जयवन्त शाह। भ्यालेन्टाइन्स डे फेब्रुअरी १४ मा मनाइन्छ, जसद्वारा सन्त भ्यालेन्टाइन (Saint Valentine) लाई सम्मान गरिन्छ । उनी एक ख्रीष्टियन शहीद थिए, जसलाई २६९ ईस्वीमा यही दिन राेममा टाउकाे काटेर मृत्युदण्ड दिइएको थियो । यसको वास्तविक उत्पत्ति स्पष्ट छैन, तर यससँग सम्बन्धित विभिन्न किंवदन्तीहरू छन् ।
• सन्त भ्यालेन्टाइन एक पादरी (Priest) र सुसमाचार प्रचारक(Evangelist) थिए, जसले राेमी सम्राट क्लाउडियस द्वितीय (Emperor Claudius II) को आदेशको अवज्ञा गर्दै गोप्य रूपमा रोमी सैनिक(सुरक्षाकर्मी)हरूको विवाह गराइरहेका थिए । जबकी त्यसबेलाकाे शाही हुकुमअनुसार त्यसाे गर्न-गराउन पाईदैनथ्याे । अर्थात सुरक्षाकर्मीहरुले प्रेम र विवाह गर्न पाउँदैनथे ।कडा प्रतिबन्ध थियाे ।
• राजकीय आदेशकाे अवहेलना गरेकाले उनलाई पक्राउ गरी यातना दिइयो ।
• जेलमा रहँदा उनले अन्य कैदीहरू र जेलरको दृष्टिबिहीन छोरी, जुलियाको प्रार्थनासहित हेरचाह गरे ।
• किंवदन्ती अनुसार, उनले जुलियालाई प्रार्थनाकाे शक्तिद्वारा दृष्टि फर्काइदिएका थिए, जसले गर्दा उनी(जेलर) र उनको परिवार इसाई बने ।
• सन्त भ्यालेन्टाइनलाई फेब्रुअरी १४, २६९ मा मृत्युदण्ड दिइयो । भनिन्छ, उनले नानी जुलियालाई बिदाइ पत्र लेखेका थिए, जसमा “तिम्रो भ्यालेन्टाइनबाट” (From your Valentine) लेखिएको थियो ।
• सन्त भ्यालेन्टाइनको शहादतपछि,लगभग २०० वर्ष पछाडि, सन् ४९६ मा पोप जेलासियस प्रथम (Pope Gelasius I) ले फेब्रुअरी १४ लाई सन्त भ्यालेन्टाइनको पर्व (Feast of Saint Valentine) को रूपमा मनाउने साँस्कृतिक घोषणा गरे ।
• राेमन क्याथोलिक चर्चले फेब्रुअरी महिनामा मनाइने एक पौराणिक प्रजनन (fertility) उत्सव हटाई, यसको सट्टा “भ्यालेन्टाइन्स डे” मनाउन थाल्यो ।

आजकल, “भ्यालेन्टाइन्स डे” शहादत,प्रेम र मित्रताको दिवस (Day of Martyrdom, Agape Love and Friendship) को रूपमा विश्वभर मनाइन्छ । सन्त भ्यालेन्टाईनकाे जन्म हालकाे युक्रेनकाे तेर्नी-दाेनेत्स्कमा भएकाे थियाे । उहाँ एक असल इसाई पादरी र सुसमाचार प्रचारक हुनुहुन्थ्याे । उहाँकाे जीवनकालमा उहाँले परमेश्वरसँग प्रार्थना गरेर धेरै राेगीहरु निकाे पार्नु भएकाे कथन छ । विशेष गरी छारे राेग लागेका र भूत-प्रेतहरुबाट सताईएकाहरुले चंगाई पाएकाे बारे पढ्न पाईन्छ । उहाँलाई राेममा ढुङ्गा हानेर पूरा अशक्त बनाए पछि शिर काटेर मृत्यु दण्ड दिईएकाे थियाे । उहाँकाे टाउकाेकाे हाड हालसम्म राेमकाे एउटा गिर्जाघरमा जतनसँग राखिएकाेछ र उहाँका अंग-प्रत्यङ्गहरुलाई उहाँका चेलाहरुले विभिन्न मुलुकहरुमा पुर्याएर गाडेका थिए । अनि तिनै स्थानहरुमा उहाँकाे सम्झनामा ऐतिहासिक गिर्जाघरहरु बनाएर,त्यहाँ उहाँकाे जीवनीका बारेमा लेखेर राखेकाे अहिले पनि पढ्न पाईन्छ । अष्ट्रियामा उहाँकाे नाममा एउटा शहर नै स्थापना गरिएकाेछ । अष्ट्रियाकाे राजधानी भियनाकाे केन्द्रमा उहाँकाे शरीरका धेरै हाडका अंशहरु गाडिएकाे ठाऊँमा भब्य गिर्जाघर स्थापना गरिएकाेछ । जहाँ १४ फरवरीमा उहाँलाई महत्वपूर्ण शहीदकाे रुपमा मानेर,विभिन्न कार्यक्रमहरु गरेर,महान संगीतकार माेजार्टकाे संगीतमा साँगीतिक तथा आत्मिकी कार्यक्रमहरु गरेर,भावपूर्ण हार्दिक शहादत दिवस मान्ने-मनाउने गर्दछन् ।
मूलत: ईटाली,अष्ट्रिया,फ्रान्स,स्वीट्जरल्याण्ड,जर्मनी,चेक गणतन्त्र, पाेलेण्ड तथा युक्रेनमा बच्चादेखि बुढाबुढीसम्मकाहरुले राष्ट्रिय पर्वका रुपमा महान शहीद सन्त भ्यालेन्टाईनलाई सम्झेर,उहाँका अविस्मरणीय याेगदानहरुकाे विवेचना गर्ने गर्दछन् । मानवाधिकारवादी शहीद स्व. सन्त भ्यालेन्टाइनप्रति हार्दिक श्रद्धा सुमन ।










