हिमांशु राय, पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ। बुधबार पथरी शनिश्चरे – १ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट आमाविले प्राप्त गरेको हो ।
बुधबार भएको फाइनल प्रतियोगितामा पुरुषतर्फको खेलमा अरुणोदयको टिमलाई ३–१ ले हराउँदै भूपू सैनिकले उपाधि चुमेको हो ।

यस्तैगरी महिलातर्फको फाइनल खेलमा भूपू सैनिकलाई २–० को सोझो सेटमा हराउँदै एभरेष्ट आमाविले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
विजेता दुवै टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले र शिक्षा अधिकृत नविन खुलालले शिल्ड तथा मेडल प्रदान गर्नुभएको थियो ।










