✒️ गिदाेन लामिछाने ” तारा ”
हाम्रो नेपाली समाज आजको २१ औं शताब्दीमा आइपुग्दा पनि व्यवहारिक र व्यवसायिक बन्न सकेका छैनौं । अव्यवहारिक र निर्वाहमुखी हाम्रो परम्परा, संस्कार र काम व्यवहारले हामी स्वयम्लाई पछाडी पारेको हो । त्यसका लागि हामीमा सोंचको विकास हुन आवश्यक छ । जे छ, ठिकै छ भन्ने भावना, सोंच र बिचारबाट माथि उठेर अब मेरो देश बनाउन मैले योगदान दिनुपर्छ भन्ने भावना विकास गर्नुपर्छ । जब मनमनमा देशप्रतिको प्रेम बढ्यो भने देशको विकास हुन समय लाग्दैन ।
तर परम्परा, धर्म, संस्कार, संस्कृति आदिका नाममा पछौटे सोंच, प्रतिगामी व्यवहार जारी राख्ने हो भने अझै पनि धेरै वर्ष नेपाल अविकसित रहनेछ । हामीले गर्ने काम, पेशा तथा सेवाका कार्यहरु पूर्णतः व्यवहारिक हुनुपर्छ । विद्यालयमा शिक्षा सिक्दा काम लाग्ने हुनुपर्छ । विश्वविद्यालय पढिसकेपछि कुनै एक पेशामा दक्षता हासिल गर्नुपर्छ । जतिसुकै पढेपनि कर्मकाण्डी र पाखण्डीहरुको भट्टीका रुपमा विश्वविद्यालयलाई विकास गर्नु हु“दैन । विद्धान भनेको दक्ष जनशक्ति हुनुपर्छ । त्यसैले अबको घरघरको शिक्षा, समाजको शिक्षा र राष्ट्रिय शिक्षा देश बनाउन केन्द्रीत हुनुपर्छ । देश बनाउने भनेको भूगोल बढाउने भनेर बुझ्नु हुदैन । देश बनाउने भनेको नेपाली जनतालाई सुख, शान्ति र समृद्धिमा बलियो बनाउने भन्ने हो । त्यसका लागि भौतिक तथा सामाजिक सबैखाले विकासको आवश्यकता पर्दछ । त्यस्ता आवश्यकता पुरा गर्ने कार्यहरु नै व्यवहारिक र व्यवसायिक कदम हुन् ।

नेपालमा कृषि पेशा आज पनि मुख्य पेशा नै हो । त्यसपछिको जनशक्ति बैदेशिक रोजगारीमा लागेको छ भने अन्यको पेशा व्यवसाय रहेको छ । खासगरी नेपाली जनशक्ति आज यी ३ क्षेत्रमा विभाजित भएको छ । सबैभन्दा बढि र छिटो आम्दानी गर्ने समूहमा वैदेशिक रोजगारी नै देखिन्छ । यस्तो अवस्थामा नेपालको कृषि प्रणालीमा आजसम्म पनि परम्परागत रुपमा नै आधारित देखिन्छ । सहरमा बसेकाहरुले घरका वरीपरि हाँस, कुखुरा, बाख्रा, सुवगँर, गाईभैसी आदि पालेका छन् । उनीहरुले पशुपंक्षीलाई चाहिने खासपात किनेर ल्याउनुपर्छ । त्यसैले गाउँमा खेतीयोग्य जमिनहरु बाँझो छ, सहरमा मान्छेहरुको थुप्रो लागिरहेको छ । पेशा व्यवसाय गाउँमा भन्दा सहरमा नै केन्द्रीत हुन्छ । यस्तो अवस्थामा गाउँघरको तौरतरिका सहर बजारमा पनि अपनाउँदा विभिन्न प्रकारका महामारी फैलने र स्वास्थ्यमा निकै ठूलठूला समस्या आउने गरेका छन् ।
यस्ता समस्याले वास्तवमा जीवनको कमाईको ठूलो भाग स्वास्थ्य उपचारमा नै सकिने गरेको छ । यसको मतलब यो हो कि नेपालीहरु आज अधिकांश रोगी बनिरहेका छन् । यसकारण अबको लगानी व्यवहारिक शिक्षा र व्यवसायिक कार्यप्रणालीमा जोड दिनुपर्छ । निर्वाहमूखी कार्यशैली र अव्यवहारिक क्रियाकलापले समयको बर्बादीमात्रै गरिरहन्छ । मानव समाजले भोलीको मानव समाजका लागि सहज बातावरण निर्माण गरिदिनुपर्छ त्यो हामी सबैको परम कर्तव्य हो ।










