Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सहिद ठुलकुमार श्रेष्ठ र लेख्न बाँकी रहेको उपन्यास : डा- धनप्रसाद सुवेदी ‘श्रमिक’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 12, 2024
डा- धनप्रसाद सुवेदी ‘श्रमिक’

ठुलकुमार श्रेष्ठको नाम समावि दिक्तेलमा पढ्दै गर्दा पहिलो पटक सुनेको थिएँ । त्यति बेला कुन ब्याजको एसएलसीमा क–कसले फस्ट डिभिजन ल्याए भन्ने कुरा हुन्थ्यो । त्यही क्रममा अघिल्ला ब्याजका फस्ट डिभिजन एसएससी गर्ने विद्यार्थीका रूपमा ठुलकुमार श्रेष्ठको नाम सुनेको थिएँ । ठुलकुमारको गाउँका दोबेलाका बसन्त श्रेष्ठ (कवि, गीतकार वसन्तराज अज्ञात) मेरा सहपाठी । सायद उनले पनि ठुलकुमारका बारेमा भने कि जस्तो लाग्छ ।

८ कक्षा पढ्दा राष्ट्रिय पञ्चायतको चुनाव भयो । वीरेन्द्रकेशरी पोखरेल त्यति बेलाका लोकप्रिय उमेद्वार । परशुराम राई हाम्रै गाउँका परे । त्यसैले सहित हाम्रा गाउँका अधिकांश मानिस वीरेन्द्रकेशरी र परशुरामलाई भोट दिने मनस्थितिमा थिए । यता स्कुलका अधिकांश सरहरूले नरेन्द्र राजभण्डारी र वीरेन्द्रकेशरी पोखरेललाई भोट दिनुपर्छ भनेर बुबाआमालाई भन्नु है भनेका थियो । त्यही बिचमा मैले अलिअलि गाइँगुइँ सुनेँ, नरेन्द्र राजभण्डारी कम्युनिस्ट र वीरेन्द्रकेशरी कांग्रेस हुन् । २०४४ सालमा स्थानीय चुनाव भयो । एक दिन जय आचार्य सर र तिलक वजिमय सरले ‘तिम्रा बुबाआमा, काकाकाकीहरूलाई भन्नु यसपाली भलाकाजी राईलाई भोट दिनुपर्छ’ भन्नुभयो । सरहरूले किन त्यसो भन्नुभो त भनेर कुरा बुझ्न खोज्दा मलाई धेरथोर थाहा भयो, भलाकाजी राई र सरहरू एउटै कम्युनिस्ट पार्टीमा हुनुहुँदो रहेछ । हाम्रा गाउँका हरि चाम्लिङ पनि कम्युनिस्ट पार्टीमा हुनुहुन्छ भन्ने सुनेको थिएँ र कुरा बुझ्नु पर्यो भनेर उहाँसँग ‘यसपाली भलाकाजीलाई भोट दिनुपर्छ हो काका’ भनेर सोधेँ । हरि चाम्लिङले ‘उनीहरू चौमका हुन्, हामी अर्कै हौँ, तैपनि अरुलाई दिनुभन्दा उनैलाई दिनुपर्छ तर यो कुरा हल्ला गर्नु हुँदैन । तिमी स्कुलमा छैटौमा लाग्यो कि क्या हो, पाँचौँमा लाग्नु पर्छ है।’ भन्नुभयो ।

