काठमाडौं ।कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार हवाई मार्गबाट भैरहवा ल्याएर जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेमाथि सहकारीको बचत अपचलन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो भने, उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ ।
बुटवल उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएको देखिएको छ । २ करोड ऋणमध्ये संस्थाबाट सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा लगिएको थियो । १ करोड रुपैयाँ छुट्टै ऋण भने लामिछाने र रोशनी गुरुङका नामबाट ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको थियो । ऋण लगिएका बेला लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए । यही विषयमा अनुसन्धान गर्न उनलाई भैरहवा ल्याइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित अन्य अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका थिए । स्रोतका अनुसार अनुसन्धान अधिकारीहरूले लामिछानेका नामबाट गोर्खा मिडियामा गएको ऋण, रकम जम्मा गरेको भौचर र सुप्रिमबाट अन्य विभिन्न व्यक्ति र संस्थागत रूपमा गोर्खा मिडियामा गएको रकमको विषयमा केन्द्रित रहेर प्रश्न सोधेका थिए । तर अधिकांश प्रश्नको जवाफमा लामिछानेले आफ्नो अनभिज्ञता प्रकट गरेका थिए ।
‘सुप्रिमबाट गोर्खा मिडियामा रकम जम्मा भएको विषय आफूलाई जानकारी नभएको र रकम जम्मा गर्ने व्यक्ति पनि आफूले नचिनेको उहाँको जवाफ छ,’ स्रोतले भन्यो, ‘सबै काम जीबी राईमार्फत नै भएकाले उनी पक्राउ परेमा सबै खुल्छ भन्ने जवाफ आयो ।’










