गिदोन लामछिाने
संसारकै पुरानो र प्राचिन धर्म हिन्दु भएको दुहाई दिइएको छ । यसका समर्थक तथा प्रचारकहरु कोही हजारौ, कोही लाखौं त कोही करोडौं वर्षअघिदेखि हिन्दु धर्म रहेको दाबी गर्छन तर तथ्यले त्यो पुष्टी गर्दैन । हिन्दु भनेको सन् १०५० मा मुसलमानले धपाएर अहिलेको यूपी र बिहारबाट धमाधम नेपालको तराईमा छिरेकाहरू हुन् । पहाडमा बस्ने तर मस्टो पूजा नगर्ने र बोन्पो नमान्नेहरू पनि भारतबाटै कुनै समयमा आएका हिन्दु हुन् । सबै नेपाली हिन्दु होइनन् । क्षेत्रीहरु मस्टोपुजक हुन्, हिन्दु भनेका भारतीय हुन् । राई, मगर, लिम्बू, गुरुङ, थारू सबै हिन्दु होइनन् ।
लगभग १७ सय ईसा पूर्वमा आर्य (बाहुन)हरु अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे । हिन्दु शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दुहरूको धर्मग्रन्थ हो अथवा हिन्दुहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो ।

विश्वमा अहिले ७१ देश क्रिश्चियन, ५४ देश इस्लाम, ९ देश बुद्धिष्ट र एक यहुदी धर्मलाई राष्ट्रिय परिचयको रुपमा वा बाहुल्य राष्ट्रिय धर्मको रुपमा स्वीकार गरेका छन् । राष्ट्रले घोषणा गरेको धर्मनिरेपक्ष र धर्मसापेक्षता कै आधारमा भने ८३ वटा देश धर्मनिरपेक्ष छन् । ४१ वटा देश धर्मसापेक्ष छन भने १३ वटा देश धर्मको मामिलामा अस्पष्ट रहेका छन् । एसिया महादेशमा नेपालमात्र होइन अजरवैजान, चीन, पूर्वी टिमोर, जर्जिया, भारत, जापान, काजाकिस्तान, किर्गिस्तान, लाओस, लेबनान, उत्तरकोरिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, सिरिया, ताइवान, ताजिकिस्तान, तुर्कमिनिस्तान र भियतनाम पनि धर्मनिरपेक्ष राष्ट्र हुन् । नेपाल विश्वका प्राचीनतम १० राष्ट्रमध्ये एक र ३५ सय वर्षभन्दा बढी इतिहास बोकेको ऐतिहासिक राष्ट्र हो ।
‘हिन्दु’ भन्ने शब्द नै सिन्धु नदीबाट आएको हो । यो जान्नको निमित्त हामीलाई दक्षिण एसियाको पुरानो सिन्धुघाँटीको सभ्यताको थोरैै इतिहास जान्न जरुरी हुन्छ । त्यहाँ विशेष गरेर मोहनजोदाडो र हडप्पाको सभ्यता रहेको थियो । लामो समयसम्म इतिहासमा, मानवशास्त्रमा र समाजशास्त्रमा यी सभ्यता आर्यहरुले निर्माण गरेको भनेर भनियो तर पछिल्लो समयमा उत्खनन् गर्दा त्यो सभ्यता आर्यहरुले निर्माण गरेको नभएर ध्वस्त गरेको प्रमाणित भयो । त्यही सिन्धु नदीलाई फारसबासी अथवा इरानीहरुले हिन्दु नदी भन्थे किनकी उनीहरुको वर्णमालामा ‘स’ भन्ने अक्षर हुँदैन थियो र ‘स’ भन्दा उनीहरु ‘ह’ भन्थे । जब आर्यहरुले यो सभ्यताको नष्ट गरी हैकम जमाए त्यसैसमय पहिलो पटक दक्षिण एसियामा जात ब्यवस्थाको निर्माण हुन पुग्यो ।