हरि चाम्लिङ अनेरास्ववियु पाँचौँका विद्यार्थी नेता हुनुहुन्थ्यो भन्ने कुरा मैले अलिअलि सुनेको थिएँ । त्यसैले मैले एकपटक उहाँसँग त्यस बारेमा जान्न खोजेँ । उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन, रमेश राईहरूलाई पुलिसले कुटेको, नेविसं, अखिल पाँचौँ र छैटौँको झगडा भएको जस्ता कुरा सुनाउनुभयो र यस्ता कुरा गोप्य राख्नुपर्छ है भन्नुभयो । २०४६ सालको भदौबाट म दिक्तेल क्याम्पसमा आइए पढ्न थालेँ । त्यतिबेला राष्ट्रवादी विद्यार्थी मण्डलको जगजगी थियो । मलाई पनि त्यस संगठनमा बस्न भनिँदै थियो । त्यही बेला हरि चाम्लिङले ‘हेर भतिज, तिमी फस्ट डिभिजन एसएलसी गरेको मान्छे, तिमीलाई अनेक प्रलोभन दिएर मण्डले संगठनमा राख्छन् । केके बाहना बनाएर नबस्नु, अखिलतिर बस्नुपर्छ ।’ भन्नुभयो । त्यस्तै जयप्रसाद आचार्य सर अनि बिए पढ्दै गरेका दाइहरू डिल्लीप्रसाद आचार्य, मनविक्रम राई, मालिकराम राईहरूले पनि मलाई सचेत गराउँदै त्यो मण्डले संगठनमा नलाग्नु है, तिमी जस्तो प्रतिभाशाली मान्छेले अ.ने.रा.स्व.वि.यु मा लाग्नुपर्छ भन्नुहुन्थ्यो । त्यसैले म मण्डले संगठनमा संगठित हुनबाट जोगिएँ । यही बिचमा जनआन्दोलन भयो । पञ्चायत गयो । बहुदल आएसँगै म पनि तत्कालीन चौम निकटको अ.ने.रा.स्व.वि.यु. मा संगठित भएँ र दिक्तेल क्याम्पस एकाइको सचिव भएर केही समय काम गरेँ । त्यस बिचमा एक पटक दिक्तेल बजारमा ठुलकुमार श्रेष्ठसँग भेट भएको थियो । उहाँ भोजपुर क्याम्पसमा छैटौँतिरको विद्यार्थी संगठनमा हुनुहुन्छ भन्ने सुनेँ । तर त्यति बेला छैटौँतिर पनि विभिन्न संगठन थिए, कुनै छैटौँ लेख्ने, कुनै छैटौँ तिरका भन्ने तर छैटौँ नलेख्ने । ठुलकुमार कुन चाहिँ छैटौँमा हो थाहा भएन ।

२०४७ साल असारमा म गाविस सचिव भएर ओखलढुंगा जिल्लाको पोकली गाविसमा पुगेँ । भर्खरै बहुदल आएको, राजनीतक पार्टी माथिको प्रतिबन्ध हटेको र हरकोही आफूलाई कुनै न कुनै पार्टीको मान्छे भन्न रुचाउने अवस्था थियो । त्यसैले मैले पनि त्यहाँ आफ्नो पार्टी चौमको खोजी गरेँ । चौम पार्टीको संगठन ओखलढुंगाको पूर्वी भेगमा मात्र रहेछ । पोकलीमा चौमसँग पार्टी एकीकरण गर्न लागेको नेकपा (मशाल) को संगठन भने निकै बलियो रहेछ । मलाई खोजेकै कुरा भेटे जस्तो भयो । ओम सुवेदी, बालकृष्ण ढुंगेल मशालका स्थानीय नेता थिए । ओम सुवेदी स्थानीय स्कुलका शिक्षक, दिनैपिच्छे भेट हुने, थर पनि एउटै बन्धुको साइनो पनि भयो । उनीसँगको संगतले मेरो राजनीतिक जीवनले मलजल पायो । पछि चौम र मशाल पार्टी मिलेर एकताकेन्द्र र त्यसको चुनावी मोर्चा जनमोर्चा बन्यो । म पनि त्यसको समर्थक भएर रहेँ ।

पार्टी एकताको दुई वर्ष बित्ता नबित्तै एकताकेन्द्र पार्टी फेरि विभाजित भयो । पार्टी विभाजनकै सँघारमा २०५१ को मध्यावधि चुनाब आयो । पार्टी विभाजनपछि नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकताकेन्द्र चुनाबलाई उपयोग गर्ने पुरानै नीतिमा आयो भने प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी) बहिष्कारको पक्षमा देखियो । त्यति बेला म ओखलढुंगामा थिएँ । पार्टी विभाजनपछि कता लाग्ने भन्ने अन्योल थियो । जिल्लामा बल्लबल्ल पार्टी स्थापित हुँदै गरेका बेला पार्टीमा आएको फुटप्रति कोही पनि खुसी थिएनन् । त्यस्तैमा ओखलढुंगाको कटुन्जेमा पार्टीका अगुवा कार्यकर्ताहरू र शुभचिन्तक समेतको भेला भयो । भेलामा उपस्थित हुनेहरू अधिकांश मत चुनाब बहिष्कार गर्दै जनवादी क्रान्तिको बाटोमा अघि बढ्ने पक्ष अर्थात् माओवादीतिर देखियो । तर ओखलढुंगा क्षेत्र नं. १ मा जनमोर्चाका नाममा उमेद्वारी घोषणा भइसकेको हुँदा क्षेत्र नं. १ मा रहनेले यसपटकलाई जनमोर्चालाई भोट हाल्ने, क्षेत्र नं. २ मा बहिष्कार गर्ने र चुनावपछि भने बहुमत पक्ष (प्रचण्ड–बाबुराम पक्षमा) लाग्ने समझदारी भयो ।

