बिपुल बिक्रम ” खस ” नजिकको आफन्तको मृत्यु त अति पीडादायक हुन्छ भने आफ्नै पती, पत्नी, आमा, बुबा, पुत्र या पुत्रीको मृत्युमा झनै शोकाकूल भईन्छ । अझ कतिपय मानिसहरू मानसिक कमजोरीका कारण बिक्षिप्त समेत हुन पुग्दछन् । यस अवस्थामा मानिसमा मसान वैराग्य जाग्दछ, संसार निसार लाग्दछ र हरेक कुराबाट मोह समाप्त हुन्छ । शोकाकूल हृदयले केवल मृतकलाई मात्र सम्झन्छ । र यसै बेला गरुड पुराण सुनाइन्छ, पाप धर्मको ब्याख्या गरिन्छ, दानको महिमा सुनाएर अवचेतन अवस्थामा पुगेकाहरूलाई सक्दो दान गर्न परोक्ष रूपमा उक्साइन्छ ।
गरुड पुराण, जसकाे प्रेत कल्प कसैकाे मृत्यु हुँदा भन्ने गरिन्छ, एक कर्मकाण्ड शास्त्र मात्र हो यसमा कुनै दर्शन छैन, कुनै सत्यता छैन, केवल मानिसलाई मृत्युको भय देखाएर बिभिन्न लोक, परलोक, अवस्था, दुखकष्ट आदिको ब्याख्या गरेर अन्धविश्वासलाई अझ गहिरो बनाइन्छ र शोकले अवचेतन अवस्थामा पुगेका अन्धविश्वासीहरूलाई दानको महिमा वर्णन गरेर परोक्ष रूपमा दान गर्न लगाईन्छ ।

ऋषि व्यासले वेदसँग बाझेका हरेक कुरा मिथ्या हुन् भनेका छन् । वेदमा उल्लेख नभएको आत्मा सम्बन्धी कुरा उपनिषदले सुरु गर्यो । तर गरुड पुराणले त्यसलाई पनि काटेर शरीरको शुक्ष्म रूपको अतिसयोक्तिपूर्ण वर्णन यसरी गरेको छ, जुन सुन्दैमा हाँस्याश्पद लाग्छ । गीता भन्छ, शरीर र आत्मा दुई फरक तत्त्व हुन्, शरीर नाशवान छ आत्मा अविनासी । मानिस मरेमा आत्माले शरिर छाड्छ र शरीर जलाईन्छ या गाडिन्छ । यदि आत्मा अमर छ र शरीरको मृत्यु पश्चात् परमात्मामा मिल्छ र देह जलाईन्छ या गाडिन्छ भने फेरि शुक्ष्म शरीर, जसलाई प्रेत भनिन्छ, कहाँबाट उत्पन्न हुन्छ ? शरिरबाट कि आत्माबाट ? काल्पनिक प्रेतकाे ब्याख्याले आत्मा र शरीरकाे गीता दर्शन इतर भएकाेले याे स्वतः झुठाे प्रमाणित हुन्छ ।पुराणकाे प्रेत कल्पमा पहिलो हाँस्यास्पद कुरा नै यही छ । आत्मा सम्बन्धी दर्शन र ब्याख्याकाे ठाडै खिल्ली उडाएकाे छ पुराणले ।
गरुड पुराणमा १६ अध्याय छन् । यसका हरेक अध्यायमा मृत्यु पछिको मानिसको कथित यमलोक यात्राको यस्तो हास्यास्पद विवरण छ मानौ लेख्ने व्यक्ति सयौँ पटक त्यो बाटोको यात्रा गरेर आए जस्तो गरेर लेखिएको छ । आरम्भका अध्यायहरूमा पाप, र पापीलाई दिने यातनाहरूको तरिकाहरू, देवीदेवताहरू, पूजारी र पुरुषको महत्त्व दर्शाइएको छ भने अन्तिम अध्यायहरूमा बिभिन्न किसिमका दानहरूको र तिनका महत्वको बारेमा लेखेर दानका कारण पापबाट मुक्तिको कुरा गरिएको छ । मृत्युपछि कथित यमदूतले मृतकलाई उनिहरूको पापको सजायँ दिन्छन् भन्ने आम धारणालाई गरुड पुराणको अन्तिम अध्यायहरूमा यसमा वर्णित तरिकाले दान गरेमा मनुष्य