काठमाडौं । राजाबादी आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईंसँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा केन्द्रीय सीआईबीले बयान शुरु गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका प्रसाइलाई उच्च सरकारी वकिल कार्यालयमा झिकाएर सोमबार देखि बयान लिन सुरु भएको जनाएको छ ।

सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको ब्युरोका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएकाछन् ।
सीआईबीका अनुसार उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर, उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको छ ।
उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको बताइएको छ । अहिले यस सम्बन्धमा बैंकिङ कसुर मुद्दामा मात्रै अनुसन्धान भइरहेको र पछि सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।
चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनी केही साताअघि भारतबाट पक्राउ परेका थिए । राज्य विरूद्धको मुद्दामा पनि प्रसाइको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।