२०५१ को मध्यावधि चुनाबको लगत्तै मेरो खोटाङ सरुवा भयो । मैले ओखलढुंगामा हुँदा पार्टी फुटपछिका दुवै तर्फका सर्कुलर पढेको थिएँ र कटुन्जे भेलाको निर्णय अनुसार नै बहुमत पक्षमा लाग्ने निधो गरेको थिएँ । त्यसैले खोटाङ जानासाथ मेरो सम्पर्क बहुमत वा भर्खरै बनेको पार्टी नेकपा (माओवादी) तिर भयो । यसपछि ठुलकुमारसँग मेरो गहिरो चिनजान र घनिष्ठता भयो । पार्टी विभाजनपछि खोटाङमा प्रायः नारायणकाजी नेतृत्वको एकताकेन्द्रतिर लागेका थिए । नवगठित माओवादीतिर स्पष्ट रूपमा लाग्ने भनेका ठुलकुमार श्रेष्ठ, दिलकाजी कार्की र देवी आचार्य मात्रै थिए । पार्टी संगठन गर्नै भनेर भोजपुरका बाबु तामाङ (हाल नेपाल तामाङ घेदुङ संघका केन्द्रीय महासचिव) हाटडाँडामा फोटो स्टुडियो खोलेर बसेका थिए । यसरी संगठन बनाउने प्रयास भइरहेका बेला म ओखलढुंगाबाट खोटाङ आएको थिएँ । दिलकुमार खड्का, सागर जोशी, कृष्ण गुरुङ, केशवप्रसाद आचार्य, कृष्ण आचार्य, होमप्रसाद आचार्य, टंक तामाङ समेत गरी १०–१२ जनाको टिममा माओवादी पार्टी बन्दै थियो ।

त्यति बेला पार्टी सदस्यता सजिलै दिइँदैनथ्यो । पार्टी सम्पर्कमा रहेका सबैले तत्काल सदस्यता पाइहाल्ने कुरा भएन । २०५२ साल साउनमा पहिलो चरणमा पार्टी सदस्यता पाउनहरूबाट बाबु तामाङको नेतृत्वमा, ठुलकुमार श्रेष्ठ, दिलकाजी, देवी आचार्य र म सहितको ५ सदस्यीय नेकपा माओवादी खोटाङ जिल्ला संगठन समिति बन्यो, २०५२ साल साउनमा । यसपछि ठुलकुमार श्रेष्ठसँग मेरो भेटघाट र छलफल बाक्लियो । ठुलकुमार विचारमा स्पष्ट हुनुहुन्थ्यो । मार्क्सवादी दर्शनका कुराहरू सजिलोसँग बुझाउने । पार्टीको जिल्ला संगठन बनेकै बेला दिक्तेलमा मेरै अध्यक्षतामा ‘नव प्रतिभा साहित्यिम मञ्च खोटाङ’ नामको साहित्यिक संस्था बनिएको थियो । त्यस संस्थामा विभिन्न विचारका साथीहरू संगठित थिए । त्यसैले माओवादीका लागि त्यस्तो संगठनमा बस्नु उचित होइन भन्ने विचार पनि पार्टी संगठनमा उठ्थ्यो । तर यस्ता कुरामा ठुलकुमारको फराकिलो सोचाइ थियो । ‘हाम्रो क्रान्तिमा कस्ता कस्ता मान्छे ल्याउनु छ । साहित्य लेख्ने साथीहरूसँग टाढा भएर होइन, नजिक भएर उनीहरूको मन जितेर क्रान्ति गर्नुपर्छ ।’ ठुलकुमारजी भन्नुहुन्थ्यो ।

