“यदि तिमी एक वर्षको निम्ति सोच्दछौ भने धान रोप, यदि तिमी दश वर्षको निम्ति सोच्दछौ भने रूख रोप, यदि तिमी सय वर्षको निम्ति सोच्दछौ भने शिक्षामा लगानी गर ।” विश्व विख्यात महान विचारक तथा दार्शनिक कन्फ्युसियस इ.पू.५५१-४७९) को यो भनाई आज पनि उत्तिकै सान्दर्भिक छ। यद्यपि आज हाम्रो शिक्षाले समाजलाई कता धकेलिरहेको छ ? यो आफैमा एउटा गम्भीर प्रश्न हो।
हामी एक्काइसौँ शताब्दीमा छौँ । यो विज्ञान तथा प्रविधीको युग हो। पृथ्वीमा भएका करोडौँ जीवहरुमध्ये मानिस सबैभन्दा चेतनशील प्राणी भएकै कारणले मानिसले समस्त पृथ्वीमा आफ्नो अधिकार जमाएको छ। मानव चेतनाको थप विकास गर्नका लागि शिक्षाको आवश्यकता पर्दछ। वर्तमान विश्वमा औपचारिक शिक्षाको लागि विभिन्न किसिमका पाठशालाहरू खुलेका छन्।

यिनै पाठशालामा अध्यन गरी औपचारिक शिक्षा लिएर मानिस चन्द्रमामा पुग्न सफल भयो। सारा ब्रह्माण्डलाई नजिकबाट नियाल्न सक्ने विभिन्न यन्त्रहरू बनाए। पृथ्वीको जुनसुकै कुनाबाट जुनसुकै ठाउँमा आफुले चाहेको व्यक्तिलाई चाहेको समयमा प्रत्यक्ष कुराकानी गर्ने प्रविधि सामान्य भयो।आकाश, जमिन र समुन्द्रमा चल्ने अलौकिक यन्त्रहरू बने। यसो विचार गर्ने हो भने एक्काइसौँ शताब्दीसम्म आइपुग्दा मानव समाजले विज्ञान र प्रविधिको क्षेत्रमा चामत्कारिक फड्को मारिसकेको छ। तर दुर्भाग्यको कुरा विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल अझै पनि पन्ध्रौं शताब्दीतिर नै घिस्रिरहेको छ। कुनै नयाँ कुरा आविस्कार गर्नको लागि सरकारको तर्फबाट गम्भीर भएर खोज तथा अनुसन्धान भएको छैन। अलि-अलि भएका ठूला कलकारखानाहरु पनि बन्द गराइएका छन्।
जनशक्तिलाई स्वदेशमै आत्मनिर्भर भएर बस्नको लागि विद्यार्थी जीवन देखि नै दिइनुपर्ने प्रयोगात्मक शिक्षा, सीपमूलक ज्ञान, मानसिक उर्जा र आवश्यक उत्साह दिन सकिएको छैन। त्यसैले आजका अधिकांश युवाहरूको उदेश्य नै विदेश भासिएर उतै पलायन हुने भैसकेको अवस्था छ।
एउटा दुःखद सिलसिला ‘नेपालको पछिल्लो तीन दशकको अवधिलाई नियाल्ने हो भने सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छानी-छानी अमेरिका, अस्ट्रेलिया र यूरोपियन राष्ट्रहरूले निःशुल्क या थोरै लगानीमा थप शिक्षा दिने बहानामा उतै लगि आफ्नै देशको नागरिक बनाएर राखेका छन्। यिनीहरु नेपालमा सुधार न आएसम्म देश नफर्किने सोचमा छन्। अलि बलिया-बाङ्गा र सीप जानेका मेहनती युवाहरू परिवार पाल्नको लागि खाडी देशहरूमा रगत पसिना बगाएर आफ्नो सीप र उमेर बेचिरहेका छन्। देशको अर्थतन्त्र लगभग यिनीहरूले नै धानेका छन्। नेपालमा रहेका युवाहरूमध्ये एकतिहाई युवा चामत्कारिक तरिकाले सफल हुन चाहन्छन्। जोहरू राजनीतिमा आफ्नो भविष्य खोज्दै नेताको चाकडीमा लागि चम्चे र भरौटे बनेका छन्। यिनीहरुको काम हुलदंगा गर्ने, एकाअर्कालाई आरोप प्रत्यारोप लगाउने अनि सोझासाझा जनतालाई भ्रममा राख्दै भ्रष्टाचारीहरूलाई सुरक्षा दिएर उनीहरूबाट झरेको टुक्रामा रमाउने हो। भ्रष्टाचार बढ्नुमा यिनीहरूको ठूलो हात छ। बाँकी रहेका युवाहरूमा आधा-उधी आ-आफ्नो काम र दैनिकीमा व्यस्त छन् भने बाँकी विदेशीने योजनामा विभिन्न कन्सल्टेन्सी र मेनपावरमा भौतारिरहेका छन्।
अनि कसरी बन्छ देश ..???
