✏️गिदाेन लामिछाने, नेपालीमा एउटा भनाई छ, ‘मिहेनतीको भागमा माछा र मासु, अल्छेको भागमा आँसु नै आँसु ।’ ‘नेपाल अब सकियो, केहि काम छैन, नेताले देश विगारे, नेपालमा युवाको भविष्य छैन’ आदि इत्यादि भाष्य सृजना गरेर साच्चिकै नेपाल काम नलाग्ने देश बन्दैछ र अब युवाहरुले आफ्नो भविष्य निर्माणका लागि विदेश जानु नै विकल्प भएको भन्न थालिएको छ ।
यदि यसरी नै कामको खोजीमा भविष्य राम्रो बनाउने भन्दै सबै जनशक्ति विदेश पलायन हुने हो भने नेपालको वर्तमान भन्दा भविष्य निकै डरलाग्दो देखिँदैछ । पढेको वा नपढेको, छोरा वा छोरी सबै विदेश जानु नै सुन्दर भविष्य हो भन्ने मान्यता स्थापित हुन थालेको छ यो खतराको विषय हो । किनभने देशको जनशक्ति विदेशमा पलायन हुनु र अझ उतैतिर नागरिकता लिएर विदेशी बन्नु भनेको दिनप्रतिदिन देश, राष्ट्रिय कमजोर बन्नु हो ।

” विदेशको कमाईले नेपाल बन्दैन । केही आर्थिक अवस्थामा सुधार आए पनि यसले सामाजिक तथा जैविक विकासमा नकरात्मक असर पारिरहेको छ । त्यसैले देशको जनशक्ति देशभित्रै खपत गर्न गराउन मिहेनती बनौं । “
विदेशमा पैसाको रुख हुने होइन । नेपालबाट विदेश गएकाहरुले बोटबाट पैसा टिपेर नेपालमा पठाउने होइनन् तर विदेशमा काम, समय र पैसा सबै बुझिएको हुन्छ । नेपालमा बस्ने युवाहरु रातभरी मोबाइलमा व्यस्त हुन्छन्, विहान १० बजेसम्म सुत्छन् र दिनभरी आङ तान्दै कता मिठो मसिनो पाक्छ भनेर डुलि हिड्ने गर्छन् । भेटेसम्म सित्तैमा खान खोज्छन् र सित्तैमा लाउन खोज्छन् । भुईमा निहुरिन चाहँदैनन् ।
त्यसैले नेपालमा युवाहरु आफ्नो भविष्य देख्दैनन् । बरु साहुंको महंगो व्याजमा ऋण काडेर विदेश जान तयार हुन्छन् । उनीहरु विदेशमा पुगेपछि जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् । उनीहरुले आफ्नो देशमा घर परिवारमा लुगाधुन, भाडा माझ्न र कुचो लगाउन पनि जान्दैनन् तर विदेशीका हर सेवा गर्न तयार हुन्छन् । यसले के स्पष्ट गराउँछ भने नेपालीहरु अल्छे बन्दैछन् ।
विहान कम्तिमा ५ बजे उठेर बेलुका ७ बजेसम्म नेपालमा परिश्रम गर्ने मानिसले उन्नती प्रगति गर्न सक्छ । प्रविधिको सदुपयोग गरेमा नेपालमा ८ घण्टा काम गरे अरु १६ घण्टा आरामले जीवन जिउन सक्छ । स–साना लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ । नेपालमा एक जना काम गर्ने अनि ५ जना बसेर खाने संस्कार छ त्यो सबैभन्दा खत्तम संस्कार हो । सबैले आफुले सकेसम्मको काम गर्नुपर्छ । अरुसँग आसा गर्नुभन्दा आफ्नो लागि आफै काम गरेर खाने हुनुपर्छ । अशक्तहरुको हकमा नभए पनि सामान्य जीवन अवस्था भएकाहरुले आफुलाई ठिक ढंगले परिचालन गरेमात्र नेपाल सुन्दर छ ।
यहाँको जैविक, भौगोलिक तथा सांस्कृतिक विविधता ठूलो सम्पत्ति हो। यो सम्पत्तिलाई प्रयोग गर्न सके नेपाल संसारका अन्य धनि देशहरुसँग प्रतिष्पर्धा गर्न सक्छ । आफ्नो स्रोत साधन विदेशीले कौडीको भाउमा लाने र विदेशीका सरसमान बहुमुल्य हालेर खरिद गर्नाले नेपालको सबै पूँजी आखिर विदेशमा नै जाने हो ।
विदेशको कमाईले नेपाल बन्दैन । केही आर्थिक अवस्थामा सुधार आए पनि यसले सामाजिक तथा जैविक विकासमा नकरात्मक असर पारिरहेको छ । त्यसैले देशको जनशक्ति देशभित्रै खपत गर्न गराउन मिहेनती बनौं । अरुलाई दोषी देखाएर भविष्य नविगारौं, आफ्नो भविष्य आफै बनाउने हो, सँधै मिहेनत गरौं ।