जनयुद्ध सुरु गर्ने पार्टी केन्द्रको योजना र घोषणाका बारेमा जानकारी तथा प्रशिक्षित गर्ने बैठक लामाखुमा बस्ने भयो । म र देवी आचार्य दिक्तेलबाट गयौँ । ठुलकुमारजी हामीलाई नै पर्खिएर बस्नुभएको रहेछ । ठुलकुमारजीको घरमा सुन्तला खाएर बेलुका हामी लामाखु दिलकाजीका घरमा गयौँ । त्यति बेला पार्टी केन्द्रबाट अग्नि सापकोटा खोटाङसहित पूर्वी पहाडी क्षेत्रमा खटिएका थिए । उनैले हामीलाई जनयुद्ध गर्ने पार्टी केन्द्रको निणर्य र योजनाका साथै त्यसको तयारीमा गर्नुपर्ने कामका बारेमा प्रशिक्षण गरे । जिल्लामा जनयुद्धको पूर्व तयारी कसरी गर्ने भन्ने बारेमा हामीले बैठकमा छलफल ग¥यौँ । को को भूमिगत हुने भन्ने बारेमा छलफल गरियो । म सरकारी जागिरे भएकाले मलाई तत्काल भूमिगत नजाँदा पनि हुन्छ भन्ने साथीहरूको तर्क थियो । मबाहेक अरु चारै जना जनयुद्धको सुरुआतीमै भूमिगत हुने कुरा भयो । म भने परिस्थिति प्रतिकूल भए भूमिगत जाने र अनुकूल हुँदासम्म खुला रूपमै पार्टीलाई सघाउने मनस्थितिमा थिएँ । त्यति बेला खोटाङमा पार्टी संगठन राम्रो नभएकाले सामान्य प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेर बैठक सकियो ।

जनयुद्ध सुरुआतीको तयारी चल्दै गर्दा खोटाङ पार्टीको पूर्वी पहाडको केन्द जस्तै थियो । त्यति बेला पूर्वी पहाडमा ओखलढुंगा, भोजपुर र खोटाङमा मात्रै पार्टी संगठन थियो । सोलु, संखुवासभा, धनकुटातिर सम्पर्क व्यक्ति मात्रै थिए । सम्भवतः सिन्धुलीपूर्व तराई क्षेत्रमा पार्टी संगठन राम्रो थिएन । त्यसैले जनयुद्धको पूर्वसन्ध्यामा अग्नि सापकोटा कहिले दिक्तेल, कहिले लामाखु बसेर पूर्वी पहाडका कमरेडहरूसँग बैठक बस्थे । २०५२ माघको पहिलो हप्ताको कुनै बेलुका केशवप्रसाद आचार्य (दिक्तेल बजार प्रशासकीय भवन र कुमारी चलचित्र भवनको बिचमा रहेको) को घरमा पार्टी सदस्य र जनवर्गीय संगठनका सदस्यलाई जनयुद्धको सैद्धान्तिक तथा नीतिगत योजनाका बारेमा अग्नि सापकोटाबाट प्रशिक्षण गरियो । जनयुद्धको अन्तिम तयारी बैठक हामीले मझुवागढीमुनिको जङ्गलका बिचमा गरेका थियौँ । बैठकको अन्त्यमा जनयुद्धमा बाँचिन्छ, बाँचिदैन, सम्झनाका लागि सामूहिक फोटो खिचौँ भन्ने कुरा भयो । हामीले सामूहिक फोटो खिच्यौँ र जनयुद्धमा समर्पित हुने कसम खायौँ ।

ओखलढुंगाका लागि केन्द्रबाट पठाइएका जनयुद्धको सुरुवाती पर्चा, पम्प्लेटहरू गाइघाट हुँदै दिक्तेलमा आए । म लामो समय आखलढुंगा बसेर आएको र पार्टीका साथीलाई राम्रोसँग चिन्ने भएकाले पर्चा, पम्प्लेटहरू ओखलढुंगा पु¥याउने जिम्मा मलाई प¥यो । मैले ती पर्चा, पम्प्लेटहरू ओखलढुंगा पुर्याएँ । ओखलढुंगामा जनयुद्धको सुरुआत गर्ने पर्चा, पम्प्लेट जिम्मा लगाएका साथी तेजबहादुर भुजेल जनयुद्धमा सहिद भए । ओखलढुंगाको विकट बस्तीमा बालबच्चालाई शिक्षाको ज्योति बाँडिरहेका शिक्षक तेजबहादुर जनयुद्धका समर्थक भएकै आधारमा खतरनाक आतंककारी ठानिए र सरकारी सेनाको क्रूर यातनाबाट मारिए ।

२०५२ साल माघ मसान्तको दिन बेलुका केशवप्रसाद आचार्यको घरको माथिल्लो तलाको सानो कोठमा हामी ६, ७ जना भेला भयौँ । भोलिपल्ट अर्थात् फागुन १ गतेबाट जनयुद्ध सुरु हुँदै थियो । हामीले महान् जनयुद्ध सुरु भएको सूचना दिने रातो पोस्टर र पर्चाहरू ३ भाग लगायौँ । एउटा टोली बैँक चोकबाट हाटडाँडातिर एउटा टोली बिचमा र म र ठुलकुमार हामी दुई जनाको टोली तत्कालीन दिक्तेल क्याम्पस प्रमुख बम थुलुङको घरउत्तरका लागि खटियौँ । हामीले दिक्तेल क्याम्पससम्म पोस्टर टाँस्ने र पर्चा छर्ने काम ग¥यौँ । दिक्तेल क्याम्पसबाट ओरालो झर्दै गर्दा मदन राईको घरमाथिको ढुङ्गामा ठुलकुमारजी नराम्ररी चिप्लिनुभो र उठ्दै भन्नुभो, ‘दीर्घकालीन जनयुद्ध लड्नु छ, जनवादी गणतन्त्र स्थापना गर्नुछ । आजै झन्डैले सहिद भइयो ।’