झट्ट हेर्दा र सोच्दा यी सबै दुर्दशाको मुख्य कारण राजनीतिक अस्थिरता नै हो जस्तो लाग्छ र हो पनि त्यसैले हामी राजनैतिक पार्टी र नेतालाई खुब गाली गर्छौँ। तर के फाईदा, ती कान भएका बहिराहरूले सुन्ने होइनन् क्यारे, न नै तिनका मगजको ताल्चा खोलिन्छ। तर वास्तवमा जरो केलाउने हो भने मुख्य दोष अशिक्षा र अर्ध चेतनाको हो। यसर्थ समाज र समाजमा रहेका मान्छेलाई कस्तो बनाउने भन्ने प्रमुख भूमिका शिक्षकको हुन्छ। किनकी बालबालिकाको सम्पूर्ण भविष्य उनीहरूलाई दिइएको शिक्षामा निर्धारित हुन्छ। डाक्टर, इन्जिनियर, पाईलट, सेना, प्रहरी, उद्यमी, व्यापारी, वकिल, अधिकृत, मन्त्री आदि चाहे जतिसुकै ठूला र सम्मानित तहमा पुगे पनि शिक्षक उनीहरू भन्दा एकतह माथि नै हुन्छन्। यी सबै तह र तप्कामा रहेका व्यक्तिहरूको नियत, आचरण असल र खराब हुनुको पहिलो श्रेय शिक्षकलाई नै जान्छ। किनकी बाबु आमा पछि सबैको प्रमुख र जिम्मेवार मार्गदर्शक भनेकै शिक्षक हुन।
हामी आफैलाई खुबै जान्ने ठान्छौं। अझ हाम्रो हातमा जति माथिल्लो तहको शैक्षिक प्रमाणपत्र पर्छ, त्यतिनै थोरै पढेकालाई नासमझ गंवार ठान्छौं। अलिक धनी हुने बित्तिकै गरिबलाई असाह्य ठान्छौं। पाखुरीमा बल भरिएपछि आफुलाई पहलमान अनि अरुलाई कमजोर ठान्छौं। धर्म, संकृति र सामाजिक सद्भावको कुरा गर्छौ अनि आफै जातीय र वर्गीय विभेद गर्दै धार्मिक हिंसा भड्काउन पनि पछि पर्दैनौं। हामीले धेरै वर्ष पढाइमा खर्च गरेका छौँ। हाम्रो हातमा शैक्षिक प्रमाणपत्रको ठेली पनि छ। तर हामीसँग ज्ञान छैन, आत्मवल छैन, चेतनशील प्राणीमा हुनपर्ने विवेक छैन। वास्तवम हामी साक्षर छौ शिक्षित छैनौ। हाम्राे देशमा डाक्टर बिरामी बचाउन, इन्जिनियर पक्की संरचना बनाउन, नेता सुशासन गर्न, प्रहरी सुरक्षा दिन, वकिल / न्यायधीश न्याय दिनलाई नभई सबैको साझा उदेश्य दौलत कमाउने भएको छ। किनकी त्यो भन्दा पहिला शिक्षकको उदेश्य व्यावसायिक र सीपमुलक शिक्षा, इमान्दारीता र नैतिक शिक्षाको ज्ञान दिनु नभई पाठ्यपुस्तक रटाएर परिक्षामा पास गराउनु मात्र रह्यो। त्यसैले हामी पढेलेखेका अशिक्षित बन्न पुग्यौ। यसर्थ पनि यी सबै समस्याको मूल जड अशिक्षा नै हो। त्यसैले त हामी बार्ह/पन्ध्र वर्ष लगाएर हासिल गरेको प्रमाणपत्रलाई रद्दीको टोकरीमा फ्यालेर छ महिना वर्ष दिन अन्य भाषा सिकेर विदेश जान हौसिन्छौं। किनकी हाम्रो मानसिकता पैसा कमाउनु मात्र सबैभन्दा ठूलो सफलता हो भन्ने छाप परिसकेको छ। हामीले एकाअर्कालाई हेर्ने नजर र दिने सम्मान पनि यसैमा निर्धारित हुन थालेको छ। यो सबै तितो यथार्थबाट पार लगाउन सक्ने एकमात्र माध्यम भनेको असल शिक्षा नै हो। जुन असल र योग्य शिक्षकबाट मात्र सम्भब छ। भनिन्छ नि ‘जन्म दिने आमाबाबु भन्दा भविष्य दिने गुरु महान हुन्छन्।’ वास्तवमा शिक्षक भन्दा ठूलो कुनै सम्मानित पद या तह छँदै छैन। जसरी खेतमा राम्रो फसल उमार्नमा किसानको महत्त्वपूर्ण भूमिका हुन्छ त्यसरी नै योग्य र दक्ष जनशक्ति निर्माण गर्न शिक्षकको प्रमुख भूमिका हुन्छ।
संस्कृतमा एउटा श्लोक छ,
‘गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा
गुरू साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः’
यसको मतलब गुरू (शिक्षक) नै सृष्टिकर्ता, पालनकर्ता र संहारक अर्थात मैले मानेको सबै इश्वरको रूप भनेकै शिक्षक हुन जसलाई म शिर झुकाएर नमन गर्दछु। शिक्षकलाई तुलना गर्न यो श्लोक नै प्रयाप्त छ। नेपाल सरकारले सबै शिक्षक योग्यका होऊन भनेर विभिन्न परिक्षाहरूको नीति अपनाएको छ। बालबालिकाको भविष्य सुरक्षित होस, देशले विकासको काँचुली फेर्न सकोस भनेर सबै परीक्षाहरुमा सफल भएका योग्य व्यक्तिहरुलाई सरकार आफैँले राज्यकोषबाट तलब, भत्ताको सुविधा दिएर सरकारी विद्यालयमा नियुक्ति दिएको हुन्छ। तर अचम्मको कुरा के छ भने यिनै योग्य र उत्तम ठहरिएर उत्कृष्ट सेवा सुविधा लिएका शिक्षकले भन्दा तिनै परिक्षामा अयोग्य ठहरिएका र सरकारी सेवा सुविधाको तुलनामा आधा तलव सुविधा लिने शिक्षकहरूले निजी विद्यालयमा पढाएको शिक्षा उत्कृष्ट ठहरिएको छ। अझ अचम्मको कुरा त के छ भने तिनै महंगो मुल्यका शिक्षकहरूले पनि आफ्नो सन्तान योग्यका बनुन भनेर महंगो शुल्क तिरी शिक्षक सेवा आयोगको परिक्षामा फेल भएका शिक्षकसँग पढाउन निजी विद्यालयमा पठाएका हुन्छन्। यो कति शर्मनाक कुरा छ, ‘जबकि आफ्नो विस्वास आफै माथि छैन।’
सामुदायिक विद्यालयका प्रायः शिक्षकहरू घरको कार्य व्यस्तताको कारण दैनिक अभ्यास बिना नै विद्यालयमा गएर पढाउछन्। यस्ता शिक्षकबाट विद्यार्थीले के सिक्ने ? अतः समग्रमा हेर्ने हो भने सबै समस्याहरुको मुख्य जड यिनै लापरवाह, अल्छी र आत्म अविस्वासी शिक्षकहरू हुन। जोहरू सकेसम्म आफ्ना बालबालिकालाई उत्कृष्ट बनाउन निजी विद्यालयमा पठाएर आफुहरू दैनिक हाजिर पकाउन सामुदायिक विद्यालय जान्छन्। यस्ता शिक्षकबाट उत्पादित विद्यार्थीको मनमा पैसा नै सबथोक हो भन्ने भावनाले डेरा जमाउनु कुनै नौलो कुरा होइन। यो कुनै एक विद्यालयको मात्र नभएर नेपालका अधिकांस सरकारी विद्यालयको साझा समस्या अनि आम सर्वसाधारण नेपालीलाई चित्त नबुझेको विषय हो।
