✏️कमला हेमचुरी । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलूक हो । विविधता यो देशको विशेषता हो । भौगोलिक एवं प्राकृतिकरुपले समेत यसको विविधतामा सुन्दरता थपेको छ । तथापि, राज्य सत्ता सताब्दीयौ देखि एक नश्ल, एक धर्म, एक भाषा र एक संस्कृतिको नियन्त्रणमा रहेको हुँदा यहाँको विविधताले फल्ने, फुल्ने र विकसित हुने अवसर पाएन ।
सबैखालका विविधता माथि दमन र उत्पीडिन हुँदै आएको छ । खासगरी अन्य भाषिक र धार्मिक सांस्कृतिक समुदायहरुमाथि राज्यको बक्रदृष्टि निरन्तर कायम हुँदै आएको छ ।
नेपालले अहिले सिद्धान्त एक्काइसौ सताब्दीको लोकतन्त्रको अभ्यास गरी रहेको छ । लोकतन्त्रको मूल्यमान्यतालाई संविधानले आत्मसात गरेको छ । संविधानको प्रस्तावना मै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र समाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निमार्ण गर्ने उल्लेख गरिएको छ । त्यस्तै भाग–१ को धारा ४ मा नेपाल राज्यः स्वतन्त्र, अविभाज्य, सावैभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर पनि उल्लेख गरिएको छ । तथापि यसको व्यवहारिक कार्यान्वय भने लगभग सुन्य छ भन्दा अतियुक्ति नहोला ।

संविधानले देशलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । तथापि यसको कार्यान्वयन पूर्णरुपमा हुन सकेको छैन । संविधान मै धर्मनिरपेक्षतालाई प्रतिबन्धात्मक वाक्यले नियन्त्रण गरिएकोले यसको कार्यान्वय हुन नसकेको हो । धर्मनिरपेक्षको स्पष्टीकरणमा धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक,सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ भन्ने उल्लेख गरिएकोले पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन् । यसको मतलब हो राज्यले सताब्दीयौं देखि मान्दै आएको गणतन्त्र र लोकतन्त्रको स्थापना पछि पनि पुनः शासक धर्मकोरुपमा स्थापित हिन्दु धर्मलाई परोक्षरुपमा संरक्षण गर्नु । यो व्यवहारत देखिएको पनि छ ।
धर्म संस्कृति जोगाउने नाउँमा, पर्यटन विकासको नाउँमा, विद्यालयमा, चोक, गल्लीमा, मूल सडकहरुमा देवी देवताका मन्दिरहरु स्थापना गर्नु, विद्यालयको पाठ्यपुस्तकहरुमा हिन्दु धर्म र वर्ण व्यवस्थालाई प्रोत्साहन गर्ने खालका पाठ्यक्रमहरु राखिनु, शिक्षकहरुलाई धार्मिक सहिष्णुता बारे बालबालिकालाई जानकारी दिनको लागि कुनै किसिमको प्रशिक्षण नदिइनु, हिन्दु इतर धर्मालम्बीहरु मथि सांघातिक आक्रमण गरिनु, चर्च, बुद्धका मूर्तीहरु भत्काइनु र यस्ता साम्प्रदायिक तत्वहरु माथि राज्यले कुनै किसिमको कारवाही नगर्नु यी सबै उदाहरणहरु राज्यले धर्मनिरपेक्षताको पूर्ण पालना नगरेको यथार्थलाई पुष्टि गर्ने आधारहरु हुन । यस्ता घटना परिघटना हुनुको मूल कारण भनेको राजनीति मार्फत राज्यमा एकल जातीय, धार्मिक, भाषिक समुदायहरुको अधिक पहुच र अन्य समुदायहरुको न्यून पहुच भएको कारणले गर्दा नै हो । राज्य एउटा यस्तो संस्था हो जसले शक्ति, सत्ता र श्रोतको परिचालन शक्तिको जगमा टेकेर गर्दछ । नेपालमा हिन्दु बाहेक अन्य धार्मिक सांस्कृतिक समुदायहरुको पहुच न्यून भएको कारणले गर्दा नै हिन्दु धर्म मान्ने भन्दा बाहिरका