त्यति बेला म र वेदीकुमार राई दिक्तेल बस्नुपर्दा दिलकुमार खड्कासँगै अल्छेढुङ्गा नजिकको उनको घरको एउटा कोठामा बस्थ्यौँ अर्थात् हाम्रो साझा कोठा थियो । त्यस दिन दिलकुमार र वेदी त्यहाँ थिएनन् । दिलकुमार अफिसको कामले ऐँसेलुखर्क गएका थिए । वेदीकुमार नेर्पा घरमै थिए होलान् । म र ठुलकुमार डेरामा गयौँ, खाना बनाएर खायौँ । राती अबेरसम्म कुराकानी चल्यो । ठुलकुमारजी त्यसै दिनबाट भूमिगत हुने कुरा थियो । म चाहिँ सरकारी जागिरे भएकाले परिस्थिति बाध्य बनाए भूमिगत हुने नत्र जागिर खाँदै जनयुद्धलाई सघाउने सल्लाह थियो ।

कुराकानीका क्रममा साहित्य र लेखनका कुरा पनि भए । चीन, रुस र भियतनामका क्रान्ति र तीसँग जोडिएका साहित्यले कम्युनिस्ट आन्दोलनलाई पु¥याएको सहयोगका बारेमा पनि कुरा चल्यो । ठुलकुमारजी कविता र गीत लेख्ने, नाच्ने र अभिनय पनि गर्ने । म कविता लेख्थेँ, एउटा उपन्यास पनि निस्किसकेको थियो । प्रसङ्गवश ठुलकुमारले भन्नुभो, ‘धनप्रसादजी म सहिद हुन सक्छु, तपाईं बाहिर भएकाले मलाई भन्दा तपाईंलाई बाँच्ने सम्भावना धेरै हुन्छ । क्रान्ति सफल हुँदासम्म बाँचियो भने क्रान्तिका अनुभव समेटेर म आमा, अग्निदीक्षा, युवाहरूको गीत जस्तै उपन्यास लेख्छु । यदि म मरेछु भने तपाईंले त्यस्ता उपन्यास लेख्नुहोला, मेरा बारेमा पनि लेखिदिनु होला है ।’

ठुलकुमारजीले गम्भीरतापूर्वक भनेको कुराले मलाई पनि भावुक बनायो । मैले भनेँ, ‘जनयुद्ध हो म पनि त यसको समर्थक, भोलि परिस्थिति त्यस्तै हुँदा मैले पनि युद्धमा प्रत्यक्ष सहभागी हुनैपर्छ । त्यतिबेला म पनि सहिद हुनसक्छु । यदि हामी दुवै सहिद भयौँ भने राम्रै हुन्छ । आखिर एक दिन मर्नैछ भने परिवर्तन र मुक्तिका लागि मरिन्छ, सार्थक मृत्यु हुन्छ । तर तपाईं हामी त्यति सजिलै मारिँदैनौँ । दुवै बाच्यौँ भने दुवैले लेख्छौँ । हैन हामीमध्ये एक जना मात्रै बाँच्यौँ भने बाँच्नेले लेखौँला ।’

