निर्जन कोठामा,
दुईमुठ्ठी स्वास् को घुड्की पिउँदै
तिम्रो यादमा हराउनु पर्छ
तिम्रो प्रेमको पोकाहरु
फुकाउन पाँउदिन….
बाबू!म बृद्धाश्रम जान्न।
जीबनका कथा सुन्ने,
त्यहाँ कोहि हुन्न,
पराईलाई ब्यथा पोख्छु
सुन्ने त्यो हुन्न,
समस्याको पहाड् चढ्न…
छोरा! म बृद्धाश्रम जान्न।

त्यहाँ सोध्न कोहि हुन्न,
खाना खायौ? तिमि बिरामी छौ?
रुखा बचनका बाणहरुमा
हरेक दिन म उनिनुपर्छ
बाबु ! म बृद्धश्रम जान्न।
समस्याहरु त्यहाँ सुनिन्नन्,
दाताको पोकातिर भएका
तिनीहरुका लोभी आँखा
मेरो वृद्ध अशक्त शरीर तिर हेरिन्नन्
छोरा! म बृद्धाश्रम जान्न।
मेरा कमजोर आँखाले
छिनेको चप्पलमा डोरी लगाउन
घन्टौं बित्छन् मेरा
साना समस्या पहाड हुन्छन्
छोरा! म बृद्धाश्रम जान्न।
एकोहोरो प्रेमको तडपमा,
एक-कल फोन आउने रहरमा
हरेकदिन सोधिरहँदा
बर्सौ बित्छन् मेरा
बाबू! म बृद्धाश्रम जान्न।
सानो समस्याको प्रश्नमा,
कठोर जवाफ तेर्साईन्छ मलाई
सबैबाट त्यागिएर जीबनको उत्तारार्धमा
गेटबाट बाहिर फालिदिन्छु भन्दा
झस्किन्छ मेरो आत्मा,
छोरा! म बृद्धाश्रम जान्न।
ढुङगाको मुटु छन् प्रत्येक मान्छे
कहिलै मर्नुपर्दैन जस्तै गरि
बचनको बाणले घोच्छन् मुटु घरीघरि
अर्को नर्कको आभास् हुन्छ मलाई
बाबू! म बृद्धाश्रम जान्न।
धर्म कमाउनलाई, दुई गास दिन
धार्मिकता दुनियाँलाई देखाउन
सयौं क्यामरा म तिर फर्किन्छन
के था तिनलाई प्रतेक्-दिन मरेको छु
बाबू !म बृद्धाश्रम जान्न।
प्राणले शरीर छोड्नै लाग्दा
तिमीलाई सम्झन्छु
दुई अञ्जुली पानी खुवाउँछौ कि?
तर तिमी हुन्नौ
छोरा! म बृद्धाश्रम जान्न।
परायाहरु खासखुस गर्छन्
बेवारिसे लास भन्छन्
तिम्रो प्रतीक्षामा आँखाहरु
विश्राम लिन मान्दैनन्
बाबू ! म बृद्धाश्रम जान्न।
न आफ्नो न आफन्त
न गाँउले, सब पराया
बोक्ने मलामी कोहि हुन्न
लास बन्छ बेवारिसे
छोरा ! म बृद्धाश्रम जान्न।
ज्युदो हुँदा अरुको दयामा जिउनुपर्ने
मर्दा पनि अरुको दयामा जल्नुपर्ने
……………त्यसैले……………………
नातीनातिनाको कलिलो हातमा म्वाई खाँदै
प्रेमको बर्सादले तिमीलाई भिजाईरहनु छ।
बाबू! छोरा म बृद्धाश्रम जान्न।।।
***
(हरेक बृद्धबृद्धा बुवाआमालाई उच्च मान सम्मान,प्रेम आदर….तपाईंहरुकै विशाल छहारीमा प्रेमको शितल बसिरहन पाउँ, मेरा आँखाले देखेका आश्रमका यी बृद्व-बृद्दालाई तपाई हरुले देख्न नपरोस्, किनकि यिनीहरुको पिंडालाई शब्दले ब्यक्त गर्न सकिन्न, कसैका बुबाआमा कहिलै बृद्व आश्रम नआउन् )
✍️दीपक कुँवर ।
पोखरा ।