समुदायहरु माथि विविध खालको हिंसा भई रहेको छ । हुनत धेरै मधेशी, दलित जनताजातिहरुले आफूलाई हिन्दु मान्छन् । तथापि कथित उच्च जातका हिन्दुहरुले यीनीहरु मथि पनि विभेद गर्दछन् । इशाई, बौद्धमार्गी र मुस्लिमहरु माथि गर्ने विभेद त आफ्नो ठाउँमा छँदैछ । मधेशी, शिल्पी/दलित जनजातिहरु माथिको विभेद भनेको यीनीहरु पनि ऐतिहासिकरुपमा हिन्दु इतर धर्म संस्कृति र परम्परा मान्ने समुदायहरु भएकाले नै हो । जसलाई हिन्दुहरु शुद्र मान्छन् । र शुद्र ऐतिहासिकरुपमा हिन्दु अथवा ब्राह्मण धर्म मान्ने समुदाय होइन् ।
क्लष्टरको आधारमा जनसंख्यालाई हेर्दा खस आर्य २७.७४ प्रतिशत, जनजाति ३७ प्रतिशत, दलित १४.६ प्रतिशत, थारु ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत रहेको देखिन्छ । तथ्याङ्कमा विभिन्न धर्मालम्बीहरु जनसंख्या हेर्दा हिन्दु (ब्राह्मण धर्म) २ करोड ३६ लाख ७७ हजार ७४४ अथवा ८१.१९ प्रतिशत, बौद्ध ३९ लाख ३ हजार ५४९ वा ८.२ प्रतिशत, इस्लाम १४ लाख ८३ हजार ५४ जना वा ५.०३ प्रतिशत, किरात ९ लाख २४ हजार २०७ जना वा ३.१७ प्रतिशत, इशाईको ५ लाख १२ हजार ३१३ जना वा १.७ प्रतिशत र अन्य १ लाख ७३ हजार ७०२ अथवा ०.६५ प्रतिशत देखिन्छ । प्रतिनिधि सभामा विभिन्न जातजातिको पहिलो हुने निर्वाचन हुने र समानुपातिक प्रतिनिधित्व प्रणालीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्य संख्यालाई हेर्दा खस/आर्यको जनसंख्या २७.७४ प्रतिशत हो । उनीहरुको संसद संख्या १३० जना छन् यो भनेको ४७ प्रतिशत हो । त्यस्तै मधेशीको जनसंख्या १२.४६ हो भने उनीहरुको संसद संख्या ४४ जना छन्, यो भनेको १६ प्रतिशत हो । आदिवासी जनजातिको जनसंख्या ३४ प्रतिशत हो । उनीहरुको संसद संख्या ६६ जना छन् । यो ३०.८१ प्रतिशत हो । त्यस्तै थारुको जनसंख्या ६.६ प्रतिशत हो । उनीहरु १३ जना संसद छन् । यो भनेको ४.७३ प्रतिशत हो । मुस्लिम ४.४ प्रतिशत हुन् । उनीहरुको संसद संख्या ६ जना हो । यो भनेको २.१८ प्रतिशत हो । दलितको जनसंख्या १४.८ प्रतिशत हो, जसको संसद संख्या १६जना छन्, यो भनेको २.८ प्रतिशत हो ।
माथि उल्लेखित तथ्याङ्कले नेपालमा विभिन्न धार्मिक समुदायहरु तथा क्लस्टरको आधारमा तथा उनीहरुको केन्द्रिय स्तरमा राजनीतिक प्रतिनिधित्वको बारेमा जानकारी दिन्छ । तथ्याङ्कले के स्पष्ट पार्छ भने अहिले पनि धार्मिक समुदाय वा जनसंख्याको हिसाबले खस आर्य हरेक क्षेत्रमा बोलवाला छ । यहाँ मैले उनीहरुको राजनीतिक प्रतिनिधित्व त्यो पनि प्रतिनिधि सभाको मात्र तथ्याङ्क प्रस्तुत गरेको छु र प्रदेश र स्थानीयस्तरमा पनि राजनीतिक प्रतिनिधित्वमा केन्द्र भन्दा खासै अन्तर छैन् । आवश्यकता परेमा त्यस बारेमा पनि बहस छलफल गर्न सकिन्छ । आर्थिक,शैक्षिक र सामाजिक क्षेत्रहरुमा पनि स्थिति उस्तै हो । यो तस्वीरले नेपालको चाहे त्यो धार्मिक समुदायहरु हुन या सिमान्तकृत ती सबैको यथार्थ चित्रित गर्दछ । यसमा इसाइको तथ्याङ्कगत हिसाबले राजनीतिक प्रतिनिधित्व कति छ भने प्रस्तुत गर्न सक्ने तथ्याङ्क उपलब्ध नभएकाले प्रस्तुत गर्न सकिएन ।