यसको प्रमाण चाँहि ब्यासले लेखेको ऋग्वेद हो । भारतीय उप–महाद्वीपको आजको भारतमा करिव ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थियो । हिन्दुको मूलग्रन्थ वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद) मध्ये सबैभन्दा पुरानो वेद ऋग्वेदको दशौँ मण्डलको पुरुष सुक्त खण्डको ९० ऋचामा ‘ब्राम्ह्ण, क्षेत्री, वैश्य र शुद्र’ वर्ण÷जात उल्लेख छ । इ.पू. २०० तिर रचना गरिएको मनुस्मृतिले चार वर्णलाई स्पष्ट रुपमा जन्मका आधारमा व्यक्तिलाई विभाजन गरेको छ र वर्ण अनुसार बाहुनले पुरोहित काम गर्ने, क्षेत्रीले राज्य सञ्चालन गर्ने, वैश्यले पशुपालन तथा व्यापार गर्ने र शुद्रहरुले चाहिँ सम्पूर्ण प्राविधिक, मनोरञ्जन र सेवाका कामहरु गर्ने निश्चित गरिएको पाइन्छ ।
शुद्रलाई हिन्दु धर्ममा सेवक बनाइयो । ब्रम्हाले उपयुक्त ती वर्णहरुका गुणलाई अनुशरण गर्दै सेवा गर्ने भनेर एउटा मात्रै कर्म शुद्रलाई निश्चित गरिदिएका छन् (मनुस्मृति अध्याय–१) शुद्रलाई सेवक मात्रमा सीमित राखिएन, उसले छोएका खाद्यान्न समाजमा अस्वीकृत भयो । ‘सुँगुरले सुँघ्यो, कुखुराका पखेटाको हावा लाग्यो, कुकुरले देख्यो र शुद्रले छोयो भने श्राद्धको अन्न निष्फल हुन्छ’ (३/२४१) मनुस्मृति ।
‘हिन्दु धर्म’ धर्म नभएर यो एउटा ‘वाद’ हो भनेर धेरै विद्वानहरुले भनेका छन् । हिन्दु धर्मलाई सन् १९२८ बाट मात्रै धर्मको रुपमा प्रचार गरेको इतिहास पाइन्छ । हिन्दु हुनका लागि बाहुनकै कुलमा जन्मिएको हुनुपर्छ र उसले ‘जनाई’ लगाएको हुनुपर्छ ।
यी दुवै प्रकृया पूरा गरेका ब्यक्तिहरु मात्रै असली हिन्दु हुन् भनी हिन्दुहरुको शास्त्रमा स्पष्ट रुपमा लेखिएको छ । एउटै धर्म मान्ने मानिसहरूमा त समान व्यवहार हुनुपर्ने हो तर हिन्दुहरुभित्र खण्डीकृत जात व्यवस्था रहेको छ । दलितले जतिसुकै गर्व गरेर ‘हिन्दु हुँ’ भनेपनि दलितलाई बाहुनक्षेत्रीहरुले कहिल्यै समान व्यवहार गर्दैनन् । उनीहरुले दलितलाई शुद्रको दर्जामा राखेर सधैंभरी हेप्ने, थिच्ने र अमानवीय व्यवहार मात्र गरिरहन्छन् । किनकी उनीहरुको धर्मशास्त्रले नै उनीहरुलाई सधैँभरी दलितलाई कुट्न, लुट्न र भुट्न मात्रै सिकाउँदै आइरहेको छ । हिन्दुशास्त्र गितामा लेखिएको छ ‘बाहुन गुण नभएको भएपनि पुज्नु । शुद्र चाँहि गुणवान, शिलवान र प्रविण भएपनि नपुज्नु ।’ मनुले भनेका छन् ‘शुद्रको निम्ति भोजनको लागि जुठो अन्न, लगाउनको लागि पुरानो लुगा र ओछ्याउनको निम्ति पराल सुहाउँछ ।’ त्यस्तै मनुले के भनेका छन् भने शुद्रलाई ज्ञान दिनु हुदैँन । यस्ता अनगिन्ती अमानवीय कानुनहरु शुद्रहरुमाथी लगाइएको छ, जुनकुरा खासगरी हिन्दुहरुको पुरानो कानुन मनुस्मृतिमा उल्लेख छ ।
