र्याप स्टार, इन्जिनियर हुँदै स्वतन्त्रबाट निर्वाचित युवा मेयर । आफ्नो जीवनकालको छोटो अबधिमै काठमाडौं महानगरका मेयर बालेन साहले प्राप्त गरेका उपलब्धीहरु हुन् ।
विशेषगरि युवाहरुमाझ लोकप्रिय रहेको र्याप विधामा भिजेका बालेन पेशाका हिसाबले इन्जिनियरिङ क्षेत्रमा काम गरिरहेका थिए । त्यतिबेलासम्म उनी आम मानिस माझ परिचित अनुहार थिएनन् । २०७९ बैशाखको स्थानीय चुनावका लागि काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि भने उनीबारे विस्तारै चर्चा हुन थाल्यो । आफ्ना चुनावी प्रतिवद्धताहरुलाई आकर्षक शैलीमा बताउन मतदातका घर–घरमा पुगेपछि उनीबारेको चर्चा बाक्लिएको थियो ।

आफूले पाएको चुनाव चिन्ह लौरोको गित–संगित जोडेर प्रचार गरे । अर्कोतिर चुनावअघि नै आफूले पाउने मतको अंक तोकिदिए । आफ्नो शैली, पहिरणदेखि चुनावी एजेन्डासम्मले उनी युवालाई आर्कषित गर्न सफल भए । अनि ती युवाहरुले नै उनको पक्षमा माहोला बनाइदिए । देश र विदेशमा रहेका युवाहरुले आफ्ना घर परिवारका सदस्यलाई बालेनलाई नै चुन्न ‘कन्भिन्स’ गरे । त्यसकै तागतले आफ्ना बलिया प्रतिष्पर्धीमाथि सजिलै बिजयी भए ।
बालेन राजनीतिमा अकस्मात उदाएको जस्तो देखिए पनि आफूले पहिलेदेखि नै त्यसको तयारी गरेको उनले बताउने गरेका छन् । उनले २०७४ कै स्थानीय चुनावताका फेसबुकमा आफू उम्मेदवार नभएका कारण यसपाली भोट नहालेको र अर्को पटक आफैंलाई भोट दिने र देशको विकास गर्ने लेखेका थिए । त्यति बेलादेखि नै आफूले महानगरको मेयरको पदका लागि सूक्ष्म रुपमा तयारी थालिसकेको उनले मिडियाहरुमा दिएका अन्तर्वार्ताहरुमा बताउने गरेका छन् ।
चुनाव चुलिएको बालेन क्रेज निर्वाचित भएको दुई वर्ष पुग्नै लाग्दा पनि उस्तै देखिन्छ । यसअघिका जतिसुकै लोकप्रिय जनप्रतिनिधि भए पनि निर्वाचित भएपछि त्यो विस्तारै खस्कदै जान्थ्यो ।
बरु बालेनका पक्षमा सर्मथकहरु बढ्दै गएको जस्तो देखिन्छ । अहिले युवाहरुमाझ मात्रै नभएर पाका पुस्तामा पनि बालेनप्रतिको क्रेज बढ्दै गएको देखिन्छ । देशभित्र मात्रै नभएर देश बाहिर पनि उनको चर्चा विस्तार भएको छ ।
विश्वको चर्चित अखवार न्यूर्योक टाइम्स अखबारमा बालेन फिचर भए । सम्भवत उनी पहिलो जनप्रतिनिधि हुन जसका बारेमा विश्व चर्चित अखबारले चर्चा गर्दै स्टोरी लेख्यो । त्यस्तै अर्को चर्चित टाइम म्यागेजिनले पनि उनलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनीबारे चर्चा गरेको थियो ।
निर्वाचित भएयता बालेनले चालेका केही कदमले पनि उनको चर्चा बढाएको छ । उनले सार्वजनिक सडक मिचेर बनाएका संरचना भत्काउने, पार्किङका लागि छुट्याइएको बहुतले भवनका बेसमेन्टमा राखिएका पसल हटाउने, खोला मिचेर बनेका संरचना हटाउने, सहरी सौन्दर्यकरण बढाउने लगायतका काम अघि बढाएका छन् । यसअघिका धेरै जनप्रतिनिधिले नदेखाएको आँट देखाएको भन्दै उनको काममा धेरैले प्रशंसा गरेका छन् ।
तर निर्वाचित भएको दुई वर्ष पुग्नै लाग्दा उनी आफैंले गरेका केही चुनावी प्रतिवद्धतामा भने ठोस कदम चाल्न सकेका छैनन् । सबैको पहुँचमा पुग्नेगरि सार्वजनिक शौचालय बनाउने, महानगरभित्र सतप्रतिशत विद्युतीय सवारी चलाउने, फोहोरको वर्गिकरण गरेर व्यवस्थापन गर्ने जस्ता उनका चुनावी प्रतिवद्धता थिए ।
बालेनले रेस्टुरेन्टमा सार्वजनिक शौचालय बनाउने अभियान चलाए पनि त्यो खासै सफल भने भएन । महानगर आफैंले पनि खासै सार्वजनिक सौचालय निर्माण गरेको देखिदैन । फोहोर व्यवस्थापनमा पनि बालेनले खासै उल्लेखनीय काम गर्न सकेका छैनन् । फोरलाई घरमै जैविक र अजैविक गरि वर्गिकरण गर्न महानगरले सूचना निकालेको भए पनि त्यसलाई लागू गराउन भने सकेको छैन् । त्यस्तै प्रविधि प्रयोग गरेर काठमाडौं नजिक फाहोर नष्ट गर्ने भनेको भए पनि त्यसमा काम भएको देखिदैन । यी विषयमा बाँकी रहेको तीन वर्षको कार्यकालमा उनले कस्तो काम गर्छन, त्यसमा भने मौका उनलाई मौका दिन सकिन्छ ।
बालेनले प्रशंसा मात्रै पाएका छैनन् । उनले शैलीलाई लिएर आलोचना समेत हुने गरेको छ । विशेष गरि पुटपाथका व्यापारीप्रीत उनले देखाएको कठोर व्यवहारको आलोचना भएको थियो । त्यस्तै विभिन्न माग राखि आन्दोलित हुनेहरुलाई खुल्ला मञ्च र शान्तिबाटिकामा बस्न नदिएर उनले आन्दोलनकारीको आवाज बन्द गर्न खोजेको टिप्पणी हुने गरेको छ ।
सिंहदरबारमा आगो लगाउने जस्ता अधिव्यक्ति दिँदै उनले संघीय सरकारसँग पटक–पटक भिडिरहेका छन् । अरुका कुरा नसुन्ने उनको बानी छ । एउटा जनप्रतिधि भएको हुनाले सबैको आवाज सुन्ने दायित्व हुने भन्दै उनको आलोचना गरेको छ । यस्ता विषयलाई सच्याएर अघि बढ्नसके भावि राजनीतिमा उनको राम्रो भविष्य भएकोमा कुनै शंका छैन । त्यो किनभने, उनले अहिलेसम्म पनि आफूले कमाएको राजनीतिक पुँजी नराम्ररी बिग्रन दिएका छैनन् ।










