हिमांशु राय, मोरङ । मोरङ बेलबारीका साहित्यकार नवराज पोखरेल ‘नवशिला’ को मुक्तकसंग्रह ‘शिलाजित’ मोरङको बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा लोकार्पण भएको छ।
हामी र हाम्रो कृति समाज,काठमाडौंको आयोजनमा आयोजित लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार,भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने लगायतको बाहुली बाट उक्त मुक्तक संग्रह “शिलाजित” लोकार्पण भएको हो।
लोकार्पित कृतिमाथि नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष एवम् समीक्षक बाबुराम पोखरेल, लेखक तथा अनुसन्धाता केशु विरही र कवि रोहिणी रसिकले समीक्षा प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, वरिष्ठ साहित्यकार उपद्रष्टा हर्कमान तामाङ, बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भूपेन्द्रप्रसाद कोइराला, झोराहाट नाट्य समाजका अध्यक्ष एवम् कवि भरत गुरागाईं बर्बरिक, वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरे, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेती लगायतका विशिष्ट व्यक्तित्वहरूले साहित्यकार नवराज नवशिला को उत्तरोत्तर प्रगतिको कामना गर्दै लोकार्पित मुक्तकसंग्रह “सिलाजित”सफलताको शुभकामना ब्याक्त गर्नुभयो ।
कार्यक्रममा लेखककी ८४ वर्षीय मावलकी हजुरआमा मधुमाया भट्ट, बुवा लक्ष्मीप्रसाद पोखरेल, आमा दुर्गादेवी पोखरेल, सासुआमा कमला भण्डारी र ससुराबुबा झलकबहादुर भण्डारीलाई आयोजक संस्थाको तर्फबाट सम्मान गरिएको थियो ।

झापा,मोरङ, सुनसरी लगायतका स्थानबाट लेखक तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा साहित्यकारहरु श्रेष्ठ परिक्रमा, रमेन्द्र कोइराला, मञ्जुश्री गिरी, एकराज भट्टराई, मदन भण्डारी, प्रिन्स प्रमोद ढकाल, निकीशारानी पोखरेल, राधा भट्टराईलगायतले कार्यक्रममा रचनावाचन गरेका थिए।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रमको सञ्चालन मनको बहका प्रस्तोता निर्जल प्रशान्त लेखकको रहेको थियो ।
कार्यक्रममा स्रष्टाहरु भवानीप्रसाद पोखरेल, भुपाल अधिकारी, ऋषि तिवारी, सुजाता राई, सुन्दर भट्ट, तिला लेकाली, पुण्य चौलागाईं, पुरन याखा, कला ढकाल लगायत करिब १३५ जना साहित्यिक व्यक्तित्व श्रष्टा र सर्जकहरूको उपस्थिति रहेको थियो ।
स्रष्टा नवराज पोखरेल नवशिलाले मुक्तकलाई प्राथमिकतामा राखेर करिब करिब दुईदशक देखि साहित्यका विभिन्न विधा, कविता, गजल, कथा, लघुकथा, बालसाहित्यमा समेत कलम चलाउँदै आईरहेका छन् ।
बेलबारी वडा नम्वर-२, लालभित्ती, मोरङ स्थायी ठेगाना रहेका पोखरेलका यसअघि व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह) – २०८०,हामी र हाम्रो कृति (संयुक्त मुक्तकसङ्ग्रह) – २०८१, हामी र हाम्रो मुक्तकसङ्ग्रह (संयुक्त मुक्तकसङ्ग्रह) – २०८१ र नवशिला (मुक्तकसङ्ग्रह) लगायतका साहित्यिक संग्रहहरु प्रकाशित भइसकेका छन् ।