नेपालमा हिन्दु आर्य (बाहुन र शाह छेत्री बंश) पहिलो पटक सन् १४९५ (वि.सं. १५५२) मा भिरकोट भएर भित्रिएका हुन् । यिनीहरु मुसलमानको खेदाइमा परेर धोती र जनै मात्र भिरेर शरणार्थीको रुपमा भित्रिएका हुन् । कुमाउबाट आएका बाहुनहरु नेपालमा ‘कुमाइ’ भए, गडवलबाट भित्रेकाहरु ‘ज्ञवाली’ । अरुहरु कांशी र बनारसबाट आएका हुन् । एवं क्रममा राणाहरु पनि राजस्थान कै उदयपुरबाट भागेर यसतर्फ भित्रे (अकबर सम्राटको आक्रमणमा परेर सन् १५९५ मा) । यी दुवै हिन्दु आर्य (बाहुन छेत्री) मिलेर यहाँका अहिन्दु माथि शोषण र शासन गर्दै हिन्दुकरण गर्दै हिन्दु संस्कार लाद्न थालेको झण्डै ५ सय वर्ष भयो । यिनीहरुले लगातार यस मुलुकका मूलबासीको भूमि लुटे, धर्म संस्कृती, पेशा, सबथोक लुटेर कंगाल नै बनाइ सकेको तथ्य लुकेको छैन ।
हिन्दु धर्म अर्थात् हिन्दुवादभित्र मात्रै ‘शूद्र’ भेटिन्छ । अनि शूद्र भएकैले दलित हुनुुपरेको हो । अक्सफोर्ड डिक्सनरी अफ सोसोलजीअनुसार हिन्दु धर्मको भ्रुण (गर्भ) भारतीय उपमहाद्वीपका शासकहरूले शासन र दिशाविहीन तत्कालीन समाजलाई एउटा पद्धतिमा ल्याउन र मूलतः श्रम र उत्पादनमाथि आफ्नो अधिकार सुनिश्चित गर्न ‘फुटाऊ र शासन गर’ को सिद्धान्तअनुरूप आफ्नो विरुद्ध संगठित विद्रोह हुन नदिन ईश्वर (भगवान्), पाप, धर्म, स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म, वर्ण, भाग्यजस्ता विषाक्त मनोवैज्ञानिक हतियारहरू निर्माण गरे जसको एकीकृत रूप नै हिन्दु धर्म÷हिन्दुवाद हो भनी समाजविज्ञानले पुष्टि गरेको छ । हिन्दुवाद भारत र नेपालको मूल धर्म हो । मध्यकालमा भारतमा मुस्लिमसँग हारेर, भागेर नेपाल पसेका हिन्दुहरूले हाम्रो देशमा हिन्दु धर्म क्रमशः फैलाएका हुन् । नेपालमा २४० वर्षसम्म एकछत्र हिन्दु शासकले शासन गरेका कारण अन्य धार्मिक समुदायको अस्तित्व संकटमा परेको हो ।
नेपालको सन्दर्भमा राजा जयस्थिति मल्लले विक्रम संवत १४३६ (सन् १३८०) मा लेखाई जारी गरेको संहितावद्ध कानून ‘न्यायविकासिनी’मा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातको व्यवस्था गरिएको छ । मल्ल (ठकुरी) को उक्त कानूनबाट तत्कालिन नेवार समुदायलाई ६४ जातमा विभाजन गरेको थियो भने करिब ५ सय वर्षसम्म अर्थात् वि.सं. १८२५ सम्म नेपालमा १८ वटा जाति निर्माण गरिएको थियो । एउटा सत्य कुरा चाँहि के हो भने नेपाल एकीकरणका नाममा असली हिन्दुस्थान बनाउने मुख्य लक्ष्य राखेका पृथ्वीनारायण शाहको अभियानमा शाहले ‘४ वर्ण–३६ जात’ मा विभाजन गरेका थिए । शाहको शासन भन्दा पहिला पनि नेपालमा बौद्ध धर्म, क्रिश्चियन धर्म, किराँत धर्म, प्रकृतिपूजा गर्ने धर्म यहाँका बासिन्दाहरुले मान्दै आएका थिए । गोर्खा पश्चिमका २२ राज्य, गोर्खा पूर्वका २४ राज्य, उपत्यकाका ३ राज्य र उपत्यका पूर्वका ३ राज्य गरी पृथ्वी नारायण शाहको एकीकरण अघि ५२ वटा गणराज्यहरु थिए ।
