आर्य एउटा जाति भनेर मानिन्छ तर त्यसको आफ्नो भाषा छैन । आर्यभाषा भनेर संस्कृत देखाउने गरिन्छ । संस्कृत कहिल्यै बोलचालमा प्रयोग भएको भाषा होइन ।
कुनै जातिविशेषले होइन, लेख्न पढ्न जान्नेहरुले बन्दकोठा भित्र विकास गरेको भाषा हो संस्कृत । जनजीवनमा नभिजेको भाषा कुनै जातिविशेषको भाषा बन्न सक्दैन । समाजको भाषा बन्दैन । राज्यभाषा बन्दैन । भाषा नै नभएपछि सभ्यता बन्दैन ।

के हो त आर्यसभ्यता ? सर्पले मुसाको परिवार सिध्यायपछि मुसाको घर अर्थात सुरुङमा पनि कब्जा जमाएजस्तै हो “आर्य सभ्यता” । बुद्ध धर्म र श्रमण परम्पराले विकास गरेको सुसंस्कृत सभ्यता कब्जा गरेर कुण्डली मारेर बसेको हो “ब्राह्मण सभ्यता” । त्यही ब्राह्मण सभ्यतालाई आर्य सभ्यता भन्ने नाम दिइएको हो ।
आजकाल भारतीय समाजमा आरएसएसले “भारतलाई” पुरानै अवस्थामा फर्काउने अर्थात भारतलाई “विश्व गुरु” बनाउने हल्ला चलाएको छ । हो, भारतीय उपमहाद्विप कुनै जमानामा विश्वगुरु मानिन्थ्यो । संसारभरबाट मानिसहरु अध्ययन चिन्तनका लागि भारत आउँथे ।
त्यो सभ्यता, संस्कृति र शिक्षा बौद्ध शिक्षा थियो । बौद्ध परम्परा थियो । हजारौ बौद्ध विश्वविद्यालयहरु थिए ।
भारत हिन्दू वा आर्य सभ्यताको केन्द्र होइन, बौद्ध सभ्यताको केन्द्र थियो । अर्थात भारत बिश्वगुरु त थियो तर आर्यसभ्यता, संस्कृति र शिक्षाको होइन । बौद्ध शिक्षाको गुरु थियो ।
संस्कृत भाषाको अध्ययन अध्यापन हुने पहिलो संस्कृत विद्यालय बनारसको “विश्व हिन्दू विश्वविद्यालय” हो र त्यो इष्ट इन्डिया कम्पनी सरकारले स्थापना गरेको हो ।
आर्य सभ्यताको नाममा फर्जी दावा गर्ने परम्परा नै छ भन्ने कुरा “वेदव्यास”, ” कपिल”, “जैमिनि”, “पतञ्जलि” आदिका काल्पनिक आश्रमहरु नेपालका डाँडाकाँडामा स्थापना गर्ने फर्जी चेष्टाले पनि पुष्टि गर्छ । त्यो दक्षिणबाट अनुकरण गरिएको परम्परा हो । आर्य जातिले विकास गरेको परम्परा हो । आर्य जातिले सुरु गरेको चलन हो ।
नेपालको खस भाषा र सभ्यता पनि ब्राह्मण (आर्य)जातिले त्यसैगरी कब्जा गरेको हो ।










