By Dikendra
झापा । झापाको दमक वडा नं. ९ का स्थानीय बासी तथा समाजसेवी मन्दरा पौडेलले आफ्नो स्वर्गीय छोराको नाममा दमक बहुमुखी क्याम्पसलाई २ लाख ५१ हजार चेक हस्तान्तरण गर्नु भएको छ। यस रकमको उपयोग क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गर्न गरिनेछ।

सो रकम क्याम्पस व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारी, क्याम्पस प्रमुख यज्ञराज गिरि, प्रध्यापक राधिका ओझा र संचालक समिति सदस्य मोहन कुमार धिमालको उपस्थितिमा हस्तान्तरण गरिएको हो। यस पहलले क्याम्पसका विद्यार्थीहरूलाई शैक्षिक अवसरहरूमा सहयोग पुर्याउनेछ र समाजको विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।
क्याम्पस प्रमुख यज्ञराज गिरिले मन्दरा पौडेलको योगदानलाई उच्च प्रशंसा गर्दै यसले क्याम्पसका विद्यार्थीहरूको शैक्षिक स्तरमा सुधार ल्याउने र भविष्यमा थप अवसरहरूको सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यो योगदानले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई थप उत्साह र समर्थन दिनेछ।”
संचालक समिति अध्यक्ष भण्डारीले पनि यस पहललाई प्रेरणादायक भन्दै समाजका अन्य व्यक्तिहरूलाई यस्ता कार्यमा भाग लिन आह्वान गरे।
यस अवसरमा प्रध्यापक राधिका ओझाले क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गर्ने निर्णयलाई महत्त्वपूर्ण कदम मान्दै विद्यार्थीहरूको भविष्य उज्जवल बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिन्।










