✒️ बिपुल बिक्रम ” खस ” । वेद, उपनिषद, पुराणमा उल्लेख भएका कुनै पनि ऋषिकाे नामकाे पछाडि कुनै जात छैन । त्यतिबेलाकाे समाजमा जातकाे धारणा पनि थिएन, र आवश्यकता पनि थिएन । समाज वर्ण व्यबस्थामा चलेकाे थियाे, ठिकै थियाे । जातकाे धारणा मनुस्मृति (मनु स्मृति मनुले बनाएकाे नभएर भृगुले बनाएका हुन्, भृगु संहिता हेरे धेरै कुरा खुल्छ) बाट अगाडि बढेकाे देखिन्छ । सुङ वंशकाे उदय पश्चात् श्रमणहरू विस्तारै ओरालाे लाग्न थाले र ब्राह्मणहरूले पुनः राजप्रासादकाे आशीर्वाद पाउन थाले । पाँचाै शताब्दीमा आइपुग्दा ब्राह्मणहरूकाे वर्चस्व बलियाे हुन गइसकेकाे थियाे,यस्तैमा मनुस्मृति पनि देखियाे जसलाई ब्राह्मण धर्मावलम्बी राजाहरूले प्रश्रय दिए । यसपछि भने वर्णले जातकाे रूप लिन थाल्याे ।
मनुका अनुसार मानिसमा तीन प्रधान गुणहरू मध्येका कुनै एक गुण या कहिलेकाँही दुई गुण प्रधान भएको पाइन्छ । प्राचीन कालमा मानिसलाई यिनै गुणहरूको आधारमा वर्गिकरण गरिएको थियो । प्राचीन कालमा प्रमुख मानिएका तीन गुणहरू सत्व, रजो र तमो गुणहरू हुन् । सत्व गुण प्रधान भएका व्यक्तिहरू बौद्धिक, अध्यात्मिक विचारधाराका हुन्छन् । यी व्यक्तिहरू अध्ययन र अध्यापन कार्यमा विशेष दख्खल राख्दछन् । सेतो रङ्गलाई सत्व गुणको प्रतिकात्मक रङ्ग मानिएको छ । सनातन धर्मावलम्बीहरूले सत्व गुणको अधिकता भएकाहरूलाई ब्राम्हण भनेर वर्गिकरण गरे ।
रज गुण प्रधान भएका व्यक्तिहरू निर्भीक हुन्छन् र निर्भीक भएकै कारण यी वीर हुन्छन् । हृदयमा दया, करुणा र न्यायको चेत भएका यी व्यक्तिहरू सदैव मान मर्यादाको रक्षकका रूपमा आफूलाई प्रस्तुत गर्दछन् र आवश्यकता परे वीरोचित कार्य गर्दै प्राणको समेत बलिदान गर्न पछि पर्दैनन् । यसैले रज गुणको प्रतिकात्मक रङ्ग रातो मानिएको छ र यो गुणको अधिकता हुने व्यक्तिलाई सनातन धर्मावलम्बीहरूले क्षत्रिय भनेर वर्गिकरण गरे ।

तेस्रो प्रमुख गुण तमो गुणलाई मानिएको छ । तमो गुण प्रधान भएका व्यक्तिहरूको हृदयमा विभिन्न पेशागत भाव गहिरो हुन्छ । यी व्यक्तिहरू समाजलाई आवश्यक विभिन्न पेसा कार्यमा बढी दत्तचित्त र सफल पनि हुन्छन् । बन्दव्यापार, कलकारखाना, मनोरञ्जन, निर्माण आदि कार्यमा यी व्यक्तिहरू चाख राख्ने हुनाले तमो गुण प्रधान व्यक्तिहरूलाई वैश्य भनिन थालियो र कालो रङ्गलाई तमो गुणको प्रतिकात्मक रङ्ग मानिएको छ ।
यी बाहेक कसैमा रजो र तमो दुवै मिश्रित गुण भएका व्यक्तिहरू पनि भए । यी दुवै गुणयुक्त व्यक्तिले समुदायको सेवा गर्ने कार्यमा आफूलाई समर्पित गर्यो यसैले यिनलाई शुद्र भनिन थालियो ।
वास्तवमा प्राचीन कालमा व्यक्तिलाई गुण र कर्मका आधारमा वर्गिकरण गरिएको थियो । यी गुण या कर्म कुनै परिवारमा जन्मिदैमा या कुनै वर्ग विशेषमा जन्मिदैमा प्राप्त हुने गुण विशेष नभएर प्रकृतिवत मानिसमा विकास हुने गुणहरू हुन् । बाबुमा निहित कुनै गुण उसले जन्म दिएको सन्तानमा पनि प्रतिस्थापित पक्कै हुँदैन, यो सत्य हो । तसर्थ बाबु आफ्नो गुणको आधारमा जे कहलियो उसको सन्तान पनि त्यही कहलिनु पर्छ भन्ने हुँदै हुँदैन । निचोड के भने भने जन्मका आधारमा कोही ब्राम्हण, क्षेत्री, वैश्य या शुद्र हुँदैनन्, यो त पछि विकसित हुने गुण, गुण अनुसारको मानसिकता र मानसिकता अनुसारको कर्मको आधारमा छुटिन्छ ।
मनुस्मृतिले