एउटै पाठबाट रत्नाकर डाँकु ‘वाल्मीकि’ बन्न सक्छन् भने बालबालिकाको कलिलो मस्तिष्कमा प्रेम, अनुशासन, इमान्दारिता र नैतिकताको ज्ञान भर्न त्यति गार्हो नहोला। मात्र यी चार चीजको छाप विद्यार्थीको मस्तिष्कमा नमेटिने गरी भर्न सकियो भने भोलीको दिनमा न भ्रष्टाचार, न आन्दोलन, न झै-झगडा न नै अशान्ति हुन्छ। आइसल्यान्डमा पुलिस र जेल छैन, बेलायतमा लिखित संविधान नै छैन र पनि ती देश संवृद्ध छन्। त्यसैले देशलाई संवृद्ध बनाउने पहिलो भूमिका शिक्षकको हुन्छ।अनि शिक्षकलाई योग्य र असल शिक्षक बनाउने मुख्य भूमिका त्यहाँको विव्यस, विद्यालय प्रशासन र स्थानीय सरकारको हुन्छ। एकैपटकमा सबै कुरा राम्रो गर्न नसकिएला तर प्रयास गर्दै रह्यौ भने सफलता अवश्य नै मिल्ने छ।
असल शिक्षा दिएर उत्कृष्ट नतिजा ल्याउनको लागि विद्यालयले निम्न बुँदाहरूमा ध्यान केन्द्रित भएर अध्यापन गराउन सक्नुपर्छ:-
• शिक्षक, विव्यस र स्थानीय सरकार बीच निकटतम सम्बन्ध र राम्रो सहकार्य हुन आवस्यक छ।
• विद्यालय प्रशासन बलियो र प्रभावकारी हुनपर्छ।
• विद्यालयमा प्रत्यक्ष र अप्रत्यक्ष राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्छ।
• विद्यार्थीको खुबी र क्षमताको पहिचान गरि कम्तिमा महिनाको एकपटक फरक-फरक खालको अतिरिक्त कार्यक्रम गराउनु पर्छ।
• कम्तिमा तीन महिनामा एकपटक विव्यस, शिक्षक, स्थानीय जनप्रतिनिधि र अभिभावकको मिटिङ राखी विद्यार्थीको गतिविधिको बारेमा आवश्यक छलफल गरिनु पर्छ।
• विव्यस, शिक्षक, स्थानीय जनप्रतिनिधि र
अभिभावक मिलेर विद्यालय हाताभित्र आवश्यक संरचना र विविध सामग्री जुटाउन सहकार्य गर्नुपर्छ।
• सबै क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने र अनुसासित विद्यार्थीलाई उत्साहको लागि पुरस्कारको व्यवस्था गर्नुपर्छ।
यी अनि यसरी नै विभिन्न नयाँ पद्धति र नैतिक शिक्षाको बोध गराएर पठनपाठन गराउन सकियो भने भोलीको दिनमा सम्पूर्ण नेपाली आत्मनिर्भर भएर स्वदेशमा नै रमाउन सक्ने वातावरण बन्नेछ।
शिक्षकले दिएको ज्ञान र परमेश्वरबाट मिलेको आत्मज्ञानलाई साक्षी राखेर आज एउटा प्रण गरौँ, ‘मलाई व्यक्तिगत रुपमा नाफा होस या नोक्सान अब उप्रान्त म मेरो विवेक प्रयोग गरेर मनको सुन्छु, कसैले देखुन या नदेखुन, तारिफ गरुन या गाली गरुन, मेरो विरुद्धमा सिंगो समाज नै ओइरिए पनि म मेरो इमानमा किञ्चित् डगमगाउने छैन।’ यदि मानिसले अनुशासित भएर आफुले सिकेको सैद्धान्तिक र नैतिक शिक्षालाई इमान्दारिताको साथ निभाउन सक्यो भने सभ्य र आधुनिक समाजको निर्माण हुनेछ। यो नै असल शिक्षाको मूल उद्देश्य हो।