तथापि क्लष्टरको हिसाब जे जस्तो प्रतिनिधित्व देखिएको छ ; लगभग त्यही तथ्याङ्क इसाईहरुमा पनि लागु हुन्छ । उनीहरुको उपस्थिति नगण्य छ । किनभने नीति निमार्ण गर्ने, ऐन कानुन बनाउने तहमा, कार्य योजना बनाउने र कार्यान्वय गर्ने, बजेट छुुट्याउने र खर्च गर्ने तहमा प्रतिनिधित्व नभएकै कारणले गर्दा इसाईहरु यो देशका नागरिक भएर पनि एउटा चिहान समेत पाउन नसकेको अवस्था छ । उनीहरुले धेरै समस्याहरु भोगी रहन परेको छ ।
नेपालमा सतहमा हेर्दा नेपाल लोकतान्त्रिक देश जस्तो देखिन्छ । र अभ्यास पनि केही हदसम्म भएको छ । तथापि, यो अहिले पनि विगतमा जस्तै एकात्मक धार्मिक राज्य नै हो । विगतमा तरवार र बन्दुकको भरमा राज्यले धर्मकै नाममा राजनीति गरेको हो । र त्यही कारणले गर्दा राजनीतिक परिवर्तनका बाबजुद त्यो मानसिकताबाट राज्य सत्तामा लामो समय देखि हाली मुहाली गर्ने वर्ग बाहिर आउन सकेको छैन । यसको प्रतिबिम्ब देशको संविधान र कानुनमा पनि देखिन्छ । राज्यको कुनै पनि निकाय हिजोको संरचनागत मनोविज्ञानबाट बाहिर आउन सकेको छैन् ।
लोकतान्त्रिक, धर्म निरपेक्ष राष्टू भनिएता पनि राज्यको संरचनागत परिवर्तन देखिदैन् । अन्य धार्मिक र सिमान्तकृत समुदायहरुलाई राज्यमा पहुच भएका वर्गले गर्ने व्यवहार उस्तै छ । कम्निष्ट, कांग्रेस, एमाले माओवादी भनेता पनि राजनीतिको मूलाधार भनेको धर्म नै भएको छ । त्यसैले उनीहरुले राजनीतिकरुपमा बोकेको विचार दर्शन सिद्धान्तलाई तिलान्जली दिएर यथास्थिति कै बाटोमा हिडी रहेका छन् । यदि त्यसो नभइदिएको भए देशको विविधता र विशेषतालाई सम्बोधन गर्ने तरिकाले अगाडि बढ्ने थिए ।
नेपालमा धर्मको प्रभाव अप्रत्यक्षरुपमा भएको भएता पनि राजनीतिमा धर्मको प्रभाव कति हुन्छ भन्ने यथार्थलाई बुझ्न हामी धेरै टाढा जानु पर्दैन भारतको मात्र राजनीतिक परिवेशलाई बुझे पनि हुन्छ । भारतीय जनता पार्टीले अहिले सत्ताको परिचालन धर्म कै नाउमा गरेको छ । अन्य शक्तिशाली र विकसित राष्टूहरुले पनि धार्मिक सिद्धान्तलाई आफ्नो मानवीय तथा भौतिक विकासको आधार बनाएका छन् । चीन जस्तो कम्युनिष्ट देश सतहमा हेर्दा पूर्ण भौतिकवादी देखिएता पनि त्यहाँको विकासमा बुद्ध र कन्फ्युससको दर्शनको ठूलो प्रभाव छ । अमेरिका बनाउने प्रोटेस्टेन्टहरु हुन । स्वीट्जरल्याण्ड जस्तो संसारकै सबैभन्दा शान्तिपृय र विकसित राष्ट्रमा इसाई धर्मको ठूलो प्रभाव छ । पूर्वी एशियाहरुका देशमा बुद्धिजमको निकै ठूलो प्रभाव छ । यूरोपबाट धर्म र राज्यको सम्बन्ध सोह्राेैसताब्दी देखि तोडिएको भएता पनि राजनीतिमा यसको प्रभाव कम भएको छैन् ।
त्यसैले नेपाल यसबाट अलग हुन सक्दैन् । नेपालको राजनीतिमा पनि शासकहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा धर्म कै आडमा राजनीति गरेका छन् । यहाँ पनि हिन्दु धर्म राज्य कै आडमा शक्तिशाली भएको हो र धर्मकै आडमा खस आर्यहरु शक्तिशाली भएका हुन । र यही कारणले गर्दा हिन्दु धर्म मान्ने खस आर्यहरु शत्तामा टिकी रहेका छन् । किनभने यीनीहरु नै हिन्दु धर्मका प्रमुख संरक्षक हुन । अरुलाई आफ्नो अनुकूलको हिन्दु बनाएर उपयोग मात्र गरेका हुन । धर्म कै नाममा राजनीति गरेका कारणले गर्दा नै राजनीतिक, आर्थिकरुपमा खस आर्यहरु शक्तिशाली भएका छन् । त्यसैले उनीहरु आफ्नो धर्मको नाममा राजनैतिक सत्तालाई जोगाउन चाहन्छन् ।