तिनीहरुको भाषा, धर्म, संस्कृति आ–आफ्नै थिए । त्यसपछि राजा सुरेन्द्रविक्रम शाह र श्री ३ जंगबहादुर राणाले वि.सं. १९१० मा ‘मुलुकी ऐन’ बनाएर सोही ऐनमार्फत् बन्दुक तेस्र्याएर हिन्दु राज्यव्यवस्था र हिन्दु समाज (हिन्दुकरण) बनाएका हुन् । हिन्दुवाद अनुसार आफ्नो जातिबाहेक अन्य जातिमा विवाह नगर्ने, जातिहरूको पेशा निश्चित गरिएको, जातिहरूमा उच–नीचको सोपान–क्रम, जन्मदेखि नै व्यक्तिको जातीय जीवन निश्चित हुनु, जातिप्रथाका सम्पूर्ण प्रणालीहरू ब्राह्मणहरूको प्रतिष्ठामा निर्भर, समाजको खण्डात्मक विभाजन, जन्ममा आधारित जात (वर्ण), भोजन र ब्राह्मणबाहेकमा सामाजिक र धार्मिक निर्योग्यता र जातिका उपजातिहरू हिन्दु धर्मका व्यावहारिक विशेषताहरू हुन् । हिन्दु सामाजिक संगठनअनुसार जुन व्यक्ति–जुन जातिमा छ, ऊ त्यसै जातिको सदस्य हुन्छ । आफ्नो इच्छाअनुसार कुुनै पनि व्यक्तिले आफ्नो जाति फेरेर अर्को जाति ग्रहण गर्न पाउँदैन । शास्त्रलाई आधार मान्नेले छुवाछूत जातपात मान्दिन भन्ने छुट हुँदैन । शास्त्रको दृष्टिले जे देखिन्छ त्यही ठीक हुुन्छ, त्यहाँ अरू ठीक हुँदैन ।
४ वटै ‘वेद’ या उपनीषदमा पनि कहिँ कतै ‘हिन्दु’ शब्द या धर्मको उल्लेख गरिएको पाइन्न । आठौं शताब्दीका गुरु शकंराचार्यको भनाई अनि पुस्तकहरुमा पनि कहिँ कतै ‘हिन्दु’ शब्द या धर्मको उल्लेख पाइन्न । पछि आएर १२ औं शताब्दी पछिका मात्र लेखमा केही ‘शब्’ लगायतका अध्यात्मिक श्लोक र कविताहरुमा ‘हिन्दु’ शब्द उल्लेख भएको पाइन्छ । केही सनातन दर्शनका अध्यात्मिक हाँगाहरु जस्तै बैष्णव, शक्त, महायना, बज्रयना, अदबैता आदिमा पनि कहिँ कतै ‘हिन्दु’ शब्द बर्णन भएको पाइन्न । ११ औं शताब्दीमा दिल्लीका सुल्तानले जारी गरेका ‘तारिख अल हिन्द’ दस्तावेजका अनुसार भारतीय उपमहाद्धीप भित्रका सम्पूर्ण गैरईस्लामिक जनसंख्यालाई जनाउन ‘हिन्दु’ शब्द प्रयोग गरेको प्रथम दस्तावेज भेटिन्छ । १६ औं देखि १८ औं शताब्दी बीचमा बंगाली बैष्णव गौडियाहरुले आफुलाई बिदेशीबाट अलग्गै राख्न ‘हिन्दु’ शब्द प्रयोग गरेको पाइन्छ । क्रमशं १२ औं शताव्दीपछि ‘हिन्दु’ शब्दको प्रयोग बढ्दै गएको पाइन्छ । हिन्दु धर्मको कुनै संस्थापक छैन भनिन्छ । यद्यपी