जन्मना जायते शूद्रः संस्कारात् भवेत् द्विजः
वेद-पाठात् भवेत् विप्रः ब्रह्म जानातीति ब्राह्मणः
“जन्मदा सबै मानिसहरू शुद्र हुन्छन्, संस्कार गरेपछि द्विजमा बढोत्तरी हुन्छ, तर जसले वेद पाठ गर्दछ त्यो विप्र हुन्छ र ब्रह्म जान्नेहरू बब्राह्मण हुन्छन्” भनेर व्याख्या गरेकाे छ । ब्राह्मण, क्षेत्री वैश्य या शुद्र यी कुनै जात होइनन्, व्यक्तिमा निहित गुणको असरले विकसित मानसिकताको कारण मानिसले गर्ने कर्मका आधारमा निर्धारित गरिएको श्रेणी मात्र हो । वर्ण विभाजन कुनै पनि वर्णको व्यक्तलाई उँचो या निच मान्ने आधार हुँदै होइन, यो केवल समाजलाई सबै वर्णको उपयोगिता बुझाउने सरल माध्यम मात्र हो । वास्तवमा कुनै पनि देशको, कुनै पनि समाज यस चार गुणहरू मध्यै कुनै एक गुणको मानिसहरूको अभावमा लङ्गडो हुन्छ । तर छोटो चित्त र कलुषित मानसिकता भएका ब्राम्हणहरूले आफ्नो निहित स्वार्थले अभिप्रेरित भएर आफ्ना अयोग्य सन्तानलाई समेत आफ्नै स्तरको मानसम्मान दिनको लागि गरिएको कुत्सित चालले ब्राह्मणवादकाे बीजारोपण भयाे, यसले समाज कलुषित हुँदै गयाे, ब्राम्हण दर्जा पाएकाहरूले आफूले पाएको अधिकारको कूप्रयोग गरेका कारण आज सनातन धर्ममा जातीय भेदभाव, उँचनिच र छुवाछुतको अर्वुद रोग जन्मियाे जुन कायमै छ, र यसकाे उपचार भनेकाे, तत् तत् शास्त्रहरूकाे त्याग नै हाे ।
कुटिलता भरिएकाे ब्राह्मणवादले तीन हजार वर्षसम्म शिक्षामा अरूकाे पहुँच राेक्याे, शिक्षा केवल १०% ब्राह्मणकै अधिकार भित्र सीमित रह्याे, बाँकी ९०% निरक्षर रहँदै आए । तीन हजार वर्षसम्म वेद शास्त्रहरूमा केवल ब्राह्मणहरूकै वर्चस्व कायम हुनाले सर्वसाधारण मानिसकाे त्यतातिर उदासिनता हुनु स्वाभाविक थियाे । फलतः ती शास्त्रका व्याख्या, दर्शन र धर्म प्रति पनि ९०% ले उदासीनता देखाए, अनुदार ब्राह्मण धर्म त्यागेर वैज्ञानिक व्याख्या सहितकाे बुद्ध धम्म अपनाए । समय बदलिएसँगै मानिसहरूले शास्त्रका झुठ, अन्धविश्वास, कूप्रथा र कर्मकाण्डी बाेझ बहन गर्न नसेकेका कारण यसबाट टाढा हुँदै गए । पहिले ब्राह्मणवादीहरूले शिक्षा र शास्त्रबाट अरूलाई टाढा राखे अहिले यिनै ब्राह्मणवादीहरूलाई ९०% मानिसले टाढा राख्न थालेका छन् । ब्राह्मणवादीहरूले कहिल्यै सर्वसाधारणकहाँ गएर शिक्षा, शास्त्र या धर्मकाे मर्मकाे बारेमा भनेनन्, सिकाएनन्, बुझाएनन्, छि:छि: र दूरदूर गर्दै टाढा राखे, अहिले आफै टाढा हुँदै गएकाेले काेकाेहाेलाे गर्दैछन् । अनेक तर्क गरेर राज्यफर राजनीतिकाे सहयाेग लिएर पनि आफ्नाे वर्चस्व कायम गर्न मरिहत्ते गरिरहेका छन् । तर समय बदलिएको हुँदा, मानिस विज्ञान प्रति अधिक विश्वास गर्न थालेकाले, तर्क र प्रश्न गर्न थालेकाले, सही गलत छुट्याउन थालेकाले, इतिहास सम्मत छ छैन बुझ्न थालेकाले ब्राह्मणवादी जमातकाे पसिना निस्कदै छ ।
आश्चर्य त के भने, ब्राह्मणवादीहरू अझै पुरानै शास्त्रकाे दुहाइ दिँदैछन्, पुरानै हतकण्डा अपनाउँदैछन्, उनीहरूलाई शास्त्रका गलत कुरा सच्याउन चासाे छैन, जातपात र छुवाछूतको विरुद्धमा बाेल्न लेख्न या हाम्रा पुर्खाले शास्त्रमा गलत लेखे भनेर क्षमा माग्न या आत्मालाेचना गर्नतिर पटक्कै ध्यान छैन, केवल शास्त्रकाे रटना लगाएर समाजलाई फेरि तीनहजार वर्ष पछाडिको स्थितिमा लग्न हाँस्याश्पद रूपमा उद्धत छन्, जुन कदापि सम्भव छैन ।










