झापा । झापाको दमकमा विद्यालयस्तरका विद्यार्थीहरूका लागि यस वर्षदेखि रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुन लागेको छ। रोयल स्पोर्टिङ क्लब दमकले प्रथम रोयल स्कुलस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामार्फत विद्यार्थीहरूलाई सहभागी गराउने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबले माघ २९ गतेबाट प्रतियोगिता सुरु हुने जानकारी गराएको छ।
कार्यक्रमबारे क्लबका अध्यक्ष राजु खड्काले जानकारी दिँदै क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता समेत सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। दमकका निजी तथा आवासीय विद्यालय संगठन (प्याव्सन) मा आबद्ध विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने यस प्रतियोगितामा १० टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आयोजना गरिनेछ।

खेल तालिका सार्वजनिक गर्दै खेल संयोजक खगेन्द्र बजगाईंले पहिलो संस्करणको यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार टिमलाई अर्को वर्षको प्रतियोगितामा प्रवेश शुल्क नलिई खेलप्रति प्रोत्साहित गर्ने योजना रहेको बताउनुभयो।
प्रतियोगिताको उद्घाटन खेल इन्सपायर र सनराइज स्कुलबीच हुनेछ। साथै, पाथीभरा, मेची, हिमज्योति, सेन्कु, रोयट, अक्सफोर्ड, नेपाल-जापान, र एभरेस्ट बोर्डिङ स्कुलका टिमहरू सहभागी हुनेछन्।
प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार तथा म्यान अफ द सिरिजले ७ हजार नगदसहितको पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिता तीन वर्षे रनिङ शिल्डको रूपमा सञ्चालन हुनेछ।