यो प्रश्नको जवाफ वेद, उपनिषद एवं गीतामा पाउन सकिन्छ । खासमा आम हिन्दुहरू गीता पढ्दैनन् त्यसैले यो कुराबाट अनविज्ञ छन् । जसले पढ्छन् उनीहरूले पनि ध्यान दिएर पढ्दैनन् तसर्थ पढेकाहरूलाई पनि धेरै कुरा थाहा हुँदैन । ब्रह्मा, विष्णु, महेशसहित अग्नि, आदित्य, वायु एवंं अंगिराले यस धर्मको स्थापना गरे । क्रमशः उल्लेख गर्दा शिवबाट विष्णु, विष्णुबाट ब्रह्मा, ब्रह्माबाट ११ रुद्र, ११ प्रजापति एवं स्वायंभव मनुको माध्यमबाट यस धर्मको स्थापना भयो ।
यसको धार्मिक ज्ञान शिवका सात शिष्यमार्फत् अलग–अलग शाखाको निर्माण भयो । ‘वेद’ र ‘मनु’ नै हिन्दु धर्मका मूल (मुहान) हुन् । मनुपछि थुप्रै सन्देशवाहक आए र गए अनि यस ज्ञानलाई आ–आफ्नो तरिकाबाट मानिसहरूसम्म पु¥याए । हिन्दु धर्मका ग्रन्थमा ‘मनु’को बारेमा एक रोचक उपाख्यान गरिएको छ । ‘मनु’, जसले ‘मनुस्मृति’ लेखे, उनलाई हिन्दु धर्मको पहिलो मानिस भनेर पनि चिनिन्छ । भारतको ‘हिमाञ्चल प्रदेश’मा अहिले पनि ‘मनु मन्दिर’ अवस्थित रहेको छ, जहाँ पहिलो मानिस ‘मनु’को मूर्ति रहेको छ । ब्राह्मण वा बाहुन समुदायमा स्वयम्पाक्य सदस्यहरूले छोरा, बुहारीलगायतका परिवारका अन्य सदस्यहरूलाई छुवाछूतको व्यवहार गर्दछन् । हिन्दु महिलाहरू महिनावारी र सुत्केरी भएका बेला ‘नछुने’ हुन्छन् । यस्तो छुवाछूतको व्यवहार जातीय नभएर प्रजनन्सँग सम्बन्धित छ । यसकारण हिन्दु धर्म बाहुन (आर्य) धर्म हो । धर्म त्यागेमा हिन्दुहरुले अरुलाई अधर्मलाई धारण गरेको, मलेक्ष्य (निच, घटिया, अन्धविश्वासी, अन्यायी, दुराचारी मान्छे) भन्ने गरेका छन् । त्यसको डरले पनि कतिपय मानिसहरु जर्बजस्ती हिन्दु बनिरहेका छन् । सत्य बुझेर पनि अंगाल्न नसक्नु र खराब हो भनेर त्याग गर्न नसक्नु उस्तै हो ।
नेपालको संविधान २०७२ अनुसार भाग ८ को धारा ८४ को उपधारा २ मा खस–आर्यको स्पष्टीकरणमा ‘खस आर्य भन्नाले बाहुन, क्षेत्री, ठकुरी र दशनामीलाई बुझ्नु पर्नेछ’ भनी लेखिएको छ । खासमा आर्यहरुमात्रै हिन्दु हुन् अरु खस, जनजाति र दलितहरु हिन्दुकरण गरिएको हो । नेपालको पछिल्लो ०७८ को जनगणना अनुसार हिन्दु ८१.१९ प्रतिशत, बुद्धिष्ठ ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किरात ३.१७ प्रतिशत, क्रिश्चियन १.७६ प्रतिशत तथा प्रकृति, बोन, जैन, बहाई र शिख, ०.५८ प्रतिशत बसोबास गर्छन् । तर पनि हिन्दुहरु अत्याधिक बहुमतमा हुँदा समेत आफुहरु असुरक्षित भएको, राज्यले धर्मनिरपेक्षता घोषणा गरेर हिन्दु राज्यलाई कमजोर बनाएको भन्दै बिलौना गाई रहेका छन् । कतिपय अवस्थामा अन्य धर्मको बिरोध गरेर आफ्नो धर्मको रक्षा गर्ने बताउँदै आएका छन् ।