कुरैकुरामा ठुलकुमारजीले आफ्ना श्रीमती, छोरीहरूको भविष्यका बारेमा कुरा गर्नुभो, ‘अहिले श्रीमती, छोराछोरी भनेर हामीले लड्यौन भने पुस्तौँपुस्ता सन्तान दरसन्ताले दुःख पाउँछन् । नलडे पनि हामीले र हाम्रा छोराछोरीले सुख पाउँछन् भन्ने ग्यारेन्टी छैन । अब मर्ने कुरै गर्ने हो भने, पखाला लागेरै पनि मर्न सकिन्छ, हट अट्याक भएर जहिलेसुकै मर्न सकिन्छ । त्यसैले लड्दा दुःख पाइन्छ, मरिन्छ, छोराछोरीको बिजोग हुन्छ भन्ने कुरा होइन । हामीले लडेर राम्रो व्यवस्था आयो भने देश अगाडि जान्छ । भावी पुस्ताले सुख पाउँछन् ।’
ठुलकुमारका दाजुभाइ थिएनन् । उहाँका पनि छोरा थिएनन्, छोरीहरू मात्रै थिए । नाति नभई परत्र सुध्रिदैन भन्ने सामाजिक मान्यताबाट ठुलकुमारका बुबा पनि मुक्त हुने कुरा भएन । त्यसले ठुलकुमारजीलाई निकै ‘टर्चर’ दिएको रहेछ भन्ने कुरा उहाँको भनाइमा प्रस्टिन्थ्यो । ‘छोरा र छोरीका बिचको विभेद, छोराले मात्रै वंश धान्छ भन्ने परम्परागत चिन्तनका पछाडि एउटा भौतिकवादी कम्युनिस्ट लाग्ने कुरा भएन । तर के गर्नु अरुलाई सम्झाउन, बुझाउन जति सजिलो हुन्छ, आफ्नै बुबाआमा, श्रीमतीहरूलाई बुझाउन गारो हुँदोरहेछ ।’ उहाँले भन्नुभयो । पछिल्लो भेटमा पनि उहाँ भन्नुहुन्थ्यो, ‘खै बुबालाई सम्झाउन मलाई निकै गारो भएको छ ।’

हामी राति १ बजेतिर निदायौँ । बिहानै ४ बजे उठ्यौँ र नेर्पातिर लाग्यौँ । छेपेखोलामा पुगेपछि हामी छुट्टियौँ । त्यसपछि पनि बेला बेला हाम्रो भेट भइरह्यो । २०५३ असारतिर हुनुपर्छ । एक दिन बेलुका ठुलकुमार र दिलकाजी हाम्रा घरमा आउनुभयो । बेलुका बास बस्नुभयो । भोलिपल्ट पनि बिहान अबेरसम्म हामी कुरा गरेर बस्यौँ । बिहानको खानापछि उनीहरू हिँड्न लाग्दा धनप्रसाद पराजुली बा आउनुभयो । त्यतिबेला उहाँहरूको परिचय खुलाउँदा के होला कसो होला भन्ने भयो । धनप्रसाद बाले सायद चिन्नुहुन्थ्यो होला । उहाँलाई सही परिचय दिए पनि फरक पर्दैनथ्यो होला । तैपनि समय अप्ठ्यारो थियो । अनि ढाँट्ने कुरा भइहाल्यो । साथीहरूले मलाई आँखाको इसाराले तिमीले कुरा मिलाऊ भन्दै हुनुहन्थ्यो । मैले भने, ‘उहाँहरू बाक्सिलाको हुनुहुँदो रहेछ, तल दुवारे गाउँमा नाताकहाँ हिँड्नुभएको रहेछ ।’ त्यति भन्नासाथ उहाँहरू ‘लौ त है हामी हिँड्यौँ’ भन्दै हिँडिहाल्नुभयो । केही दिनपछिको भेटमा धनप्रसाद बाले भन्नुभयो, ‘ती बाक्सिले भाइहरू त बाटो छाडेर पाखैपाखा ओरालो झर्दैथे त ।’

खोटाङमा पार्टी संगठन थिएन । जनयुद्धको सुरुआती समय । जनताले त्यसको असर र महत्त्व बुझेका थिएनन् । खोटाङमा एमालेको संगठन बलियो थियो । जनमोर्चाको पनि राम्रै संगठन थियो । ती पार्टीभित्र क्रान्तिलाई माया गर्ने प्रशस्त मानिसहरू थिए । तर क्रान्ति हुन्छ, गणतन्त्र आउँछ भन्ने विश्वास उनीहरूमा थिएन । त्यसैले भूमिगत भएर हिँडेका साथीहरूलाई खानेबस्ने र सुरक्षित हुने समस्या जटिल बन्दै जान थाल्यो । त्यस बिचमा पार्टी संगठन पनि कहिले ओखलढुङ्गा र सोलसखुम्बुसँग, कहिले भोजपुरसँग, कहिले उदयपुरसँग जोडिएर काम गर्नुपर्ने अवस्था बन्यो । पार्टीका पूर्वी कमान्डर आलोकका क्रियाकलापलाई लिएर अन्तर्सङ्घर्ष पनि चर्कियो । सरकारले ‘किलो सेरा टु’ नामको अप्रेसन चलायो । यही बिचमा ठुलकुमारजी केही समय काठमाडौँ आएर एउटा बोर्डिङ पढाउन थाल्नुभयो । तर परिवर्तन क्रान्तिका लागि घर परिवार त्यागेर हिँडेको मानिस जागिरमा लामो समय टिक्ने कुरै भएन । उहाँ फेरि पार्टी सम्पर्कमा पुग्नुभयो ।