पापबाट मुक्त हुन्छ भनिएको छ । अर्थात् ब्राम्हणलाई दान गर भनिएको छ । यहाँ प्रश्न उब्जन्छ, दान दिन नसक्ने निर्धनकाे मुक्ति हुँदैन ? के दान लिने सुपात्र ब्राम्हण मात्र हुन् ? के अरूलाई दान दिएमा पाप मोचन हुँदैन ? यस प्रश्नमा भने पुराण मौन बसेर केवल ब्राम्हणलाई मात्र दान लिने हकदार भन्दछ । पुराणमा दान गर्न भनिएका सामानहरू नभएको खण्डमा बालुवालाई नै विधि बनाएर दान गर्न सकिन्छ पनि भनिएको छ । स्वस्थानीमा चन्द्रावतीले बालुवाकै विधिबाट कुष्ठ मोचन भएको कुरा यहाँ स्मरण हुन आउँछ । अर्थात् बालुवाकै विधि गरेर भए पनि दान चैँ गर्नै पर्ने भनिएको छ । शोकको पराकाष्ठा, अवचेतन मन र आफन्तको परलोक सुधारको लागि मानिसले सोचेर बालुवाको विधिले दान गर्दैनन् भन्नेमा पण्डितजी ढुक्क छन् !
अन्ध विस्वासकाे पराकाष्ठा :
गरुड पुराणमा पापीको प्राण गुदा, लिङ्गबाट र धर्मात्माको प्राण मुख, आँखा, निधार या तालु फुटेर हुन्छ भनि यसरी भनिएको छ मानौँ प्राण या आत्मा निस्किएको प्रतक्ष आँखाले देख्न सकिन्छ । मृत्यु पश्चात् प्रेत भनिने शरिर बुढी औंला जत्रो हुन्छ र जीवनमा गरेको पापका आधारमा यमलोकको यात्रामा देखा पर्ने डरलाग्दा दूतहरूले दिने सजायँको वर्णनले मुटु काँप्छ तर त्यो बुढी औँला जत्रो प्रेत भने त्यति सबै सजायँपछि पनि नमरेकोमा भने आश्चर्य लाग्छ । साँपले डस्दा पनि नमर्ने, तातो तेलमा डुबाउँदा पनि केही नहुने त्यो प्रेतलाई जति सुकै सजायँ दिए पनि के फरक पर्छ र ! आखिर कल्पना न हो !
सती नजाने पत्नीहरूलाई नरक भोग हुन्छ भनेर लेखिएको गरुड पुराणले एकातिर नारीहरूलाई सती हुन अघोषित रूपमा वाध्य पारिरहेको छ भने वेद पढने या गाईको दूध खाने शुद्रहरूलाई दिइने सजायँको वर्णनले पनि निकै ठूलो बिभेद देखाउँछ । अर्थात् पति मरेका नारी सती जानै पर्छ र शुद्रहरू सदैव नर्कमा नै पर्दछन् भन्ने कुरा देखाउँछ ।
मसिक, त्रैमासिक, अर्धवार्षिक र बार्षिक रूपमा गरिनु पर्ने दान, दान गर्नुपर्ने सामानहरूको सुची र ब्राम्हणहरूलाई सबै जातीभन्दा उच्च राखेर दानको हकदार देखाइएको गरुड पुराण वास्तवमा समय सापेक्ष छैन । यस पुराणलाई घरमा राख्न हुन्न भन्ने मान्यता या अन्धविश्वास पनि जनमानसमा उत्तिकै छ । शोकाकूल अवस्थामा पाप धर्म र मुक्तिको मात्र ध्यान हुन्छ तर सामान्य अवस्थामा मानिसले गरुड पुराण पढेमा यसका विसंगती अवगत हुन्छ भनेर नै यो मान्यता फैलाईएको हो ।
* पुराण भन्ने बाजेकाे दिनकाे १५००-२००० रेट छ, मतलब अशाैचमा बसेकालाई दैनिक १५००-२००० रेट्नु हुन्छ, किन भने दानकाे महिमा जति सुनाए पनि पुराण भन्नेलाई बिटुलाे मानिन्छ र दान भने अर्का पण्डितले लिन्छन् ।










