by Dikendra
झापा । जसपा नेपाल कोशी प्रदेशका पूर्व अध्यक्ष एवं सामाजिक अभियान्ता प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
झापाको दमकमा भएको माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन उद्घाटन तथा खबरदारी सभामा दमक नगरपालिका विभिन्न वडाबाट सयौं नेता कार्यकर्ता प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा जसपाका दमक नगरका पूर्व अध्यक्ष खेम दाहाल, उपाध्यक्ष अनिल तामाङ, दीपक न्यौपान सहित पूर्व प्रदेश सदस्यहरु, याम लावतीसहितका जसपका विभिन्न तहका नेता कार्यकर्ता, एमाले पूर्वजिल्ला सदस्य मेघप्रसाद दाहालसहित दमक नगर सदस्यसहितका विभिन्न तहका नेता कार्यकर्ता, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला सदस्य गोविन्द भट्टराईसहितका नेता कार्यकर्ता, राप्रपाबाट इन्द्रबहादुर तामाङसहितका नेता कार्यकर्ता, कांग्रेसबाट राजेश ठकुरीसहित विभिन्न तहका नेता कार्यकर्ता, रास्वपाका प्रेमप्रसाद दाहाल सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी आन्दोलनको जगमा महिला, दलित, आदिवासी तथा समग्र पिछडीएका वर्गले समानुपातिक समावेशीताको आधारमा अधिकार पाएको र पहिचानको मुद्धा स्थापित गर्न महत्वपुर्ण भुमिका खेलेकाले आफुले माओवादी रोजेको प्रविन चाम्लिङले बताए । चाम्लिङ दमकका चर्चित पहिचानवादी नेता तथा सामाजसेविको रुपमा परिचित हुन ।
दमक नगरपालिका वडा नम्बर ४ बाट मात्रै १२९ जनासहित पाँच सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र दमक नगर समितिले जनाएको छ । उनिहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।