कतिपय हिन्दु अभियान्ताहरुले त धार्मिक युद्ध नै हुने समेत बताएका छन् । यस्ता वाइयात कुतर्कले नेपाली समाजलाई खलल् त पु¥याएको छ नै तर सचेत जनसुमदायले अहिलेको २१ औं शताब्दीमा त्यस्ता पाखण्ड, ढोंगीहरुको लहैलहैमा लाग्नु हुँदैन । धार्मिक सहिष्णुता कायम राख्न स्वतन्त्र रुपमा आफ्नो आस्था अनुसार र संविधान प्रदत्त अधिकारलाई प्रयोग गर्नु पर्छ । नेपाल धर्मनिरपेक्ष राज्य हो । कानून भन्दा ठूलो कोही हुँदैन र कानून अनुसार नै सबैलाई बराबर नियम लाग्छ । नेपालको संविधान मौलिक हक सम्बन्धि भाग ३ को धारा २६ मा धार्मिक स्वतन्त्रताको हक सम्बन्धि उपधारा १ ले ‘धर्ममा आस्था राख्ने व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ’ भनि धार्मिक स्वतन्त्रताको प्रत्याभूती गराएको हुनाले नेपालमा सबै धार्मिक समुदायलाई धर्म मान्छ, छान्न र रोज्न पाउने अधिकार सुनिश्चित छ । त्यसैले समय अनुसार मानिसले आफ्नो इच्छाअनुसार धर्म त्याग गर्न, ग्रहण गर्न र बिचार गर्न पाउछन् यो अन्तर्राष्ट्रिय अभ्यास र विश्वव्यापी मान्यता पनि हो । कसैले कसैलाई जबरजस्ती गर्न पाइन्दैन । आफ्नो इच्छाले धर्म मान्ने वा नमान्ने व्यक्तिको नीजि मामिला हो ।
हिन्दुप्रथाभित्र जातपात राखिएको छ समस्या यहिँनेर हो । यसलाई मानिसहरुले कसरी मान्ने ? कतिपय मानिसहरुले आफ्नो धर्म हिन्दु नै भएको बताइरहेका छन् के साच्चिकै हिन्दु धर्म उनीहरुको धर्म हो त ? यसलाई मान्नु आवश्यक छ त ? कि खस, जनजाति र दलितहरुले चाहना गर्दैमा यो धर्ममा सुधार आउँछ त ? धर्मशास्त्रमा सुधार गर्न कसले सक्छ ? आज हिन्दु धर्मको कुप्रथाका विषयमा जसले बोल्यो उसलाई विदेशीको डलर खाएर बोलेको आरोप लाग्ने गरेको छ । हिन्दु धर्मका विरुद्धमा कसैले बोल्नै नमिल्ने अवस्था छ ।
यसैले अरुले बोलेर हुँदैन स्वयम् उत्पीडितहरुले नै बुझेर बोल्नुपर्छ । कि त आफुलाई पैतलाबाट जन्म लिएको शुद्रका रुपमा स्वीकार गर्नुपर्छ, कि त हिन्दु धर्म त्याग्नुपर्छ । जहाँसम्म शास्त्रमा नै शुद्र हो, अछूत हो भनेर किटान गरिएको छ त्यसलाई नसुधारेसम्म मेरो धर्म हो भन्न सकिन्दैन । त्यसो गर्दाखेरी अन्य समुदायले पनि बाध्यताबस हिन्दु धर्मको दास बनिराख्नुपर्छ । यदि आफुलाई ‘हिन्दु नै हुँ’ भन्छ भने त्यो विभेदलाई स्वीकार गरेको हो । त्यस्तो अवस्थामा संविधान, कानून, नीति नियम आदिमा सुधारको कुरा गर्नुको कुनै औचित्य छैन र रहँदैन पनि ।
लेखक लामिछाने माहाप्रतिवाद राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रधान सम्पादक हुन् ।










