लेखक : चन्द्र प्रकाश बानियाँ लेख्नुहुन्छ : भारतलाई रिझाउनसक्दा मात्र नेपालको विकास हुन्छ भनेर दिनरात हनुमान चालिसा जप्ने एकथरी विद्वान, बुद्धिजीवी र कुट्नीतिज्ञहरु देखिन्छन् ।
उनीहरुलाई लाग्दोरहेछ : भारतीयहरुसंग नेपालीको अनुहार मिल्छ, भाषा पनि झण्डै मिल्छ, रीति संस्कृति मिल्छन, धर्म पनि मिल्छ, अरु त अरु सांस्कृतिक क्यालेन्डर पनि मिल्छ, संवत् पनि उतैको चल्छ । रोटीबेटीको सम्बन्ध छ । यताबाट पानी जान्छ, उताबाट नुन आउँछ ।

त्यसैले उताकाले हामीलाई माया गर्छन् । आफ्नै ठानेर सघाउपघाउ गर्छन् ।यताका वामपन्थी र राष्ट्रवादीका चर्का कुराले उताकालाई रुष्ट बनाएको । बनाउँछ । नत्र नेपाललाई खुला दिलले स्वागत र सहयोग गर्न तत्पर हुन्छन् रे !!
अनुहार र धर्म संस्कृति मिलेकै भरमा उताकाको माया पाइने भए नेपाली मूलका भूटानीहरुप्रति भारतले किन रुखो व्यवहार गर्यो त ?!!
भूटानी नेपालीहरुको भाषा उस्तै थिएन ? अनुहार उस्तै थिएन ? संस्कृति उस्तै थिएन ? रीति पम्परा र चाड पर्वहरु उस्तै थिएनन् ए लम्फुहरु हो !!?
थिए भने आफ्नो मुठ्ठीको भूटानलाई भूमि र नागरिकताबाट उनीहरुलाई वेदखल नगर किन भनेन ? संसारभरका हिन्दूहरुलाई नागरिकता दिने कानुन पास गरेको भारतले भूटानबाट लगारिनेहरुलाई आफ्नो भूमिमा किन शरण दिएन ?!!
ए चाटुकार भाटहरु हो ! वैदेशिक सम्बन्धको सन्दर्भमा “छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी” भन्ने उखान लागू हुन्छ भन्ने कुरा तिम्रा बोधो दिमागमा कहिले छिर्छ ?!!
भारतले नेपालको भलाईको कुनै काम गर्छ भने आफ्नो स्वार्थका लागि गर्छ, केही पाउनका लागि गर्छ, नाफा कुम्ल्याउनका लागि गर्छ । हाम्रो अनुहार उनीहरुका लागि प्रिय छ भन्ने भ्रममा पर्नुभन्दा ठूलो मुर्खता अरु कुनै हुदैन है ! कुरो बुझिराख्नु देशहितमा हुनेछ । होइन र ?!!










