डिकेन्द्र बस्नेत, झापा । चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे ।


सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।
टोली अपराजित रहँदै च्याम्पियन भयो । च्याम्पियन चर्च ब्वाइजले १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलोपटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपिएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।
खेलको १२औँ मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२औँ फकुन्लेले नै गरे । मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् ।
तेस्रो गोल ८७औँ मिनेटमा भयो । वैकल्पिक खेलाडी राजेश परियारले तेस्रो गोल गरे । विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका राजेशले फकुन्लेको सुन्दर पासमा गोल गरेका हुन् ।
पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपिएफले फाइनलमा भने आशा गरिएअनुसार प्रदर्शन गर्न सकेनन् । दुवै टोली मुख्य प्रशिक्षकबिना मैदानमा उत्रिएका हुन् । चर्च ब्वाइजको टच लाइनमा अध्यक्ष रुबेन राई थिए भने एपिएफको प्राविधिक क्षेत्रमा सुुशील अधिकारी थिए ।
यसअघि खेलमा एपिएफले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८औँ मिनेटमा एपिएफका फोडे फोफानाको पासमा अनिश महर्जन गोल गर्न चुके । पहिलो हाफको इन्ज्युरी समयमा फोडेकै प्रहार चर्च ब्वाइजका कप्तान दीप कार्कीले पञ्च गरे । खेलको ८१औँ मिनेटमा एपिएफका विदेशी खेलाडी आन्द्रे थेरी वियिकको फ्रिकिक गोलकिपर दीपले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए ।
चर्च ब्वाइजले केही अवसर बनाएपछि थप गोल गर्न सकेन । ३१औँ मिनेटमा विकु राईले हानेको प्रहार एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाए । ७२औँ मिनेटमा विजय भुजेलले गोलकिपर एञ्जल बिट गरेको अवस्थामा पनि गोल गर्न चुकेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका सुरज जिउ ठकुरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।
फागुन १९ गतेदेखि सुरु भएको छैटौँ झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो । विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए ।
त्यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुबेन राई भए । उदीयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए ।
पराजित एपिएफका प्रशिक्षक सुशील अधिकारीले सामान्य गल्तीको कारण पहिलो गोल बेहोरेकाले टोलीमा सन्तुलन बिग्रेको बताए । उनले भने, ‘पहिलो गोल बेहोरेपछि खेलाडी आत्तिएको जस्तो देखिए । त्यसपछि पनि राम्रो गर्नै सकेनौँ ।’
गोल्डकप समापनको अवसरमा झापा ११ का पूर्वखेलाडीहरुलाई सम्मान गरिएको थियो । मिनबहादुर बस्नेत, कुमार गिरी, कर्ण लिम्बू, खमिर गिल्सन कन्दङवा, विशाल राई, योगेश गुरुङ, सचिन्द्र धिमाललाई झापा खेल रत्न प्रदान गरिएको थियो । उनीहरुले पाएको पुरस्कार डोमालाल राजवंशी परिवारको घर निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन् ।