दसैँमा घर गएको अवस्थामा २०५४ साल असोजमा ठुलकुमार पक्राउ पर्नुभयो । पुलिस हिरासतबाट अदालतमा म्याद थप्न लैजाँदै गर्दा दिक्तेल अम्बागाछीनेर हाम्रो देखादेख भएको थियो । तर कुराकानी गर्ने अवसर थिएन । पछि उहाँलाई दिक्तेल जेलमा लगियो । त्यति बेला म काठमाडौँमा एम.ए. दोस्रो वर्षको अध्ययनमा थिएँ । कारगारमा उहाँलाई भेट्न जाने अवसर पनि जुरेन । २०५५ साल बैशाखमा उहाँ अदालतको आदेशबाट जेल मुक्त हुनुभयो । जेलमुक्तपछि उहाँ पार्टी सम्पर्कमा पुगेको र पार्टीमा क्रियाशील हुन थालेको सुनियो तर भेट भएन ।

किलो सेरा टु को अप्रेसन चलिरहेकै समयमा पार्टी केन्द्रले खोटाङमा काम गर्ने गरी राजनीतिक तथा सैन्य नेतृत्वको टोली पठायो । भूगोलमा खटिरहेका साथीहरूलाई थाहै नदिई केन्द्रबाट ठुलो जमात जिल्ला पठाउँदा त्यहाँ दुःख गरिरहेका साथीहरू असन्तुष्ट बन्नु स्वाभाविक थियो । तर पनि पार्टीका बफादार ठुलकुमारजी पार्टी नेतृत्वको आदेशलाई विन प्रश्न, विना प्रतिवाद शिरोधार्य गरेर हिँड्नुभयो । त्यही क्रममा उदयपुरको तावाश्रीमा प्रहरीको गोली लागेर सहादत हुनुभयो । यसरी २०५५ साल पुस २७ गते एक जना प्रतिभाशाली तथा क्रान्तिकारी योद्धा ठुलकुमार श्रेष्ठको सहादत भयो ।

२०५५ माघ २ गते । म श्री कालिका मावि नेर्पामा गएको थिएँ । माघ ९ गते मेरो बिहे हुने थियो । मेले स्कुलका शिक्षकहरूसँग आफ्नो बिहे हुन लागेको भन्दै निम्तोको कुरा गरेँ । अरु बेला खुलेर खुसी व्यक्त गर्ने हेड सर देवी रिजाल, वेदी सर र कृष्ण सर त्यस दिन अनपेक्षित रुपमा निराश देखिनुहून्थ्यो । किन सरहरू आज त्यति खुसी छैनन् भन्ने लाग्यो । टिफिन भयो । कृष्ण सर र देवी सरले मलाई ग्राउन्डको एक छेउमा लग्नुभयो र भन्नुभयो, ‘धनप्रसादजी ठुलकुमारजीको कुरा थाहा पाउनु भो ?’ मैले था छैन भनेँ । अनि कृष्ण सर र देवी सरले ठुलकुमारजीको सहादतको बारेमा बताउनुभयो । मेरो खुट्टा लगलग काम्न थाले । जनयुद्धको सुरुआती दिनका उनीसँग भएका कुराहरू झलझली मनमा आयो । एकातिर बिहेको टिकोटालो लगाएको दिन अर्कातिर साथीको सहादतको खबर सुनेको दिन । कस्तो विडम्बना । त्यस रातभर म निदाइनँ । मनमा अनेक कुरा खेले । ‘दीर्घकालीन जनयुद्ध लड्न हिँडेको मान्छे झन्डै आजै सहिद भइयो ।’, ‘म जनयुद्धमा हिँडेको जहिलेसुकै मारिने सम्भावना हुन्छ, तपाईंले मेरा बारेमा पनि लेखिदिनु होला है ।’ ठुलकुमारजीले जनयुद्धको सुरुहुनु भन्दा अघिल्लो रात भनेका कुरा मनमा सम्झिरहेँ ।

