काठमाडौं । नेपालले एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ स् १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।
आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । भारत र पाकिस्तानसँग खेल वर्षाको कारण रद्द भयो । यदि यस खेलमा नेपाल विजयी भएमा सुपर फोरमा पुग्नेछ । वर्षाले प्रभावित हुँदै रद्द भएमा वा नेपाल पराजित भएमा भने बाहिरिनुपर्ने हुन्छ ।