यहाँ अन्य धार्मिक समुदाय र सिमान्तकृत समुदायहरुले के बुझ्न जरुरी छ भने राज्य समाजको बीचमा अन्तरंग सम्बन्ध हुन्छ र त्यो सम्बन्ध विभिन्न तरिकाले स्थापित भएको हुन्छ । धर्म एउटा यस्तो शक्तिशाली सत्ता हो जसले समाजलाई आफ्नो अनुकूल डो¥याउन सक्षम हुन्छ । शक्तिशाली वर्गहरुले यही यथार्थलाई बुझेर नै धर्मको आडमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यसको जगमा टेकेर राजनीति गरेका हुन्छ । नेपालका धार्मिक अल्पसंख्यक र सिमान्तकृत वर्गहरुले पनि यो कटु सत्यलाई बुझेर धर्मको सही अर्थ र उपयोगलाई बुझेर राजनीति गर्न जरुरी छ । खस आर्यहरु र अन्य धार्मिक समुदायहरु माथि किन उत्पीडन र अत्याचार गर्छन् भन्ने अन्तरनीहित पाटो भनेको यही हो । उनीहरुलाई शक्तिशाली बनाउने भनेकै धार्मिक सामाजिक सम्बन्ध हो ।
तर नेपालमा अन्य धार्मिक तथा सिमान्तकृत समुदायले धर्मको यो शक्तिको पाटोलाई परिचालन गर्न सकेको देखिदैन । परिणाम आज उनीहरु उत्पीडन र सिमान्तकृत भएर बस्नु पर्ने बाध्यात्मक परिस्थिति निमार्ण भएको छ । भारतका संविधानका लेखक,मूलबासीहरुका मुक्तिदाता डा. भीमराव अम्बेडकर लेख्नु हुन्छ, “यस्तो प्रस्तावको समर्थनमा सामाजिक र धार्मिक समस्याहरुको राजनीतिक संविधानमा प्रभाव पर्दछ ।” मैले जुन उदाहरणहरुलाई यहाँ प्रस्तुत गरे, त्यो अधिक विस्तृत प्रतित हुन्छ । म बुझ्छु यस्तै हुन्छ ।
तर के मान्न हुँदैन भने एउटाको अर्कोमा प्रभाव सिमित हुन्छ । अर्को तर्फ के भन्न सकिन्छ भने इतिहासले सामान्यतःयस्तो प्रस्तावमा बल दिन्छ, राजनैतिक क्रान्ति जहिले पनि सामाजिक र धार्मिक क्रान्ति पछि भएको छ । लुथरले सुरु गरेको धार्मिक सुधार युरोपका जनताहरुको लागि राजनीतिक मुक्तिको आधार थियो । बेलायतमा प्यूरिथनवादको कारण राजनीतिक स्वतन्त्राको स्थापना भयो । प्यूरिटनवादले नया विश्वको स्थापना गर्यो ।
प्यूरिटानवादले नै अमेरिकी स्वतन्त्रता संग्रामलाई जित्यो । प्यूरिटानवाद एउटा धार्मिक आन्दोलन थियो । यही कुरा मुस्लिम साम्राज्यको सम्बन्धमा पनि सत्य हो । अरबीहरुको राजनीतिक सत्ता बन्नु भन्दा अगाडि उनीहरु पैगम्बर मुहम्मदद्धारा आरम्भ सम्पूर्ण धार्मिक क्रान्तिबाट गुज्रेका थिए । यतिसम्म कि भारतीय इतिहास पनि यसै निष्कर्षको समर्थन गर्दछ । चन्द्र गुप्तद्धारा संचालित राजनैतिक क्रान्ति भन्दा पहिला बुद्धको धार्मिक र सामाजिक क्रान्ति भएको थियो । शिवाजीको नेतृत्वमा भएको राजनीतिक क्रान्ति पनि महाराष्ट्रका जनताले गरेको धार्मिक र सामाजिक सुधार पछि भएको थियो । सिखहरुले गरेको राजनैतिक क्रान्ति भन्दा पहिला गुरुनानकले धार्मिक र सास्कृतिक क्रान्ति गरेका थिए । यहाँ अन्य धेरै दृष्टान्तहरु दिन आवश्यक छैन् । यी दृष्टान्तहरुबाट के स्पष्ट हुन्छ भने मस्तिष्क र मनको मुक्ति जनताको राजनैतिक चेतना विस्तारको लागि पहिलो आवश्यकता हो । त्यसैले नेपाली शासकहरुको मस्तिष्कलाई परिवर्तन गराउनका लागि जनताले रुढीवादी धर्म संस्कारमा परिवर्तन गर्न जरुरी छ । जनताले त्यो निर्णय चाँडो गर्नुपर्छ ।










