डिकेन्द्र बस्नेत, झापा । बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा नामक पुस्तक दमक ५ स्थित दिपिनी आधारभूत बिद्यालयको सभाहलमा लोकार्पण गरिएको छ ।
झापा गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका स्थायी बासिन्दा पूर्व शिक्षक ८७ बर्षिय स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित सो पुस्तक दमकमा आयोजित औपचारिक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

झापा क्षेत्र नं ४ (क) कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३०० पृष्ठको सो पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रमको अध्यक्षता गौरीगञ्ज १ महाभारास्थित बाल कल्याण माविको व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीले गरेका थिए ।
बाल कल्याण मावि अन्तर्गत रहने गरी सामाजिक संस्थाका रुपमा स्थापना भएको विश्वप्रसाद अधिकारी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी खनाल, विशिष्ट अतिथी गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति समेत रहेका स्रष्टा एवं कवि प्रकाश बुढथोकी, कमला मदन आश्रिम माविका प्रधानाध्यापक हेम दाहाल, दिपिनी आधारभूतका प्रधानाध्यापक शेषकुमार निरौला, कृतिकार अधिकारी र उनकी धर्मपत्नी विमला अधिकारी लगायत स्रष्टाहरुले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रमका वक्ताहरुले कृतिकारले सामाजिक, शैक्षिक जगतमा आफ्नो जिवन भोगाइका अनुभवहरु र प्राप्त उपलब्धि एवं सामाजिक योगदानका बिषयलाई समेटेर प्रकाशनमा ल्याएको सो कृति समाजका नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्ने चर्चा गरे ।
सो अवसरमा कृतिकार अधिकारीले आफ्नो पारिवारिक पृष्ठभुमीबारे समेत जानकारी गराउँदै आफ्नो जिवनकालको अन्तिम कृतिका रुपमा भोजपुरदेखि झापा सम्मको संस्मरण यात्रा पुस्तकलाई लिइदिन आग्रह गरे । ज्येष्ठ नागरिक जिल्ला संघ गौरीगञ्जको अध्यक्ष समेत भइसकेका उनको कृति लोकार्पणमा झापादेखि भोजपुर सम्मका स्रष्टाहरु एवं साहित्यीक व्यक्तित्वहरुको उपस्थिती थियो ।
कार्यक्रममा बालकल्याणका प्रधानाध्यापक एवं प्रतिष्ठानका सचिव भिमप्रसाद कोइरालाले स्वागतसहित औचित्यबारे प्रष्ट्याएका थिए भने सञ्चालन स्रष्टा विवश बलिभद्र कोइरालाले गरेका थिए ।