ठुलकुमारजीको सहादतपछि खोटाङमा पनि जनयुद्ध घनिभूत भएर अघि बढ्यो । युवा पुस्ता जनयुद्धमा लामबद्ध बन्यो । यसबिचमा दिलकाजी, इन्दिरा, एकता, सीता आचार्य लगायत पाँच दर्जनभन्दा बढी खोटाङे योद्धाहरू सहिद बने । उनीहरुहरूको सहादतबाट मुलुकमा गणतन्त्र आयो । पार्टी शान्ति प्रक्रियामा आयो । अब सहिदको खोजी हुन थाल्यो । जनयुद्धकै बिचमा २०६० सालतिर बाबु तामाङ र मेरो काठमाडौँमा भेट भयो । ठुलकुमारजीको हस्तलिखित संस्मरण मसँग छ, सुरक्षित राख्न गारो भइरहेछ भनेर बाबुजीले भन्नुभयो । शान्ति प्रक्रियापछि बाबुजी सँग भेट भयो । ठुलकुमारजीको संस्मरण छाप्ने सल्लाह भयो । तर त्यस बिचमा बाबुजी डेरा सरिरहनु पर्‍यो। यस्तैमा डेरा सर्दा त्यो संस्मरणको कापी कता हरायो हरायो । बाबुजीले धेरै खोजी गर्नुभो तर घरबेटीले फोहोरवालालाई दिए कि कता के भयो, युद्धका कठिन समयमा पनि सुरक्षित रहेको सामग्री शान्तिकालमा सानो असावधानीले गर्दा   गुम्यो ।

ठुलकुमारजीहरू परिवर्तनका लागि लडिरहँदा र सहिद बन्दै गर्दा नेपालमा गणतन्त्रको कुराको कल्पना गर्न नचाहनेहरू गणतन्त्रका ठुला हिमायती भएका छन्, गणतन्त्रको तर मारिरहेका छन् । ठुलकुमारजीहरूले रगत बगाएको पार्टी सरकारमा गयो, प्रतिपक्षमा बस्यो । अहिले फेरि सरकारको नेतृत्व गर्दैछ ।

धन्न पार्टी शान्ति प्रक्रियाको आएको दशक नाघीसकेपछि जिल्ला पार्टीले दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान बनाएको छ । ठुलकुमारका आफन्त र दोर्पाली कामरेडहरूले सहिद ठुलकुमार प्रतिष्ठान बनाएका छन् । ठुलकुमारहरूका नाममा प्रतिष्ठान बन्नु, उनीहरूको योगदानको कदर गर्नु र अझ उनीहरूले देखाएको बाटोमा अघि बढ्नु राम्रो कुरा हो । तर ठुलकुमारका नाममा बनेका प्रतिष्ठानहरू कतिपय सहिद प्रतिष्ठान जस्तै कोही कसैको कमाइ खाने भाँडो भए भने त्यो भन्दा ठुलो विडम्बना अरु केही हुँदैन । स्मरण रहोस् ठुलकुमारहरूका सपना अझै पूरा भएको छैन । उनीहरूको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, समावेशिता जस्ता उपलब्धि श्रमजीवी जनताका घर, भान्सा र आङमा नपुगेसम्म ठुलकुमारका सपना पूरा हुँदैनन् । ठुलकुमार, दिलकाजी जस्ता हजारौँ सहिदहरूको बलिदान परिवर्तन र श्रमजीवी वर्गको मुक्ति र प्रगतिका लागि हो । श्रमजीवी वर्गको स्वतन्त्रता, प्रगति र उन्नतिका लागि गरिने काम नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हो ।
र अन्त्यमा, सहिद ठुलकुमारसँग मैले बाचा गरेको थिएँ, चीन, रुसका क्रान्तिका विषयमा लेखिएका जस्तै उपन्यास नेपाली क्रान्तिका विषयमा पनि लेख्ने । त्यो वाचा अझै पूरा गर्न सकेको छैन । सहिद ठुलकुमारको स्मृति दिवस मनाएको खबर फेसबुकमा पढिरहँदा मैले पनि भन्नेपर्छ, मैले आफ्नो वाचा भुलेको छैन । ठुलकुमारजीहरूले चीन, रुसमा लडिएभन्दा एकरत्ति पनि कम लडाइँ लडेका थिएनन् र पनि मैले रुसी वा चिनियाँ क्रान्तिका विषयमा लेखिएका जस्ता उपन्यास लेख्न सकिरहेको छैन । र पनि मलाई विश्वास छ म त्यस्तो उपन्यास लेख्ने छु । ठुलकुमारहरूले रगतले इतिहास लेखिरहँदा मैले क्रान्तिको एउटा उपन्यास लेख्ने वाचा पनि पूरा गर्न सकिनँ भने ….। म कसरी यस्तो सोच्न सक्छु र !

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved