खाेटाङ। बसाइँ सरेर गाउँ फर्किएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित आफ्नै गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ ।
अठार वर्ष पहिले वि.सं. २०६३ सालमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका बलार्दह बसाइँ गएका खड्का परिवारसहित बसाइसराइँको कागजातसहित पुनः आफ्नै गाउँ फर्किएर घर निर्माण शुरु गरेपछि गाउँपालिकाले उहाँको घरैमा लगेर प्रोत्साहन रकमको चेक प्रदान गरेको जानकारी प्राप्त भएको हो ।

आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिर्सन नसकेर बसाइँ गएको १८ वर्षपछि चारजनाको परिवारसहित बसाइँसराइको कागजात लिएर पुनः आफ्नै गाउँ फर्किएको खड्काले भनाई रहेको छ ।
गाउँ फर्किएलगत्तै परिवार बस्ने घर निर्माणको काम शुरु गर्नुका साथै बाँझो जग्गा खनजोत गरिरहेका खड्का परिवारलाई गाउँपालिका प्रमुख शालिकराम बञ्जराले वैशाख–४ गते बिहीबार निर्माणाधीन घरैमा लगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गर्नुभएको बराहपोखरी गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिनुभएको छ ।
यसअघि बसाई गएकाहरुका लागि पनि गाउँ फर्क अभियान चलाएका छौँ । भर्खरै आफ्नो जन्मभूमिलाई माया गरेर फर्किएका एक परिवारलाई प्रोत्साहनवापत रु एक लाख रकम उपलब्ध गराइएको छ । आगामी दिनमा यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजनामा रहेको गाउँपालिका प्रमुख बञ्जराको भनाई रहेको छ ।










