदस्यीय बनाइने सचिव कडरियाले बताए ।










